राम्रा लघुवित्तका शेयर किने मालामाल, उचालिएर खराब कम्पनीका शेयर किन्दा डुब्ने चाल

Dec 20, 2015 Merolagani

 नेपाल स्टक एक्सचेन्जमा लघुबित्तको शेयर मूल्यले आकाश छुने अबस्था आएको छ । लगानीकर्ताहरु लघुवित्त कम्पनी भन्दैमा आँखा चिम्लेर महंगो मूल्यमा शेयर उठाईरहेका छन् । बिक्रेता कम र खरिदकर्ता धेरै भएपछि लघुबित्तहरुको शेयर मूल्य हरेक दिन जसो १० प्रतिशतले उकालो लागिरहेको छ । उचित मूल्यमा राम्रा कम्पनीहरुको शेयर किन्दा आत्तिनु पर्दैन तर लघुबित्त भन्दैमा सबै राम्रा छैनन् उचालिएर शेयर किन्दा डुब्ने संभावना पनि उत्तिकै हुन्छ ।

 

पहिले यो तुलनात्मक अध्ययन हेरौं

नराम्रा कम्पनी यसरी चिनौ


सरकारको धेरै स्वामित्व भएका र बिकास क्षेत्रस्तरमा स्थापना गरिएका ग्रामिण बिकास बैंकहरु निस्क्रिय कर्जाले धरासायी भएपछि तिनीहरुलाई एउटैमा गाभेर नेपाल ग्रामिण बिकास बैंक बनाईयो । एउटा ग्रामिण बिकास बैंकको शेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेसियो त एक रुपैयाँ सम्म पनि थियो । त्यसको मर्ज पुरा भएर हालै नेपाल ग्रामिण बिकास बैंकको शेयर कारोबार खुला हुँदा लघुबित्त हो भन्ने नाममा शेयर मूल्य ह्वात्तै बढाएर प्रति कित्ता ४०० रुपैयाँ भन्दा माथि पुर्याईयो तर शेयर किन्नेहरुले संभवत नहरेको हुनसक्छ कि यो कम्पनीको जगेडा कोष अझै २३ करोडले ऋणात्मक छ । निस्क्रिय कर्जाको अनुपात ७ प्रतिशतको हाराहारीमा छ ।

 

यसले जति धेरै मेहनत गरे पनि आगामी तीन बर्षसम्म जगेडा कोष धनात्मक बनाएर कम्पनीको अबस्था सबल बनाउनमै समय खर्चनु पर्छ, केही लाभांश दिनसक्दैन । ५५ करोड चुक्ता पूँजी रहेको यसले हकप्रद पनि तत्काल जारी गर्न आबश्यक नपर्ला र तीन बर्षपछि लाभांश दिए पनि बोनस शेयर कमै पाईएला ।

 

कम्पनीको समग्र अबस्था हेर्दा यसको शेयर प्रति कित्ता एकसय रुपैयाँको हाराहारीमा रहनुपर्ने हो । अब प्रश्न उठ्छ किन लगानीकर्ताहरु यो कम्पनीको शेयर किन्न मरिहत्ते गरिरहेका छन् ? भबिष्यको आश मात्रै हो भने आफुले महेनत गरेर कमाएको रकम लगानी गरेर आजको भोलि नै प्रतिफल प्राप्त गर्ने कम्पनीहरु धेरै नै छन् ।

 

त्यस्तै नयाँ नेपाल लघुवित्त नामको अर्को कम्पनीको अबस्था पनि बिश्लेषणयोग्य रहेको देखिन्छ । दुई करोड चुक्ता पूँजी रहेको यो कम्पनीको जगेडा कोषमा गत बर्ष कमाएको रकम समेत जोडेर हेर्दा ५२ लाख रुपैयाँ छ । कम्पनीको महत्वपूर्ण सूचक मूल्य आम्दानी अनुपात ५४ भन्दा माथि छ । कम्पनीको निस्क्रिय कर्जाको अनुपात ११ प्रतिशत भन्दा माथि रहेकाले गत बर्ष कमाएको रकम लगानीकर्तालाई लाभांशको रुपमा बाड्न पाउने अबस्था छैन । तर शेयर मूल्य भने उकासिएर एक हजार रुपैयाँ भन्दा माथि पुगेको छ । केका लागि यस कम्पनीको शेयरमा यस्तो मरिहत्ते ? लघुबित्तको नाम र हकप्रदको आश भन्दा अर्को केही छ ?

 

 

 

राम्रा कम्पनी कुन- कुन ?

लघुबित्तको भागदौडमा चेपिएर मर्नबाट बच्ने हो भने धेरै राम्रा कम्पनीहरु तपाईका बिकल्प हुनसक्छन् । चुक्ता पूँजी भन्दा दोब्बर जगेडा कोष भएका, प्रति शेयर आम्दानी धेरै, मूल्य आम्दानी अनुपात थोरै, निस्क्रिय कर्जा न्युन भएका र बिगतका बर्षहरुमा क्रमिक रुपमा प्रगति गर्दै आएर लाभांशको दर बढाउँदै लगेका कम्पनीहरु हेर्ने हो भने लगानीकर्ताले सहजै छान्न सक्छन् ।

 

लगानीकर्ताको आँखा नपरेका अरु राम्रा कम्पनीहरु


नाम लघुबित्त झुण्ड्याउने बित्तिकै त्यो राम्रो होला भनी ठान्नु गलत हुनसक्छ किनभने लघुबित्त नाम नभए पनि लघुबित्तको कारोबार गरेर तीब्र रुपमा प्रगति गर्दै गरेका कम्पनीहरु पनि यहाँ छन् । जस्तो पोखरामा केन्द्रीय कार्यालय स्थापना गरेर राष्ट्रियस्तरको बिकास बैंक बनेको मुक्तिनाथ बिकास बैंक त्यसको उदाहरण हो । ६४ करोड चुक्ता पूँजी, ४२ करोड जगेडा कोष, ०.३१ प्रतिशत मात्र निस्क्रिय कर्जा, प्रति शेयर आम्दानी ४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६ रहेको यो बैंक नाम चलेका लघुबित्त भन्दा कम छैन । नामले लघुबित्त हैन, ब्यवहारमा लघुबित्तको काम गरेर यो कम्पनीले आफुलाई क्रमिक रुपमा सबल पार्दै लगेको छ ।

 

अरु लघुबित्तले सर्बसाधारणबाट प्रत्यक्ष रुपमा निक्षेप लिन नपाउने भए पनि यस बैंकले बिकास बैंकको रुपमा सस्तोमा निक्षेप लिएर लघुबित्तको काम बिभिन्न शाखा संजाल मार्फत अगाडि बढाईरहेको छ । अघिल्ला बर्षहरुमा आकर्षक प्रतिफल बाँडेको यो कम्पनीले यो बर्ष पनि ३१ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै पोखराका अरु बिकास बैंकहरु जो लघुबित्तलाई मुख्य आधार बनाएर काम गरिरहेका छन् त्यस्ता कम्पनीहरु पनि उपयुक्त हुनसक्छन् ।


साना कम्पनीहरुमा जोखिम बढी

एक करोडदेखि १० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीहरुले प्रति शेयर आम्दानी राम्रो देखाई बोनस र हकप्रद शेयरको आश बाड्दा लगानीकर्ताहरु बढी आकर्षित भएको पाईएको छ । शेयर बजारमा साना कम्पनीहरुको शेयर संख्या कम मात्रामा बिक्रीमा आउँने र खरिदकर्ताको चाप पर्न जाँदा त्यस्ता कम्पनीहरुको प्रति शेयर मूल्य एक हजार भन्दा बढी नै हुने गरेको पाईन्छ । भरखरै सर्वसाधारणमा शेयर जारी गरेर दोस्रो बजारमा शेयर खरिद बिक्री हुन थालेका कम्पनीहरुको मूल्य आकाशिनुको मुख्य कारण पनि यही नै हो ।

एक देखि दुई करोड चुक्ता पूँजी भएका यस्ता कम्पनीले सर्बसाधारणमा जारी गरेका शेयरहरु केही हजारको संख्यामा भएका र शेयर पर्नेले पनि १० देखि २० कित्ता पारेको हुनाले महंगै मूल्यमा बेच्न खोज्नु स्वभाविक छ । यी कम्पनीहरुले अहिले राम्रो खुद नाफा गरेको देखाए पनि जोखिम बहन क्षमता अत्यन्त कमजोर रहेको पाईन्छ । लघुबित्तको क्षेत्रमा जोखिमको अबस्था धेरै छ तर चुक्ता पूँजी र जगेडा कोषले थेग्न नसक्ने अबस्था आएमा यी साना कम्पनीहरुले जति धेरै खुद नाफा गरेको भए पनि अहिले मच्चिएर महंगो मूल्यमा शेयर किन्नेहरुले त्यतिबेला पछुताउनु पर्नेछ ।


अहिले ऋणीबाट लिने ब्याजदर चर्को भएकाले लघुबित्त बैंकहरुको कमाई राम्रो देखिए पनि राष्ट्र बैंकले भबिष्यमा त्यसलाई निश्चित सिमा तोकेर कडाई गर्यो भने कमाई घट्ने छ । आफैले प्रत्यक्ष रुपमा आम सर्बसाधारणको निक्षेप लिन नपाउने अबस्थामा ऋण काढेर बाणिज्य बैंकबाट लिएको रकम लगानी गर्दा घाटा खानुपर्ने अबस्था आउनसक्ने बताईन्छ ।

राष्ट्रियस्तरको मान्यता प्राप्त गरेका, देशका मूख्य बाणिज्य बैंकहरुको लगानी भएका र ठूलो पूँजी तथा जगेडा कोषको आधार बलियोे भएका लघुबित्तहरुको तुलनामा यी साना कम्पनीहरुको लगानीयोग्य रकम लागत बढी पर्ने हुँदा दीर्घकालीन रुपमा टिक्न गाह्रो हुन्छ किनभने लघुबित्तको प्रशासनिक खर्च अत्यन्त बढी हुन्छ । ठूला बाणिज्य बैंकहरुले आफुले विपन्न बर्गमा प्रबाह गर्नुपर्ने कर्जा आफैले प्रबद्र्धन गरेका लघुबित्त मार्फत परिचालन गर्ने गरेका छन् ।


अर्कोतर्फ नयाँ खुलेका लघुबित्तहरुलाई दश जिल्लामा सिमित भएर कारोबार गर्नु र सक्षम बन्नु चुनौतिपूर्ण छ ।नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थाको रुपमा स्वीकृति लिएर लघुबित्तको काम गरिरहेकाहरुलाई लघुबित्त बैंकको रुपमा स्थापित हुन यही पुस मसान्तसम्मको समय दिएकाले थप १८ वटासम्म नयाँ संस्थाहरु आउँनसक्छन् । यसबाट प्रतिस्पर्धा अरु बढ्नसक्छ । 


लघुबित्त संस्थाहरुको संख्या बढ्दै जाँदा उनीहरुबीचमा अस्वस्थ प्रतिस्पर्धा पनि सुरु भएको छ । एउटै ब्यक्तिले चार पाँच ठाउँबाट कर्जा लिई रहेका छन् । कालिका माईक्रो क्रेडिट बिकास बैंकका प्रमुख कार्यकारी केशव कुमार पौडेल यदि अनाधिकृत रुपमा भैरहेको कर्जाको डुप्लिकेशन नहटाउने हो भने आगामी दिनमा समग्र लघुवित्त क्षेत्रलाई नै समस्यामा पार्ने भयानक अवस्था आउने चोवनी दिनुहुन्छ । निर्धन उत्थान लघुबित्त बिकास बैंकमा २१ बर्ष अनुभव हासिल गर्नुभएका पौडेलको यो चेतावनीलाई गंभीर रुपमा लिएर तत्काल प्रभावकारी कदम नचाल्ने हो भने लघुबित्तहरुको निस्क्रिय कर्जा पनि थाम्नै नसकिने गरी बढ्ने निश्चित छ । यस्तो अबस्थामा सबैभन्दा बढी मार साना लघुबित्तहरुलाई नै पर्नेछ, जसको पूँजी र जगेडा कोष निकै कम छ ।

 

पूँजी बृद्धि र मर्जको संभावना

लघुबित्त बैंकहरुबीच पनि मर्ज अनिबार्य बन्ने लक्षण देखिएको छ । एक ढेड करोडमा खोलिएका यस्ता बैंक प्रतिस्पर्धामा खरो उत्रन नसकी खर्च धान्न समेत मुस्किल पर्नुका साथै निस्क्रिय कर्जा बढ्दै गएर समस्यामा परेपछि मर्जको बाटोमा जान बाध्य हुनेछन् ।  । समस्यामा परेपछि ग्रामिण बिकास बैंकहरु मर्ज भएर एउटा बनेको र फाईनान्स कम्पनीहरु धमाधम बाणिज्य बैंकहरुमा बिलिन हुन पुगेको अबस्था हेर्दा लघुबित्तहरुको पनि मर्जको लहर आउने छाँट देखिन्छ । राष्ट्र बैंकले हाल चर्चामा रहेको जस्तै १० र ४० करोडको न्युनतम चुक्ता पूँजीको सिमा तोक्यो भने अहिले खुलेका एक दुई करोडका लघुबित्तहरु कौडीको भाऊमा अरुसँग बेचिनुको विकल्पै हुने छैन । एक करोड चुक्ता पूँजी भएको बैंकले तीन बर्षमा १० करोड पुर्याउनु चानचुने कुरा हैन ।


लाभांशमा राष्ट्रबैंकको कडाई

लघुवित्त कम्पनीको लाभांशमा राष्ट्रबैंकले कडाइ गरेको छ । राष्ट्रबैंकले ऋणीलाई सहुलियत दिँदै लघुवित्त कम्पनीले बाड्ने लाभांशमा कडाइ गरेको हो । राष्ट्रबैंकले केही दिन अगाडि निर्देिशका जारी गर्दै ग्राहक संरक्षण कोष बनाउन निर्देशन दिएकोछ ।


स्रोतको लागत कम भए पनि महँगो ब्याजदरमा ऋण प्रवाह गर्ने गरेका लघुवित्त कम्पनीले ५० प्रतिशतभन्दा बढी नगद लाभांश दिए पछि राष्ट्रबैंकले यसलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो। राष्ट्र बेंकको निर्दे्शिका अनुसार लघुवित्त कम्पनीले खुद मुनाफाको एक प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्छ।


यस्तै २० प्रतिशतभन्दा माथि लाभांश (बोनस र नगद लाभांश) प्रस्ताव गरेमा त्यसको २० प्रतिशत रकम पनि ग्राहक संरक्षण कोषमा राख्नुपर्ने हुन्छ । राष्ट्रबैंकले गरेको नयाँ व्यवस्थाले बढीमा १० प्रतिशतसम्म लघुवित्त कम्पनीले दिने लाभांश प्रभावित हुन सक्नेछ।

युवराज खतिवडा गभर्नर हुँदा पनि लघुवित्त कम्पनीको लाभांश नियन्त्रण गर्ने प्रयास गरेका थिए । हालका गभर्नर चिरन्जीवी नेपालले लघुवित्त कम्पनीलाई नयाँ साहुमहाजन भनेर टिप्पणी समेत गर्ने गरेका छन् ।

 

नोटः कम्पनीहरुको अबस्था गत आ. व चौथो त्रैमास तथा यस आ. व को पहिलो त्रैमासिक बित्तीय बिबरणमा आधारित छ । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।