नेप्सेको कडा निर्देशनले पनि छेकेन सुचनामा ठुला लगानीकर्ताको पहुँच, सानालाई भने ठुलाको हल्लाले मारमा पार्ने डर

Aug 20, 2015 Mero Lagani



- सिटिजन बैंकले बुझायो पूँजी वृद्धिको योजना
- बैंक नपुग्दै सुचना चुहिएपछि बुधबारको बजार प्रभावित

पूँजी वृद्धिको योजना सार्वजनिक नगर्न नेपाल स्टक एक्सचेञ्जले निर्देशन दिएको भए पनि बुधबार सानिमा र सिटिजन्स लगायतका केही बैंकहरुको पूँजी वृद्धि सम्बन्धि हल्ला एक्कासी फैलियो । यसबाट ती बैंकहरुको शेयर खरिदमा चाप पर्नुका साथै मुल्य पनि आकासियो । 

नेप्सेले पूँजी वृद्धिको योजना सार्वजनिक नगर्न निर्देशन दिए पछि कुनै पनि बैंकका प्रमुख कार्यकारी र सञ्चालकले आफ्नो बैंकको योजना सार्वजनिक गरेका छैनन् । तर ठुला र पहुँचवाला लगानीकर्ताले ती बैंकहरुको योजना सहजै थाहा पाइरहेको देखिएको छ । 

बुधबार शेयर बजारमा बैंकिंग समुहको परिसुचक ३३ अंक भन्दा बढीले उकालो लाग्दै गर्दा सिटिजन र सानिमा बैंकको शेयर खरिद गर्नेको भिड काक्लिन पुग्यो । बजारमा एकाएक सिटिजन र सानिमाको पूँजी वृद्धिको योजना सार्वजनिक भएको हल्ला ठुला लगानीकर्ताबाट सानामा प्रवाह भए पछि सबै चाप त्यतै मोडियो । बजार बन्द हुँदा अन्य बैंकाको तुलनामा सानिमा बैंकको शेयर किनबेचमा सामान्य चाप देखिए पनि सिटिजन बैंकको कारोबार रकम, कारोबार संख्या लगायतका सुचकांक एकाएक माथि चढे ।

नेप्सेले केही दिन पहिले मात्र योजना सार्वजनिक नगर्न बैंकहरुलाई निर्देशन दिए पनि त्यसले ठुला लगानीकर्ताको पहुँचमा सुचना पुग्दाको असरका कारण नै बुधबार यो अवस्था श्रृजना भएको हो । नेप्सेले यस सम्बन्धमा नेप्सेले राष्ट्र बैंकबाट स्वीकृत भएको योजनालाई मात्र आधिकारिक मान्न लगानीकर्तालाई आग्रह गरेको छ ।

CITIZEN Bankसाना लगानीकर्तासम्म पूजीवृद्धि योजनाको हल्ला फैलिए पछि बुधबार सिटिजन बैंक (CZBIL) ३ करोड ३९ लाख ३३ लाख रुपैंयाको कारोबार गर्दै कारोबार रकमका आधारमा तेस्रो स्थानमा जम्न सफल भयो । त्यसै गरि ४७ हजार ३ सय ५२ कित्ता शेयर कारोबार गरि कारोबार भएको शेयर संख्याका आधारमा पनि सिटिजन बैंक पाँचौं स्थानमा रह्यो भने कारोबार संख्याका आधारमा पनि बैंक १ सय ३७ कारोबार गर्दै पाँचौं स्थानमा नै रह्यो भने शेयरमा नाफा कमाउनेमा पनि सातौं स्थानमा रहन पुग्यो । यसले पनि बुधबार बजारमा बैंकको योजनाको आन्तरिक विषय ठुला लगानीकर्ता हुँदै सानासम्म पुगेको कुरालाई पुष्टि गर्छ ।

यो अवस्थालाई नियालेका नेप्सेका कायम मुकायम प्रबन्धक तथा प्रवक्ता शम्भु पन्तले लगानीकर्ताको हितमा नेप्सेले परिपत्र जारी गरेको बताउँदै हल्लाको पछि लागेर लगानी नगर्न आग्रह गरे । उनले भने ‘राष्ट्र बैंकले पूँजी वृद्धिको योजना स्वीकृत नगरेसम्म कसले के गर्छ भनेर लगानीकर्ता भ्रममा पर्नु हुँदैन । अहिलेको अवस्थाले बुधबार पनि हामीले त्यसै अनुरुपको अर्को सुचना जारी गरेका छौं । लगानीकर्ता सचेत हुनुपर्छ ।’

सानिमा बैंक र सिटिजन बैंकको शेयरमा बुधबार उच्च चाप परेसंगै बजारमा लगानीकर्ताले उच्च प्रतिफल पाउने आस गर्दा ती बैंकको शेयर अभाव हुने अवस्था समेत श्रृजना भएको थियो । यस सम्बन्ध नेप्से प्रवक्ता पन्त भन्छन् ‘कम्पनीको बोनस शेयर दिनसक्ने क्षमता र प्रवद्र्धकहरुले हकप्रद रकम थप्न सक्ने अवस्था हेरेर लगानीकर्ता अघि बढ्नुपर्छ । हैन भने उनीहरु जोखिमबाट बच्न सक्छन् भन्न सकिन्न ।’

NRBराष्ट्र बैंकले पनि साना लगानीकर्तालाई चनाखो हुन आग्रह गरेको छ । बुधबारको कारोबारमात्र नभइ अन्य दिनमा पनि लगानीकर्ताको आइरो बढेको भन्दै उसले जोखिमपुर्ण कारोबारबाट बच्न आग्रह गरेको छ । बैंकको प्रवक्ता त्रिलोचन पैगेनीले मेरो लगानी डटकमसंगको कुराकानीमा भने ‘कुनै बैंकको सञ्चालक समितीमा हुने छलफल शेयरधनीसम्म पुग्नु पारिवारिक छलफल सरह भए पनि परिवारका सदस्यका साथै अन्यले त्यसलाई निर्णयक विषय मान्नु हुँदैन । किन भने त्यो विषय कार्यान्वायनका लागि पर्याप्त नहुन सक्छ, तसर्थ हल्लाका भरमा लगानीकर्तालाई कारोबारमा नहोम्मिन राष्ट्र बैंक आग्रह गर्दछ ।’

 

भएको के हो त ?

सिटिजन्स बैंकले मेरो लगानी डटकमलाई बैंकबाट पूँजीवृद्धिको योजना सार्वजनिक नभएको जनाएको छ । बैंकले राष्ट्र बैंकमा बोनस र हकप्रद शेयरबाट ८ अर्व रुपैंया चुक्ता पूँजी पुर्याउने योजना बुझाएको छ । तर त्यो योजना राष्ट्र बैंक पुग्ने क्रममा नै केही व्यक्तिसम्म पुगेका कारण त्यसको असर साना लगानीकर्तासम्म परेको हो ।

Rajan Singh Bhandariबैंकको प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने ‘बजारमा हाम्रो बैंकको शेयरमा किन चाप पर्यो, किन भाउ बढ्यो हामीलाई त्यस सम्बन्धमा कुनै जानकारी छैन । तर हामीले केन्द्रीय बैंकमा हाम्रो योजना बुझाई सकेका छौं । अब बैंकले त्यसलाई अनुमोदन गरे पछि भने हामी त्यसलाई औपचारिक रुपमा सार्वजनिक गर्छौं ।’
राष्ट्र बैंक प्रवक्ता पंगेनीले पनि बैंकहरुको योजना आउने क्रम सुरु भएको जनाएका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकलाई भदौ मसान्त भित्रमा पूँजी वृद्धिको योजना ल्याउन निर्देशन दिए पछि नेप्सेले बजार नियन्त्रणका लागि योजना सार्वजनिक नगर्न निर्देशन दिएको थियो ।

 

....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।