यस्ता कम्पनीहरुमा उचालिएर शेयर किन्नेहरु चाँही डुब्छन्

Mar 29, 2016 Merolagani

नेपाल धितोपत्र बोर्डले नेप्से उकालो चढ्दै जाँदा त्यसै लगानीकर्तालाई सजग गराएको हैन, बजारमा निकै खतरनाक चलखेल भईरहेको कुरा उसले गंभीर रुपमा अनुभुत गरेको हुनुपर्छ । केही यस्ता कम्पनी छन्, जसको समग्र अबस्था निकै चिन्ताजनक हुँदाहुँदै पनि शेयर मूल्य सबैभन्दा धेरै बढ्दै छ । राम्रा कम्पनीको शेयर मूल्य घटेर समग्र बजार तल झर्दा पनि यी कम्पनीहरुको शेयर मूल्य कि बढेका हुन्छन् कि त स्थिर देखिन्छन् । 

सिनर्जी फाईनान्स (SYFL)

सिनर्जी फाईनान्स (SYFL) जसको बित्तीय अबस्था झन् झन् खराब हुँदै गईरहेको छ तर शेयर मुल्य भने उकालो लाग्दैछ । अरु राम्रा कम्पनीको शेयर मूल्य घट्दा सोमबार यस कम्पनीको भने मुल्य बढेको थियो ।

४७ करोड चुक्ता पूँजी रहेको सिनर्जीको जगेडा कोष घाटा तीन महिनाको अबधिमा २० करोडबाट बढेर २३ करोड पुगेको छ भने निस्क्रिय कर्जा अनुपात ३१ बाट ३२ मा उक्लिएको छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमासमा सिनर्जीको जगेडा कोष घाटा २१ करोड र निस्क्रिय कर्जा अनुपात २१ को हाराहारीमा थियो । यसरी निस्क्रिय कर्जा र जगेडा कोष घाटा बढ्दै जाँदा यदि पूँजी कोष पनि नकारात्मक हुने अबस्था आए राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्न बेर लाउँदैन । त्यसो भयो भने उचालिएर शेयर किन्दा हालेको पैसा फसेन त ? 

प्रबाह गरिएको १ अर्ब २९ करोड कर्जामा कतिपयको कमशल धितो, अदालती मुद्धा मामिलाको जंजालले लिलाम अनिश्चित , पूर्व संचालकहरुको बदमासीले कम्पनी दिनदिनै ओरालो लाग्दैछ तर केही लगानीकर्ताहरु शेयर मुल्य बढाएर किन्ने होडबाजीमा लागेका छन्, राम्रा कम्पनी ओरालो लाग्दा नराम्रा कम्पनीको शेयर मूल्य बढ्ने पूँजी बजारको नियमसँग ठ्याक्कै विपरित प्रबृत्ति देखिएको छ । 

प्रतिशेयर आम्दानी एक रुपयाँ मात्र  र  प्रति शेयर नेटवर्थ ५० मात्र रहेको यस कम्पनीको अबस्था न त  तेस्रो त्रैमासमा सुध्रिने छाँट छ न त तत्काल कुनै ठूला बाणिज्य बैंक वा राम्रा कम्पनीले नै  किन्ला भन्ने आश गर्न सकिन्छ ।  किन यस कम्पनीको शेयरमा केही लगानीकर्ताको आकर्षण ? बुझ्न सकिने कुरा हैन । त्यसैले कम्पनीको अबस्थामा भरपर्दो सुधार नभएसम्म यस्ता कम्पनीको शेयरमा उचालिएर लगानी गर्नु डुब्नु मात्र हो ।

 

नेपाल ग्रामिण बिकास बैंक (NGBBL)

नेपाल ग्रामिण बिकास बैंकको शेयर मूल्य अत्यधिक उचालिएर किन्दा लगानीकर्ताको करोडौ फसेको छ । यसमा केही ब्यक्तिहरुले चलखेल गरेर जबरजस्ति शेयर मूल्य उचाल्दा सर्वसाधारण लगानीकर्ता निकै ठूलो जोखिममा फसेका पाईएको छ । सो बैंक यस बर्षको दोस्रो त्रैमाससम्म साढे दुई करोड जगेडा कोष घाटामा रहेको र निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा माथि रहेको अबस्थामा तत्काल त्यस बैंकबाट कुनै लाभांश पाउने संभावना छैन । त्यसमाथि गत असोज मसान्तसम्म २३ करोड रुपैयाँ जगेडा कोष घाटामा रहेको बैंक एकैचोटी साढे दुई करोड घाटामा कसरी झर्यो भन्ने कुरा नै रहस्यमय र अपत्यारिलो देखिएको छ ।

त्रैमासिक प्रतिबेदन अनुसार बैंकले यस अबधिमा ११ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेर सो रकम जगेडा कोष घाटा पुर्ति गर्न उपयोग गरेको देखिएको छ तर यसो हुँदा पनि ११ करोड जगेडा कोष घाटा बाँकी रहनुपर्ने हो तर कसरी दुई करोड ५० लाख मात्र घाटा बांकी रह्यो भन्ने कुरा बैंकका अधिकारीहरुले बताउन सकेका छैनन् । सरकारले घाटा पुर्तिका लागि उपलब्ध गराएको १० करोड रुपैयाँको गणना गरिएको हो वा हैन भन्ने बारेमा पनि मेरोलगानी डटकमलाई बैंकका अधिकारीहरुले बताउँन सकेनन् ।

५५ करोड चुक्ता पूँजी भएको कम्पनीको सर्बसाधारणमा १८ प्रतिशत मात्र शेयर रहेको छ । ९ लाख ९० हजार कित्ता मात्र शेयर सर्बसाधारणमा रहेको अबस्थामा त्यही शेयरलाई आफ्नो कब्जामा पारेर मनलाग्दी मूल्य बढाउँन केही ब्यक्तिहरु लागि परेका हुनसक्छन् ।  यसरी चलखेल गर्नेहरुले अधिकांश शेयर आफ्नो कब्जामा पारिसकेका छन् भने महंगो मूल्यमा सर्वसाधारण लगानीकर्तालाई बेचाएर दोब्बर नाफा हात पार्ने खेल भईरहेको छ किनभने शेयर बजारमा चलखेल गर्नेहरुले दुइ सय रुपैयाँ मूल्य हुँदादेखि नै एकोहोरो रुपमा यस कम्पनीको शेयर उठाई रहेका छन् । जब उनीहरुले चलाखीपूर्ण रुपमा यस कम्पनीको शेयर बेच्नेछन् त्यसपछि मूल्य १० प्रतिशतले तल झर्ने उत्तिकै खतरा छ किनभने यसलाई थेग्ने ठोस आधार केही पनि छैन ।

 

हल्ला गर्नेहरुले लघुवित्त होे र नयाँ निश्काशन (एफपीओ) आउनसक्छ भन्दै भ्रम फैलाईरहेका छन् तर यसो  हूँदा पनि हिजो पाँच वटा ग्रामिण बिकास बैंक मर्ज हुँदा सुन्य शेयर प्राप्त गरेका शेयरधनीले त केही पाउने अबस्था छैन भने अहिले महंगो मूल्यमा शेयर किनेर जोखिम बोक्नुको के अर्थ ? दीर्घकालीन लगानीको हिसावले सस्तोमा शेयर उठाएर बस्नेले अहिले आत्तिनु पर्ने अबस्था नभए पनि मूल्य उचालेर आकाशमा पुगेको बेला लगानी गरेकाहरु भने फुर्सदमा पछुताउनुको कुनै विकल्प छैन । कम्तिमा दुई बर्षसम्म यस कम्पनीले केही प्रतिफल दिन सक्दैन भन्दाभन्दै किन महंगो शेयर किन्ने दौडमा सामेल हुनुहुन्छ ?

 

नयाँ नेपाल लघुवित्त (NNLB)

नयाँ नेपाल लघुबित्त जसको निस्क्रिय कर्जा अनुपात नै १२ भन्दा माथि छ र संचालकहरुले आगामी दुई बर्र्षसम्म कुनै लाभांश नबाड्ने औपचारिक निर्णय नै गरेका छन् यसको समेत  समेत मूल्य बुर्कुसी मारेर उचालिएको छ ।

 संस्थागत सुशासन नभएर र निस्क्रिय कर्जा अनुपात १२ भन्दा माथि गएको नयाँ नेपाल लघुबित्त कम्पनीको शेयर मूल्य पनि लघुबित्तकै नाममा एक हजार सात सय पचास रुपैयाँ भन्दा माथि गएको छ । के सोचेर लगानीकर्ताहरु यो दुई करोडवाला कम्पनीको शेयर मूल्य यति धेरै तिर्न तयार भएका हुन ? चाखलाग्दो बिषय छ । यस कम्पनीको शेयर मूल्यमा धेरै चलखेल भएको भन्दै केही समय अघि नेप्सेले नै कारोबार रोकेर छानविन गरे जस्तो गरेको थियो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नयाँ नेपाल लघु वित्त विकास बैंकले २८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ६७ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

 बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा अनुपात १४ दशमलब ०७ प्रतिशतबाट घटेर चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ दशमलब ०९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १०३ रहेको छ ।

 

नागबेली लघुवित्त (NBBL)

 प्रति शेयर आम्दानी हेर्दा आकर्षक लाग्ने दुई करोड ५० लाख चुक्ता पूँजी भएको झापाको नागबेली लघुबित्तको शेयर मूल्य प्रति कित्ता तीन हजार सात सय रुपैयाँसम्म पुर्याईयो ।तर सोमबार सो कम्पनीको शेयर मूल्य फेरि साढे ६ प्रतिशतले अर्थात २०१ रुपैयाँले बढेर ३३२१ रुपैयामा उकालिएको छ ।   केही ब्यक्तिले नियतबश मूल्य माथि लैजाने उद्धेश्यले यसको शेयर खरिद गर्दा मूल्य उचालिएर माथि गएको थियो तर उसले प्रस्ताव गरेको लाभांशमा राष्ट्र बैंकले संस्थागत सुशासनमा प्रश्न उठाउँदै रोकिदिएपछि अहिले शेयर मूल्य दिनदिनै ओरालो लाग्दैछ । के आधारमा सो कम्पनीको प्रति कित्ता शेयर तीन हजार ४ सयको हाराहारीमा किन्ने ? संभवतः कसैसँग पनि चित्तबुझ्दो जवाफ नहोला । 

लागबेलीले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक करोड ५२ लाख ५७ हजार खुद नाफा गरेर प्रति शेयर आम्दानी ६१ रुपैयाँ देखाएको छ । निस्क्रिय कर्जा १.२९ प्रतिशत, मूल्य आम्दानी अनुपात ५६, प्रति शेयर नेटवर्थ २४३ र जगेडा कोषमा तीन करोड ६२ लाख हुनु सकारात्मक पक्ष भए पनि मुख्य समस्या संस्थागत सुशासनमै रहेको देखिएको छ । राष्ट्र बेंकका एक उच्च अधिकारीले नामै किटेर नागबेलीको शेयरमा जोखिम धेरै छ भन्दै आफ्ना निकटवर्तिहरुलाइृ सजग गराएको प्रसंग पनि बजारमा सुनिएको छ ।

लघुवित्त भन्दैमा आँखा चिम्लेर यस्ता खाले कम्पनीको शेयर मूल्य आकाशिएको बेला किन्नेले कति सम्म पछुताउनु पर्ने हो, यकिन गर्न सकिन्न किनभने शेयर बजार कतिखेर तल झर्छ र माथि जान्छ, कसैले अनुमान लगाउँन सक्दैन । जोखिमको अबस्था हेरेर सुरक्षित लगानी गर्नु नै बुद्धिमानी हो । त्यसमाथि झोले लघुवित्तहरुलाई कस्न राष्ट्र बैंकले ल्याउने कडा नीतिहरुको प्रभाव आँकलन गर्नु त छदैछ । 

राष्ट्र बैंकले  लघुवित्तको चुक्ता पूँजी कम्तिमा १० करोड हुनुपर्ने भन्दै दुई बर्षको समयसीमा दियो भने यस्ता कम्पनीका संस्थापकहरुले हकप्रदको रकम जम्मा गर्न नसकेर बाध्यात्मक रुपमा अरुसँग मर्ज वा एक्विजिशनमा जानुपर्दा आज एक कित्ता शेयरलाई तिरिएको ३४०० रुपैयाँको प्रतिफल के होला ? अहिले नै ३७०० प्रतिकित्तामा शेयर किनेकोमा मूल्य ३४०० को हाराहारीमा झरेपछि पछुताउने कति होलान् ? 


ब्याजदरमा सिमांकन, दोहोरो कर्जामा अंकुश, ग्राहक संरक्षण कोषको ब्यवस्था, कार्य क्षेत्र र शाखा बिस्तारसँगै बढ्ने प्रशासिनक खर्चहरु बहन गर्नुपर्ने बाध्यता, आफुले लिएको कर्जाको ब्याज भुक्तानी, अन्य सबल लघुवित्तहरुसँग गर्नुपर्ने प्रतिस्पर्धा, सिमित कार्य क्षेत्र लगायतका कुराहरुले निकै ठूलो भुमिका खेल्नेछन् ।

नकारात्मक नेटवर्थ भएका र खराब कम्पनीहरुको शेयर घट्दो बजारमा घाटा खाएर बेच्छु भन्दा पनि बेच्न मुस्किल पर्नुका साथै कतिपय बैंक तथा बित्तीय संस्थाहरुले धितो स्वीकार गर्न पनि मान्दैनन् । यसो हुँदा तपाइँलाई रकम आबश्यक परेको बेलाको गर्जो टार्न नसकेर छटपटाउनु पर्ने हुन्छ ।

शेयर बजारमा अन्य केही कम्पनीहरु पनि छन् जसको बित्तीय अबस्था अत्यन्त कमजोर भए पनि शेयर मुल्य उचालिएको छ । त्यस्ता कम्पनीहरुको आधारभुत अबस्था बिश्लेषण गरी जोखिम आँकलन गरेर लगानी सुरक्षित गर्ने जिम्मा लगानीकर्ताहरुलाई नै । 

नोटः तथ्यांकहरु सम्बन्धित कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदनहरुमा आधारित छन् । 

 

.................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।