लगानीकर्ताको एक खर्ब ७० अर्बको शेयर बन्धक बन्दैः धितोपत्र बोर्ड, राष्ट्र बैंक र नेप्सेको निन्द्रा कहिले खुल्छ ?

Dec 29, 2015 Merolagani

धमाधम बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु मर्जमा गएर शेयर कारोबार रोकिने क्रम तीब्र  बन्दै गर्दा नेपाल स्टक एक्सचेन्जमा दैनिक कारोबार प्रत्यक्ष रुपमा प्रभावित हुन थालेको छ । अहिले २९ मध्ये ८ वटा बाणिज्य बैंक, र तीन दर्जनको हाराहारीमा  बिकास बैंक र फाईनान्स कम्पनीहरु मर्जमा जाँदा लगानीकर्ताको एक खर्ब भन्दा बढी रुपैयाँ फसेको छ । मर्जमा जाने बैंकका संचालकलाई यस प्रक्रियामा फाईदै भए पनि साधारण लगानीकर्ता भने असह्यै पीडामा पर्देछन् ।

मर्जमा जाने बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको संख्या अझै बढ्ने भएकाले शेयर बन्धक बन्ने क्रम अझै तीब्र हुने छ । अहिलेसम्म प्रभु, ग्राण्ड, मेगा, जनता, माछापुच्छ्रे, बैंक अफ काठमाडौ, लुम्बिनी र एनसीसी बैंक मर्ज प्रक्रियामा गईसकेका छन् भने सिभिल, सिद्धार्थ, सेन्चुरी, कुमारी, नेपाल बंगलादेश, प्राईम बैंक मर्जमा जान खुट्टा उचालेर बसेका छन् । सर्वसाधारणमा शेयर जारी नगरेको राष्ट्रिय बाणिज्य बैंकलाई छाड्ने हो भने २९ मध्ये १४ बैंक मर्जमा जाने पक्कापक्की छ । यसो हुँदा बाँकी १५ बैंकको मात्र शेयर कारोबार  शेयर बजार प्रभावित हुने छ किनभने नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने शेयर मध्ये ६० प्रतिशत हिस्सा बाणिज्य बैंककै हुने गर्छ ।

 

यसरी थोरै मात्र बाणिज्य बैंकको शेयर कारोबार हुँदा ती बैंकको शेयर मूल्य बढ्ने छ भने मर्जमा गएका बेंकका लगानीकर्ता कुण्ठा पालेर बस्नुको विकल्प हुने छैन । यसरी १४ वटा बाणिज्य बैंकको शेयर कारोबार रोकिदा लगानीकर्ताको एक खर्ब ७० अर्ब रुपैयाँ बराबरको रकम बन्धक बन्ने छ । बिकास बैंक र फाईनान्स कम्पनीहरुको हिसाव गर्दा यो रकम अझै धेरै हुने छ ।


लगानीकर्ताले पीडा भोगेको  केही उदाहरण

अघिल्लो आर्थिक बर्षमा बैंक अफ काठमाडौ सहित चार संस्थाले मर्जमा जाने निर्णय गर्दै राष्ट्र बैंकमा आशय पत्र बु्झाए्पछि शेयर कारोबार रोकियो । बैंकहरुले मर्जको प्रक्रिया अगाडि बढाएर एक बर्ष भन्दा बढी समय लगाएर डीडीए सम्पन्न गरे तर अन्त्यमा शेयर समायोजन, संचालक र कर्मचारीको बिबाद नमिलेर मर्ज नै भाँडियो । तर ती चार संस्थाको शेयर कारोबार फेरि खुल्न डेढ बर्ष लाग्यो । लामो समय लगानीकर्ताको १५ अर्ब रुपैयाँ बराबरको शेयर फस्यो ।

झण्डै ६० प्रतिशत शेयर सर्वसाधारणको हातमा रहेको बिओकेको शेयर कारोबार यसरी लामो समय रोकिदा यसको मार सबैभन्दा बढी सर्वसाधारणमा नै पर्यो । अहिले लुम्बिनीसँग मर्जमा गए पछि त्यो पीडा फेरि दोहोरिएको छ ।

मेगा बैंक र पश्चिमाञ्चल बिकास बैंकबीच मर्ज सम्झौता भएको एक बर्ष नाघेको छ ।

ग्राण्ड बैंक समस्याग्रस्त भई प्रभु बैंकले किन्ने प्रक्रियामा गएको एक बर्ष भन्दा बढी भईसकेको छ । सुरुमा एक्विजिशन भनेर ग्राण्डको मात्र कारोबार रोकिए पनि अहिले प्रभुको पनि कारोबार रोकिँदा शेयर बजारमा औसत रुपमा धेरै किनबेच हुने प्रभुका लगानकिर्ताहरु बन्धक बनेका छन् । प्रभु बैंक र ग्राण्ड बैंकका अधिकारीहरुले मर्ज हुने सबै प्रक्रिया पुरा भएर अब राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आउन मात्र बाँकी रहेको भन्न थालेको लामो समय भईसक्यो । ग्राण्ड र प्रभुका अधिकारीहरु यही कामले दिनहुँ जसो राष्ट्र बैंक धाईरहेका छन् । तर राष्ट्र बैंकले अन्तिम स्वीकृति कहिले दिन्छ भन्ने कुराको ठेकान अझै लाग्न सकेको छैन ।

 

के का लागि शेयर कारोबार रोक्का ? 

नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले मर्ज प्रक्रियामा गएमा संलग्न सबैको र जो बेचिन वा बिलय हुन लागेको हो यसको मात्रै शेयर कारोबार रोकिने नियम लागु गरिरहेका छन् । यसबाट सामान्य लगानीकर्ताहरु यसरी प्रताडित भईरहेका छन् कि मानौ मर्ज वा एक्विजिशनमा जाने कम्पनीका शेयर किन्नेहरु अपराधीहरु हुन । यो प्रक्रिया पुरा नभएसम्म न त उनीहरुले शेयर बेचेर आफुलाई आपत परेको बेला गर्जो टार्न सक्छन् न त यस्ता शेयरको धितो बन्धक राख्न नै सहज हुन्छ । शेयर बजारले उचाई लिएको बेला पनि आफ्नो सम्पति बेच्न नपाई मुख अमिलो पारेर बस्नुपर्ने यी लगानीकर्ताहरुको कस्तो नियति ? मर्ज वा एक्विजिशन प्रक्रियामा बैंकका संचालकहरुले गर्ने अस्वस्थ मोलमोलाई, संचालक र कर्मचारी मिलानको बिबाद, राष्ट्र बैंकबाट हुने ढिलासुस्ती, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारमा हुने अनेक झण्झटको मार सामान्य लगानीकर्तालाई किन बोकाईन्छ ?

खतरनाक पक्ष यो छ कि मर्ज वा एक्विजिशनमा जाने बैंक वा बित्तीय संस्थामा भित्री पहुँच राख्ने वा राष्ट्र बैंकका अधिकारीहरुसँग सम्पर्कमा रहने हैसियत भएका लगानीकर्ताहरु मर्जको सूचना थाहा पाउने बित्तिकै शेयर बेचेर पाखा लागिहाल्छन् । कहिलेकाँही सम्बन्धित कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा बढाएर संस्थापक, प्रबद्र्धक र धेरै शेयर हुनेहरुले मर्जको सम्झौता हुनु अगाडि नै आफ्ना शेयरहरु बेच्ने गरेको पाईन्छ । जब कि साधारण लगानीकर्ताहरु यसको रहस्य थाहा पाउँदैनन् । जब स्टक एक्सचेन्ज र राष्ट्र बैंकमा मर्ज वा एक्विजिशनको सम्झौतापत्र पुगेर शेयर कारोबार रोकिने सूचना आउँछ, साना लगानीकर्ताहरु हेरेको हेर्यै हुन्छन् । उनीहरुको अगाडि पश्चाताप गर्दै अनन्त समय कुर्नु बाहेक अरु विकल्प हुँदैन । नेपालको दोस्रो शेयर बजारमा देखिएको यो एउटा विकृत पक्ष हो ।

राष्ट्र बैंकले अनिबार्य पूँजी बृद्धिको नीति ल्याएपछि मर्ज र एक्विजिशनको नाममा सामान्य लगानीकर्ताले ब्यहोर्दै आएको यस्तो दर्दनाक पीडा पनि समाधान गर्ने तत्परता देखाउनुपर्ने आबाज लगानीकर्ताहरुले उठाईरहेका छन् । तर राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुको निन्द्रा खुलेको देखिएको छैन । सामान्य लगानीकर्ताको ठूलो रकम बन्धक नबनोस र देशको पूँजी बजारमा शेयर र कारोबार रकमको सन्तुलन कायम गर्न पनि सकियोस भन्नेतर्फ निमायकहरुको ध्यान जान सकेको छैन ।

सबै लगानीकर्ताले आफुसँग रहेको बचत रकम र पुख्यौली सम्पतिले शेयर किनेका हुन्छन भन्ने छैन । मर्ज र एक्विजिशनका कारण लामो समयसम्म शेयर कारोबार रोकिँदा तिनीहरुलाई बढी मार पर्छ, जसले शेयर धितो वा अन्य प्रकारले रकम जोहो गरेर शेयर बजारमा लगानी गरेका छन् । लगानीकर्ताको यस्तो पीडा हटाउँन सम्बन्धित बैंकका संचालक र कर्मचारीहरुले पनि ध्यान दिनुपर्ने हो तर आफ्नै अबस्था मात्र राम्रो बनाउन लाग्ने हुनाले सर्वसाधारणको पीडाप्रति उनीहरुलाई के मतलव ?

के छ बिदेशी अनुभव ?

छिमेकी देश भारतमै पनि मर्ज वा एक्विजिशनको कारणले कुनै पनि कम्पनीको कारोबार रोकिदैन । सूचना जारी भएर केही प्रक्रिया पुरा गरेपछि शेयर कारोबार नियमित हुँन्छ र बजारले शेयर मूल्य स्वत समायोजन गरिदिन्छ ।

हुन त नेपालमा अहिले प्राय धेरै कम्पनीहरुको शेयर अभौतिकीकरण भएकाले लगानीकर्ताले विगतमा जस्तो कागजी शेयर प्रमाणपत्र साँटेर मर्जपछि बनेको कम्पनीको नयाँ प्रमाणपत्र लिनुपर्ने झण्झटको अबस्था समाप्त भएको छ । सिधै डिम्याट खातामा रुपान्तरित शेयर जम्मा हुनाले लगानीकर्तालाई ठूलै राहत पुगेको छ । यसले सम्बन्धित कम्पनीहरुलाई पनि नयाँ प्रमाणपत्र छपाई, कागजी अलमल, प्रशासनिक खर्च बृद्धिको मारबाट जोगाई दिएको छ ।

मर्ज वा एक्विजिशनमा जाने कम्पनीहरुले आपसमा सम्झौता गरी आशय पत्र बुझाएको बढीमा १५ दिन भित्रमा राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिने र त्यसपछि तत्काल कम्पनीहरुको शेयर कारोबार खुल्ने ब्यवस्था हुनसके लगानीकर्ताहरुको दर्दनाक पीडा पनि समाधान हुने छ । सम्पति तथा दायित्वको मूल्याड.कन अर्थात डीडीए भएपछि शेयर मुल्य समायोजन गरेर नेप्सेमा कारोबार खोल्ने वा मर्ज प्रक्रिया छोट्याउने कुन विकल्पबाट चाँडै हुन्छ त्यो गर्नु अपरिहार्य भएको छ । मर्ज वा एक्विजिशनको कारणले कम्पनीको शेयरमा चलखेल भई मूल्य घटबढ गरेर नाफाखोरहरुले फाईदा लुट्छन् भन्ने चिन्ताले शेयर कारोबार रोक्ने हो भने अब त्यो त्यति धेरै चिन्ताको बिषय रहेन किनभने शेयर बजार पूर्णत डिम्याट र स्वचालित दिशामा गईसकेको छ । मार्केट डेब्थको पनि सुबिधा पाए पछि लगानीकर्तामा बिश्लेषण गर्ने र खरिद बिक्रीको स्वनिर्णय गर्ने क्षमता बिकास हुँदैछ । के ठीक, के बेठीक र कुन कम्पनीको शेयर कति मूल्यमा किनबेच गर्नुपर्छ भन्ने निर्णय गर्न लगानीकर्ता सक्षम भईसकेका छन् ।

मर्ज र एक्विजिशनले संस्थाको बित्तीय क्षमता बढाउनुका साथै जोखिम घटाउँने कुरामा शंका गर्नु आबश्यक छैन । देशको बित्तीय स्वस्थता, ठूलो लगानी गर्न र निरीक्षण अनुगमनको पाटोलाई सुदृढ बनाउन पनि थौरै तर सबल बित्तीय संस्थाहरु चाहिएको हो । यस कारण मर्ज र एक्विजिशनलाई बढावा दिई अनिबार्य पूँजी बृद्धिको नीति ल्याउनु निकै सराहनीय कार्य हो । तर यसको मारमा साधारण लगानीकर्तालाई अनन्तकालसम्म पीडामा पारिरहनु हुँदैन भन्ने मात्र मुख्य सवाल हो । मर्ज वा एक्विजिशनमा जाने बैंक तथा संस्थाका लगानीकर्ता अपराधी हैनन् जसको शेयर मर्ज वा एक्विशिजन पुरा भएर नआएसम्म बन्धक पारिरहन सकियोस ।

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।