मकैबाली गोडमेल गरे पछि फेरि गाउँमा किसानहरुको भेला भयो ।
‘हैन यी बाँदर किन्ने मान्छे आए पनि हुन्थ्यो नि ।’ इन्द्रले पीडा पोख्यो ।
‘के भन्छ यो ? बाँदर पनि कसैले किन्छ ? लौ बाँदर किन्ने कोही आयो नै भने पनि हामीले गर्ने चैं के ?’ दिलेन्द्रले इन्द्रलाई प्रतिप्रश्न गर्यो ।
‘हैन बाँदरको बारेमा तलको बजाराँ खुलेको एउटा के नाम त्यो .... कम्पनी छ नि त्यसले सोधिखोजी गरिरहेको थियो है । कुरो के रहेछ बुझ्न पो जाने होलां, केही उपाय निस्किन्छ कि ।’ श्याम बोल्यो ।
*** *** *** *** ***
‘हजुर हामी यो कम्पनीको प्रमुख दिनेश सरलाई भेट्न आएका । ’ - हुल बाँधिएर गएका किसान मध्येको श्यामले गाउँ नजिकको बजार क्षेत्रमा रहेको कम्पनीको रिसेप्सनमा बसेकी गोरी युवती (देविका) लाई जिज्ञासा राख्यो ।
‘एकछिन पर्खिनुहोस है, म सरलाई तपाईहरु आउनु भएको कुरा सुनाउँछु ।’
-‘हवस, हामी यहि पर्खिन्छौं ।’
‘तपाईहरुलाई सरले भित्र बोलाउनु भएको छ ।’ युवतीले गाउँले किसानको नेतृत्व गरिरहेको श्यामलाई भन्छे ।
'नमस्ते सर ।’ केही भित्र पसेर एउटा तला माथि चढे पछि बाँया तर्फको सुविधासम्पन्न कोठामा पुगेर सबैले सामुहिक रुपमा दिनेश साहुलाई नमस्ते ठोक्छन् ।
‘नमस्ते नमस्ते, आराम हुनुहुन्छ ?’
‘हजुर आराम छौं ।’
‘तपाईको नाम इन्द्रबहादुर हैन ? अस्ति पर टारमा बाँदर लखेट्दै गरेको बेला भेट भएको थियो नि ।’ दिनेश साहुले सोधे ।
‘हो हजुर । हजुरहरुसंग सानो सहयोग माग्न पो आएका हामी त ।’ इन्द्रले जवाफसंगै सहयोग माग्यो ।
‘कस्तो सहयोग ?
‘मकैबाली जोगाउन हम्मे हम्मे पर्यो । लौन हाम्रो आम्दानी कसरी जोगाउने होला ?’ खचाखच भरिएको कोठाको कुनामा भित्तापट्टि भुँईमा टुसुक्क बसेको दिलेन्द्रले आफ्नो अघिल्तिर रहेको भिडभन्दा अगाडी बडेमानको कुर्सीमा बसेको दिनेश साहुलाई समस्या पोख्यो ।
कुर्सी अलिकति घुमाउँदै दिनेश साहुले भने 'हामीलाई एउटा बिदेशी औषधी कम्पनीले बाँदरमा औषधीको परीक्षण गर्न ठूलो संख्यामा बाँदर माग गरेको छ । तपाईहरु दिनसक्नुहुन्छ त ?'
‘सर हामी तयार छौं ।’
मकै पनि जोगिने बाँदर समातेर ल्याँउँदा आम्दानी पनि हुने भएपछि किसानहरु हौसिनु स्वभाविक थियो ।
'हामीलाई चाहिएको बाँदर ल्याइदिनु हुन्छ भने एउटा बाँदरको १ हजार रुपैंया दिन्छौं । अब बाँदर पनि सकिने, तपाईहरुको आम्दानी पनि हुने अनि मकैबाली पनि जोगिने ।’ दिनेश साहुले सबै किसानलाई आश्वास्त पार्न खोजे ।
‘हामीले बाँदर बेच्ने रे ? अनि तपाईको कम्पनीले किन्ने ?’ अचम्म मान्दै श्यामले थप जिज्ञासा राख्यो ।
भुँईमा बसेको भिडको मध्य भागबाट फेरि दिनेश साहु बसेको कुर्सीमा हेर्दै रामबीरले थप्यो ‘बाँदर मुला जति पनि छन नि गाउँमा, तपाईले किन्ने पक्का हो भने हामी जति पनि बाँदर ल्याउन सक्छौं सर, हामीलाई पैसा कमाउनु छ ।’
रामबीरको आवाज बन्द नहुँदै सबैको मुखबाट सामुहिक आवाज निस्कियो
‘हो सर हामी तपाईलाई बाँदर बेच्न तयार छौं ।’
गाउँलेहरु बाँदर खोज्न जंगल पसे, पाँसो थापे, कसैको पाँसोमा दुई दुई वटा बाँदर पर्यो । बाँदर समात्ने क्रममा हर्कको हातमा बाँदरले टोकिदियो पनि ।
५२ जना गाउँलेले ७० वटा बांदर बन्द ट्रकमा लादेर दिनेश साहुको कम्पनीसम्म पुर्याएर एकमुष्ट रकम बुझे ।
बाँदर बेचेको अबसरमा गाउँमा ठूलो भोज चल्यो । यस अघि एक बोतल खानेले दुई, तीन बोतल समेत रित्याए । गरिबीको चक्र न हो, सबैका गोजी रित्तिए ।
*** *** *** *** ***
'ल अब अरु एक हजार बाँदर चाहियो' दिनेश साहुले किसानहरुलाई मख्ख पादै फेरि आब्हान गर्यो 'अब चाँही प्रत्येक बाँदरको मूल्य दुई हजार रुपैयाँ ।'
‘हुन्छ सर हामी तपाईलाई चाहिने बाँदर ल्याईदिन्छौं ' उत्साहित हुँदै किसानहरु फेरि बाँदर खोज्न जंगलतर्फ लागे ।
आफ्नो गाउँमा सबै बाँदर सकिइ सकेका थिए । आसपासका गाउँमा गएर धेरै दिन लगाएर केही दिन पछि मुस्किलले ५० वटा बाँदर लिएर फेरि उनीहरु दिनेश साहुकोमा गए ।
दुई हजारका दरले ५० वटा बाँदरको एकमुष्ट पैसा दिंदै दिनेश साहुलेले भने ‘अब हामीलाई अझै बाँदर चाहिएको छ । यस पटक हामी तपाईलाई एउटा बाँदरको पाँच हजार रुपैंया दिन्छौं ।’
‘अझै ल्याउने ? हुन्छ भैहाल्छ नि ।’ आफ्नो गाउँमा मात्र नभएर आसपासका गाउँका सबै बाँदर सकिसके पछि अरु कहाँबाट ल्याउने चिन्ता मनमा बोकेर श्यामले दिनेश साहुकोको कुरामा सहमति जनायो ।
‘म केही दिनलाई बाहिर जाँदै छु, म फर्किए पछि तपाईहरुको बाँदर किनिदिन्छु ।’
‘हुन्छ सर ।’ दिनेश साहुको कुरा सकिन नपाउँदै दिलेन्द्रले जवाफ फर्कायो ।
सबै जना फेरि बाँदर खोज्न टाढा टाढासम्म गए तर कतै बाँदर फेला परेन । सबै बाँदर बिक्रि भैसकेका थिए ।
सबैजना आजित भएर दिनेश साहुको कार्यालयमा देविकालाई भेट्न पुगे ।
गाउँलेको कुरो सुनिसके पछि देविकाले गाउँलेलाई एउटा प्रस्ताव गर्दै भनिन् ‘सर बाहिर जानु भएको छ । म तपाईहरुलाई एउटा सहयोग गर्न सक्छु । दिनेश सरले तपाईहरुलाई पाँच हजार रुपैंयाका दरले बाँदर ल्याउनु भन्नु भएको छ । सरले थाहा नपाउने गरी म तपाईहरुलाई सबै बाँदर चार हजार रुपैंयाका दरले दिन सक्छु ।’
गाउँले सबै हर्षित भए ।
चार हजारमा किनेर पाँच हजारमा बेच्न पाईदा प्रति बाँदर एक हजार नाफा हुने भयो, दुख गर्न पनि नपर्ने भएपछि किसानहरु हौसिने नै भए ।
देविकाले भने जसरी ऋण खोजेर, परिवारका गहना बन्धक राखेर पहिले बाँदर बेचेर आएको पैसामा थप थाप गरी गाउँलेले फेरि त्यही दिनेश साहुको बाँदर किने । सबै जना अब बाँदरबाट आउने नाफा हिसाब गर्नतिर लाग्दै थिए ।
देविकाले पनि बाँदर बेचेको पैसा समात्दै भनिन् ‘दिनेश सर पनि ३ देखि ४ दिनमा आइपुग्नु हुन्छ अनि हामीले नै यो बाँदर किन्ने हो । यो कुरा सरलाई थाहा नदिनु नि । मैले हजुरहरुलाई सहयोग गरेको मात्र हो ।’
‘हुन्छ हामी कसैलाई केही भन्दैनौं ।’
३ दिन पछि फाँटमा रहेको कार्यालयमा देविका थिइनन् । कार्यालय पनि बन्द थियो । दिनेश साहु पनि गाउँलेसंग रहेको बाँदर किन्न आएनन् । गाउँलेलाई फसाद पर्यो । केही दिन त दिनेश साहु आउलान भनेर पर्खिए पनि तर बाँदरले रोग सार्ने अनि गाउँलेलाई र उनीहरुले पालेका घरपालुवालाई सताउन थाले पछि सबैमा के गर्ने भन्ने अन्यौलता बढ्यो ।
दिनेश साहुलाई कुर्दा कुर्दै हप्ता अनि दुई हप्ता नाघ्यो तर दिनेश साहु आएनन् र पैसाको लोभमा बाँदरलाई खुवाँउदा खुवाँउदा घरमा भएको अन्न पात पनि सकियो ।
‘अब जे हुनु भै गयो । सबै बाँदरलाई जंगलमा लगेर छाड्नुको विकल्प छैन ।’ गाउँलेको भेलामा श्यामले भन्यो ।
सहमति अनुसार सबै बाँदर जंगलमा लगेर छाडियो ।
आफैले बेचेका बाँदर किन्दा लागेको ऋण तिर्न गाउँलेहरुसँग विकल्प थिएन । बाँदर खोज्दा खेतीपाति पनि भएन । अब कसरी जीवन धान्ने ? उनीहरु गहिरो चिन्तामा परे ।
*** *** *** *** ***
‘राम्रो व्यापार बाख्राको छ, फाइदा पनि राम्रो हुन्छ ।’
बाँदरको चक्करमा लाग्दा परेको नोक्सानको समिक्षा भेलामा बाख्रा व्यापारमा लाग्ने सहमति गाउँलले जुटाए ।
सहमति अनुसार अलि टाठो बाठो भएका कारण बाख्रा व्यापारको नेतृत्व श्यामले लियो ।
‘गाउँमा भएका सबै बाख्रा शहरमा बिक्रि गर्न लैजानु पर्छ, सबै मिलेर हामीले ५ हजार रुपैंयाका दरले गाउँका बाख्रा किन्नु पर्ने भयो । शहरबाट यस्तो माग आएको छ ।’
‘के भन्छ यो श्यामे, गाउँमा ३ हजार रुपैंयामा बाख्रा नबिकेर हैरान भएका बेला ५ हजारमा बाख्रा किन्छु भन्छ ।’ दिलेन्द्रले संगै उभिएको रामबीरलाई भन्यो ।
दिलेन्द्रको कुरामा सहमती जनाउँदै रामबीर पनि बाख्रा खोज्न गाउँ पस्यो । उनीहरुसंगै सबै जना बाख्रा खोजेर केही दिनमा श्यामलाई भेट्न आए ।
‘५ हजार दिन्छु भन्थिस्, हामीले २ सय १० वटा बाख्रा ल्याएका छौं ।’ खुसी हुँदै गाउँलेले श्यामको ध्यानाकर्षण गराए ।
श्यामसंगै बसेको शहरबाट गएको बाख्रा व्यापारीले गाउँलेको बोली भुँईमा खस्न नपाउँदै ५ हजारका दरले पैसा बाँड्न थाल्यो ।
‘वाह श्यामकुमार वाह तैले हाम्रो लागि राम्रो काम गरिस ।’ सबैको अनुहारमा खुसी झल्कियो ।
नयाँ अनुहारको बाख्रा व्यापारी केटाको भनाई बमोजिम श्यामले फेरि गाउँलेलाई ७ हजार रुपैंयाका दरले बाख्रा ल्याउन भन्यो । अनि आफु पनि बाख्रा खोज्न गाउँलेसंगै गाउँ पस्यो ।
गाउँमा बाख्रा भेटिएनन् । अर्को गाउँ चाहारेर सबैले एक सय पन्ध्र वटा बाख्रा ल्याएर शहरिया केटालाई बेचे ।
केटोले १३ हजार रुपैंयाका दरले फेरि बाख्रा ल्याउन श्यामकुमार मार्फत गाउँमा हल्ला पिटायो ।
एक कान दुई कान मैदान भए पछि सबैको समस्या एउटै थियो । ‘बाख्रा छैनन् त कसरी ल्याउने ?’
श्यामलाई समस्या समाधान गराउने निर्णय सहित सबै त्यहाँ पुगे ।
‘व्यापारीसंग भएका सबै बाख्रा उसले थाहा नपाउने गरि म बेच्छु १० हजार रुपैंयाका दरले । त्यस लगत्तै सबैले उसलाई १३ हजारका दरले बाख्रा बेचे हुन्न ?’ सुटुक्क श्यामकुमारले गाउँललेलाई भन्यो ।
त्यसै अनुरुप गाउँलेले रातारात श्यामबाट पहिले आफैंले बेचेका बाख्रा १० हजार रुपैंयाका दरले किने ।
भेलिपल्ट गाउँमा श्याम पनि देखा परेन अनि त्यो बाख्रा व्यापारी पनि देखा परेन । गाउँलेको सातो गयो ।
पहिले बाँदरको चक्करमा लाग्दा धोका खाएका गाउँले अहिले बाख्रामा पनि ठगिए ।
गाउलेहरुको बैठकमा श्याम फटाहा रहेछ भनेर चिन्न नसक्नु आफ्नो कमजोरी रहेको ठहर भयो ।
त्यसपछि बाख्रा किन्नेहरुले सामुहिक बाख्रा पालन गर्ने निर्णय गरे । एउटाले तीन वटा पाठा पाउँदा गाउँमा हर्ष बढाई नै भयो । बाँझो खेतबारीमा घांस रोप्ने, उन्नत जातको बोका लगाउने लहर नै चल्यो ।
नामपुर बाख्रापालन नमूना गाउँको रुपमा चर्चित हुन थाल्यो । शहर बजारमा सबैतिर नामपुर गाउँकै खसीको माग हुन थाल्यो ।
हरेकको घरमा तीस चालिस वटा बाख्रा देखिन थाले । गाउँलेले एउटै खसी र बोका बेचेर बीस हजारसम्म आम्दानी गर्न थाले । कसै कसैले बाख्राको दुध दोएर छुर्पि समेत बनाई बिदेश निर्यात गर्न थाले । बाँदर ब्यापारमा भएको घाटा अब सबैले बिर्सिएको भान हुन थाल्यो ।
श्रीरामले गाउँले भेलामा भन्यो 'बेलैमा बाख्रा ब्यवसाय गर्न बुद्धि पुगेन, बेकारमा दुख पाईयो ।'
बाख्रा पनि महंगो मूल्यमा किन्नु हुँदैन रहेछ भन्ने चेतना सबैलाई भयो ।
*** *** *** *** ***
यो बाँदर र बाख्रा ब्यापारको कथा अहिलेको नेपाली शेयर बजारमा ठ्याक्कै मेल खान्छ । कमजोर पूँजी आधार भएका, संस्थागत सुशासन नभएका र मूल्य उचालेर आकाशमा पुर्याईएका कम्पनीहरु अर्थात बाँदर किनेर दुख पाउने कि उचित मूल्यमा बाख्रा किनेर भबिष्य सुरक्षित गर्ने ? तपाईको जो बिचार ।
- Stableinvestor.com मा प्रकाशित कथालाई नेपाली परिवेशमा ढालिएको हो ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो