एक साताभित्र उर्जा संकटकाल घोषणा गर्ने सरकारको तयारी, दश बर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

Jan 29, 2016 Mero Lagani



आगामी दस वर्षभित्र दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने र निर्माणाधीन आयोजनालाई तत्काल सम्पन्न गर्ने उद्देश्यका साथ सरकारले ऊर्जा सङ्कटकाल घोषणाको अन्तिम तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषण गर्ने बताएका छन् ।

नीतिमूलक अनुसन्धान तथा विकास संस्था(इप्राड)ले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले ऊर्जा क्षेत्रको तत्कालीन एवम् दीर्घकालिन योजनासहित स्पष्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले भने, “कर्णप्रिय प्रवचन भन्दा पनि ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो ? यस विषयमा मूर्त समाधानको उपायसहित एकसाताभित्र ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ । मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणसहितको कार्यक्रम आउने जानकारी दिँदै उनले ऊर्जा उत्पादनमा पछाडि पर्दा विकासले गति लिन नसकेकाले अब ढिलाई गर्न नहुने बताए ।

सरकारले तत्काल, मध्यकाल र दीर्घकालमा गर्ने कार्यक्रमसहित सरकारले स्पष्ट दृष्टिकोण सार्वजनिजक गर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कानूनी कारण जलविद्युत् उत्पादनमा समस्या आउन नदिनेसम्मको अवधारणा कार्यक्रममा राखिने बताए । आफू जलस्रोत मन्त्री हुँदा ल्याएका कार्यक्रमहरु ३८ बुँदे ऊर्जा सङ्कटको अवधारणा अगाडि बढाएको उल्लेख गर्दै उनले सोही बुँदाभित्र समाधानका उपाय रहेकाले त्यसतर्फ सरकारको ध्यान जाने बताए । 

अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाइन अबिलम्ब सुरु गर्ने, निर्माणधिन आयोजनालाई सम्पन गर्त ढिलाई गर्नु हुँदैन र विदेशी लगानीलाई आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले फराकिलो दायराबाट भोलिको आवश्यकतालाई सम्बोधन गर्ने गरी आयोजना तयार गर्नुपर्ने बताए ।

ऊर्जा मन्त्रालयले तयार गरिरहेको कार्ययोजनामा विशेष गरी चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न हुने आयोजनालाई इन्धन निर्माण सामग्री तथा अन्य प्रशासनिक झन्झट कम गर्ने उल्लेख गरिएको छ । यस्तै आव २०७३/७४ भित्र निर्माण सम्पन्न हुने आयोजनालाई थप सहजीकरण गर्ने मन्त्रालयको कार्ययोजनामा समावेश गरिएको छ ।

सरकारले गत मङ्सिर ८ गते सार्वजनिक गरिएको श्वेतपत्रमा समेत ऊर्जा सङ्कटकाल घोषणा गरेर ऊर्जा सङ्कटलाई निवारण गर्ने उल्लेख गरिएको थियो । दस वर्षमा दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित घोषणा गर्न लागिएको सङ्कटकालले नेपालको जलविद्युत् क्षेत्रमा उल्लेख्य प्रगति गर्ने विश्वास लिइएको छ ।

..............................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।