बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स र अनलाईन शेयर कारोबार सुरु भएपछि अहिलेका ब्रोकरको हुनेछ यस्तो हालत

Apr 29, 2016 Merolagani



- मेरोलगानी टिप्पणी

ए हजुर, मेरो कार्यालयमा पाल्नुहोस्, शेयर किन्नुहोस् अनि बेचेरै पैसा दिनुहोस् । शेयर किनबेच गर्दा लाग्ने तोकिएको कमिशन पनि आधा मात्रै दिएहुन्छ । निश्चित रकमको मार्जिन पनि टक्रयाउनेछु  । शेयर कारोबार हुने दिनभर चिसो, तातो र खाजाको पनि ब्यवस्था गरेको छु । लौन, मेरो लाईसेन्स जोगाई दिन पनि हजुर पाल्नै पर्यो ।

माथिको बिलौना र आग्रह पढेर तपाइँ अचम्ममा पर्नुभयो होला तर यो वास्तविकतामा बदलिन अब धेरै समय कुर्नुपर्ने छैन । नेपाल धितोपत्र बोर्डले सुरु गरेको बजार सुधार र बिकासको क्रम यही रुपमा तीब्र बन्दै गयो भने बाणिज्य बैंकहरुको सहायक कम्पनीले शेयर दलाल लाईसेन्स पाउने, नेप्सेको प्रणाली अन्र्तराष्ट्रियस्तरको हुने र अनलाईन शेयर कारोबार सुरु हुँदा अहिलेका ५० मध्ये अधिकांश शेयर दलालहरुले लगानीकर्ताहरुलाई माथिकै जस्तो अनुनय बिनय गर्नुपर्ने अबस्था आउने छ ।

अहिले संचालनमा रहेका अधिकांश शेयर दलालहरुको आर्थिक, भौतिक, प्राबिधिक र जनशक्तिको गुणस्तर मापन गर्ने हो भने उनीहरु बाणिज्य बैंक र स्रोत साधन सम्पन्न शेयर दलाल कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नै नसक्ने अबस्थामा छन् । केही शेयर दलाल कम्पनीहरु करोड भन्दा माथिको नेटवर्थ बनाएर अगाडि बढे पनि अधिकांश २० लाख रुपैयाँकै सेरोफेरोमा रहँदा बढ्दो शेयर बजारको आबश्यकतालाई उनीहरुले पुरा गर्न सक्ने छैनन् । अनलाईन प्रणालीको सुरुवातपछि घरैमा बसेर लगानीकर्ताले कम्प्युटर, ल्यापटप र मोबाईलबाट शेयर किनबेच गर्ने, शेयर किन्दा तत्कालै बैंक खाताबाट रकम काटिने र डिम्याट खातामा ढिलोमा भोलिपल्ट शेयर जम्मा हुने भयो भने कुन चाँही लगानीकर्ता शेयर दलालको कार्यालयको अहिलेको जस्तो भीडभाडमा  जाला र ?

अहिलेका रुग्ण शेयर दलालहरुले आफ्नो अबस्था तीब्र रुपमा सुधार गरेनन् भने उनीहरु भोलि आफन्तको मात्र शेयर खरिद बिक्री गर्ने प्राईभेट कम्पनीमा सिमित हुने निश्चित छ । केही दलालहरु प्रबिधिलाई आत्मसात गर्दै अगाडि बढ्ने र लगानीकर्तालाई सुबिधा दिलाउने काममा अग्रसर हुन खोजे पनि उनीहरुको प्रयास निकै अपर्याप्त देखिएको छ ।

अनलाईन ट्रेडिड.का लागि बैंक खाता, डिम्याट खाता र शेयर कारोबार गर्ने दलालको खातालाई जोड्नुपर्ने हुन्छ, यसो गर्न अहिले ब्रोकरमा रहेको बेथितिले साथ दिदैन भन्ने स्पष्ट छ । 

अभौतिक र स्वचालित कारोबार प्रणालीको सफल कार्यान्वयन भईसक्दा पनि हप्तौ दिनसम्म शेयर किन्ने लगानीकर्ताको खातामा शेयर जम्मा नगरिदिने, शेयर बेचेको पैसा चार कार्य दिनमा सम्बन्धित लगानीकर्तालाई भुक्तानी गर्नुपर्ने अनिबार्य ब्यवस्था भएपनि अनेक झण्झट देखाएर साता भन्दा बढी दिनसम्म लगानीकर्ताको पैसा रोक्ने केही शेयर दलालहरुलाई नेपालको शेयर बजार आधुनिकीकरण हुँदै गएको पटक्कै मन नपरेको हुनसक्छ । उनीहरुले पुहँचवाला ब्यक्तिहरुलाई उचालेर नेप्सेको पुरानो प्रणाली विस्थापन, बाणिज्य बैंकहरुलाई शेयर दलाल लाईसेन्स दिलाउने प्रयास, क्लियरिडं बैंकको संख्या थप, ब्रोकर कमिशन घटाउने लगायतका युगान्तकारी परिवर्तनका प्रयासहरुलाई रोक्ने प्रयास गरेका हुनसक्छन् ।

अहिले केही शेयर दलालहरुको कार्यालयमा सामान्य लगानीकर्ताले शेयर किन्न, बेच्न खोज्दा दलालले चासै नदिने, बजार बढेको बेला बेच्न नपाउने र घटेको बेला किन्न नपाउने अबस्था बिद्यमान रहेको देखापर्छ । लगानीकर्ताले हातमा पैसा र शेयर राखेर पनि किनबेच गर्न नपाउनु कस्तो बिडम्बना ? कतिपय ब्रोकरहरुको कार्यालयमा ठूला खेलाडी र लगानीकर्ताको मात्र किनबेच हुने गर्छ । किनबेच गर्ने कम्प्युटरमा ठूला लगानीकर्ताले सिधै कारोबार गरिरहेका हुन्छन् भने साना लगानीकर्तालाई दश हात परै राखिन्छ । लगानीकर्तालाई समान पहुँच दिलाउने दायित्वबाट उनीहरु किन बिमुख हुँदैछन् ? के उनीहरु ठूला करदाता कार्यालय भने जस्तै ठूला लगानीकर्ताका शेयर दलाल हुन् ?

अहिले केही शेयर दलालको कार्यालय भ्रमण गर्ने हो भने पूर्वाधारको अबस्था अत्यन्त कमजोर मात्रै छैन, कर्मचारी पनि छैनन् । लगानीकर्तालाई शेयर किनिएको र बेचिएको जानकारी दिन उनीहरुले ईमेलको समेत प्रयोग गर्न नसक्ने पूर्वाधार छ भने उनीहरुले उपत्यका बाहिर शाखा खोलेर दुरदराजका लगानीकर्तालाई गुणस्तरीय सेवा पुर्याउँलान् भनेर कसरी पत्याउने ? आफ्नो हुत्तिले नभ्याएपछि उपत्यका बाहिर जाने बहानामा शाखा बेच्ने प्रयास गर्नेहरु त्यसबाट उत्पन्न हुने जोखिम बहन गर्न सक्षम छन् भनेर कदापी मान्न सकिन्न ।

जलबिद्युत लगानी तथा बिकास कम्पनी र माथिल्लो तामाकोशीको शेयर दोस्रो बजारमा आउने बित्तिकै नेपालको शेयर बजारको आकार अरु फराकिलो बन्ने छ भने पूर्वाधार क्षेत्रका कम्पनीहरु सूचीकृत भएमा बजार पूँजीकरण कहाँ पुग्ला अनुमानकै कुरा हो । बजार यसरी बिस्तार हुने संभावना हुँदाहुँदै पनि केही सिमित दलालकै पन्जाबाट बजार बाहिर आउन नसक्नु बिडम्बना नै हो । 

बाणिज्य बैंकहरुलाई दलाल लाईसेन्स दिलाउने प्रयासमा बाधा सिर्जना गरेर बजारमा एकलौटी तर् मारिरहेका शेयर दलालहरु ब्रोकर कमिशन घटाउने कुरामा समेत तगारो बनिरहेका लगानीकर्ताहरुको आरोप छ । संसारमै चर्को ब्रोकर कमिशन असुलेर नेपालका शेयर दलालहरु दैनिक एकलाख भन्दा बढी आम्दानी गरिरहेका छन् । तर त्यो कमिशन दर घटायो भने कारोबार रकम झन् बढ्छ र कमाई धेरै हुन्छ भन्ने तत्व ज्ञान उनीहरुलाई हुन सकेको छैन । नेपालको शेयर बजारलाई ब्यवस्थित गर्न नयाँ र सक्षम शेयर दलाल कम्पनीहरु पर्याप्त पूँजी, प्रबिधि र जनशक्तिका साथ भित्र्न्छन् र त्यसले बजारको आकार तथा गुणात्मक बृद्धिमा सहयोग गर्छ भने सिमित स्वार्थ भएकाहरुको घेराबन्दीबाट बाहिर निस्केर त्यसलाई स्वागत गर्नेपर्छ ।

एउटा शेयर दलाल कम्पनी छ । उ हरेक महिना जसो नेप्से र धितोपत्र बोर्डको कारबाहीमा परिरहेको हुन्छ । त्यो लगानीकर्ताको कारणले कारबाहीमा परेको हैन, त्यसैका संचालकहरुले भित्री कारोबार गर्दा तोकिएको रकम र कागजात बुझाउन नसकेपछि कारबाहीमा पर्ने गरेको स्पष्ट छ । यस्ता शेयर दलाललाई खारेज गरेर नयाँ आउन चाहने सक्षम कम्पनीहरुलाई बाटो किन खुला नगर्ने ?

सार्क देशमा पर्ने बंगलादेशको उदाहरण हेर्ने हो भने त्यहाँ २५० भन्दा बढी शेयर दलाल छन्, त्यहाँको शेयर बजार पनि यहाँको जस्तै भारतीय सहयोगमा बिकास र बिस्तार भएको हो । बंगलादेशमा त्यति धेरै दलाल हुन हुने, यहाँ चाँही सक्षम बाणिज्य बैंकहरुलाई छिर्न नदिने, नागरिक लगानी कोषले डिलरशीप र मार्केट मेकरको काम गर्छु भन्दा तगारो हाल्नैपर्ने ?

धितोपत्र बोर्डले बम्बई स्टक एक्सचेन्ज र ढाका स्टक एक्सचेन्जको अवलोकन भ्रमण गराएर शेयर दलालहरुलाई बजार बिस्तार र बिकासको तत्वज्ञान दिलाउने प्रयास गरेको छ । यहाँका ब्रोकरहरु किन त्यो अबलम्बन गर्न चाहँदैनन् भन्ने कुरा रहस्यमय छ ।

नेपाल धितोपत्र बोर्डले अन्र्तरािष्ट्रय बजारमा टेष्टेड नयाँ प्रणाली जडान गर्न नेपाल स्टक एक्सचेन्जलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । यसमा नेपालीले नै बनाएको प्रणाली किन्ने कि बिश्व बजारमा परीक्षण भईसकेको टेष्टेड प्रणाली ल्याएर गैरआवासीय नेपाली र बिदेशी पनि नेपालको शेयर बजारमा भित्र्नसक्ने, बिश्वको कुनामा होस् वा नेपालकै कुनै पहाडको टाकुरामा बसेर ईन्टरनेटको सहायताले शेयर कारोबार गर्नसक्ने भरपर्दो अबस्था बनाउने ? बिबादको जड यहीं नै रहेको मान्न सकिन्छ । कसको स्वार्थले जित्ने हैन, नेपालको पूँजी बजारको आबश्यकता के हो भन्ने कुरा महत्वपूर्ण हो । दलालको स्वार्थ सर्वोपरी हैन, लगानीकर्ताको हित सर्वोपरी हो । सरकारले तत्काल यसमा हस्तक्षेप गरेर अनलाईन शेयर कारोबारका लागि पूर्वाधार निर्माण गर्न तत्काल चासो दिनुपर्छ ।

नेप्सेले केही समय अघि शेयर दलालहरुको कार्य क्षेत्र देशभर फैलाउने एकलौटी निर्णय गरेपछि धितोपत्र बोर्डले रोक्नुको कारण पनि बिबेचनायोग्य रहेको देखिन्छ । सिमित पूर्वाधार, पूँजी र जनशक्तिको भरमा काठमाडौकै कारोबार ब्यवस्थित गर्न नसकेका ब्रोकरहरुलाई जिल्ला जिल्लामा शाखा खोलेर काम गर भन्नु बोकाको मुखमा कुभिण्डो जस्तै हो भन्ने स्पष्ट छ । त्यसैले कि अहिलेका ब्रोकरहरुले आफ्नो क्षमता बिकास गरेर शेयर बजारको आधुनिकीकरणमा सहायक बन्नुपर्यो, हैन भने बाटो खुला गर्नुपर्यो, सक्षम कम्पनीहरु आएर स्थिति सम्हाल्ने छन् ।

कागजी प्रमाण पत्रको शेयर किनबेच युग समाप्त भएर नेपालको धितोपत्र बजारले आधुनिकीकरणको फड्को मार्दै गर्दा मार्केट डेब्थ पनि लगानीकर्ताले हेर्न पाउने ब्यवस्था भएपछि दलालहरुले लगानीकर्तालाई मुर्गा बनाउने युग पनि समाप्त भएको छ । आफैले सस्तोमा किनेर राखेको शेयर महंगोमा लगानीकर्तालाई आफैले भिडाएर दोहोरो नाफा र कमिशन खानेहरुलाई पनि नयाँ ब्यवस्थाले छटपटीमा पारेको हुनसक्छ । तर बजार सुधारको प्रयास रोकिनुहुन्न र नेपाल धितोपत्र बोर्ड अझै सशक्त भएर अगाडि बढ्नुपर्छ । यसमा नेप्से र सीडीएससी जस्ता सरकारी निकायहरु पनि बाधक हैन, साधक र सहयोगी हुनु अपरिहार्य छ । सबै ब्रोकर खराब छैनन् । राम्रा ब्रोकर कम्पनीहरु पनि धितोपत्र बजार बिस्तार, बिकास र सुधारमा सहयोगी बन्नैपर्छ । 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...................................................................................................................................................................




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।