तपाईले साधारण शेयरमा आबेदन गर्न होस् वा दोस्रो बजारमा लगानी गर्न नै किन नहोस, आउने आर्थिक बर्षदेखि यो परिचय पत्र अनिबार्य हुनेछ । अब्यवस्थित शेयर बजारलाई सही बाटोमा ल्याउन जुटेको धितोपत्र बोर्डले वास्तविक लगानीकर्ताको पहिचान गर्न ईन्भेष्टर आईडी लागु गर्ने निर्णय गरेको हो । हालै बसेकोे बोर्ड बैठकले लगानीकर्ता पहिचान कार्ड जारी गर्ने निर्णय गर्दै आगामी साउन १ गतेबाट अनिबार्य गर्ने तयारी सुरु गरेको छ । कार्ड कस्तो हुने भन्ने बारेमा अहिले नै यकिन नभए पनि सीडीएस एण्ड क्लियरिड. लिमिटेडमार्फत यस्तो कार्ड जारी गरिने छ । धितोपत्र बोर्डका कर्मचारीहरुले पनि यसअघि ईन्भेष्टर आईडी चाँडै कार्यान्वयनमा ल्याउन दबाब दिएका थिए ।

यो कार्ड लागु भएपछि शेयर बजारमा देखिएको झोले प्रबृत्ति अन्त्य हुने आशा बोर्डले गरेको छ । अहिले एक ब्यक्तिले सयों ब्यक्तिको नाममा साधारण शेयरमा आबेदन गर्ने, फर्जी ब्यक्ति तथा कम्पनी खडा गरेर दोस्रो बजार प्रभावित पार्न कारोबार हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न सकिने बताईएको छ ।
कार्डको नमूना ईन्टरनेटबाट लिईएको हो ।
हाल शेयर बजारमा २० लाख भन्दा बढीको संलग्नता रहेको आँकलन गरिए पनि वास्तविक संख्या यकिन हुन सकेको छैन । नेपाल स्टक एकसचेन्जमा दैनिक कारोबारमा संलग्न हुने सक्रिय लगानीकर्ताको हिसाव गर्ने हो भने वास्तविक लगानकर्ताको संख्या केही हजारमा सिमित रहेको देखिन्छ । लगानीकर्ता पहिचान कार्डले शेयर बजारका लगानीकर्ताको यकिन संख्या पत्ता लगाउन सकिने संभावना ब्यक्त गरिएको छ ।
धितो पत्र बोर्डले शेयर बजारमा सुधारका लागि साधारण शेयरमा आबेदन गर्न हितग्राही ( डिम्याट ) खाता पनि अनिबार्य गर्ने तयारी गरेको छ । हितग्राही खाता नहुँदा शेयर प्रमाण पत्र छपाई गरी त्यसलाई लगानीकर्तामा बितरण गरेर फेरि अभौतिकीकरण गर्नुपर्ने झंझट रहेको छ तर अहिले नेपाल स्टक एक्सचेन्जमा अभौतिक शेयर मात्र कारोबार हुने गरेकोले लगानीकर्ता दोहोरो मारमा छन् ।
नेपाल धितोपत्र बोर्डले साधारण शेयरमा बहु ओबदन, एकल चेकबाट रकम भुक्तानी प्रक्रियालाई हालै रोक लगाएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकले गरेको नयाँ निश्काशनमा त्यो लागु नभए पनि फागुन २७ गते निश्काशन हुने मेरो माईक्रोफाईनान्सको शेयरमा आबेदन गर्दा भने बहु आबेदन, एकल चेक रद्ध हुने पक्का भएको छ ।
नेपाल स्टक एक्सचेन्जले शेयर दलालहरुलाई पचहत्तरै जिल्लामा बिस्तार गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको, देशभर शाखा संजाल रहेका बाणिज्य बैंकहरुलाई शेयर दलाल अनुमति पत्र दिने तयारी भएकोले पनि अबका केही महिनाभित्रको छोटो समयमा नेपालको शेयर बजारको बिस्तार अपेक्षा गरे भन्दा बढी हुने र अनलाईन कारोबारको नजिक नेप्से पुग्ने संकेत देखिएको छ । नेपालमा शेयरको सार्वजनिक किनबेच सुरु भएको २२ बर्ष बिते पनि बोर्डमा डा. रेबतबहादुर कार्की गएपछि अभुतपूर्व सुधार मात्रै भएको छैन, बर्षौ लाग्ने काम एकै बर्षमा हुन थालेका छन् ।