ज्वाईन्ट भेन्चर भएकाले हकप्रद हाम्रा लागि उत्तम बिकल्प हो - ज्ञानेन्द्र ढुङ्गाना, प्रमुख कार्यकारी, एनबी बैंक

Jun 08, 2016 Mero Lagani

नेपाल बंगलादेश बैंक(NBB)को शेयर कारोबारमा पछिल्ला दिनहरुमा तीब्रता आउनुका साथै मूल्य समेत बढेपछि लगानीकर्तामा त्यस बैंकप्रतिको चासो ह्वात्तै बढेर गएको पाईएको छ । एकैदिन २९ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएपछि मेरोलगानी डटकमले नेपाल बंगलादेश बैंकमा के हुँदैछ भन्ने बारेमा  त्यस बेंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानासँग कुराकानी गरेको छ । प्रस्तुत छ, मेरोलगानीका परमेश्वर अधिकारीले गरेको कुराकानी । 

झण्डै धरासायी भएर राष्ट्र बैंकले सुधारेको नेपाल बंगलादेश बैंकको अहिलेको समग्र अवस्था कस्तो छ ?

धेरै पुरानो कुरा सम्झाउनु भयो तपाईले ।, हामीले त करिब करिब यो कुरा बिर्सिसकेका थियौं । चार पाँच वर्षदेखि हेर्ने हो भने हामी सबै सुचांकमा राम्रो सुधार गर्ने बैंकमा पर्छौं । अहिले हामी विल्कुल स्वस्थ, सुदृढ र सबल बैंक बनिसकेका छौं । यो वर्षदेखि खुद नाफाका आधारमा हामी अर्बपतिको सूचीमा प्रवेश गर्दैछौं । निक्षेप र कर्जा प्रवाह यो अवधिमा ४० प्रतिशतको हाराहारीमा बढेको छ र अझै यो वृद्धिलाई निरन्तरता दिने लक्ष्य छ । २९ बैंक मध्ये हामी शिर्ष १० स्थानमा छौं । लगानीकर्ताले बैंकमा लगानी गर्न कुनै संकोच मान्नु पर्दैन ।

 

एनबी ग्रुप कै कारणले यो बैंक बिग्रिएको थियो भन्ने बुझाई छ, अहिले एनबी ग्रुपको स्वामित्वको अवस्था के छ ?

इन्साइडर ल्याण्डिङ समयमा उठ्न नसकेका कारण विगतमा बैंकमा समस्या देखिएको हो । त्यस पछि राष्ट्र बैंकले २ अर्ब बढी त्यस्तो कर्जा उठाइसकेकोमा  म आए पछि थप डेढ अर्ब जति ऋण उठ्यो । यो दौरानमा हाम्रो पुरानो २६ प्रतिशत संस्थापक शेयर स्थानीयबाट विदेशीमा रुपान्तरण भयो । त्यो हिस्सा आईएफआईसी बैंकमा गयो, जुन पैसाबाट हामीले बैंक समस्यामा पर्दाको अरु खराब कर्जाको अवस्था सुधार्न सक्यौं । अहिले हाम्रो बैंकमा ४१ प्रतिशत आईएफआईसी बैंक, ४९ प्रतिशत सर्वसाधारण र ९ प्रतिशत स्थानीय संस्थापकहरुको स्वामित्व छ ।

८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकहरु मर्जर तथा एक्विजिशनमा गैरहेका छन्, ठुलो परिमाणमा हकप्रद पनि निष्काशन गर्दै छन् तर तपाईको बैंक त चुप चाप बसिरहेको छ नि ?

(लामो हाँसो)

हाम्रो बैंक चुप लागेर बसेको छैन । हामी आन्तरिक गृहकार्य गरिरहेका छौं । एउटा सत्य के हो भने अरु बैंकभन्दा ज्वाइन्ट भेञ्चरमा रेहका बैंकको अवस्था फरक छ । ज्वाइन्ट भेञ्चर बैंक भएको मुलुकको केन्द्रिय बैंकको स्वीकृति अनिवार्य भएकै कारण पनि पूँजी वृद्धि योजना कार्यान्वायन गर्न अलि धेरै समय लागेको हो । यो अवस्था अरु ज्वाइन्ट भेञ्चर बैंकहरुमा पनि देखिएको छ । राष्ट्र बैंकमा बुझाएको पूँजी वृद्धि योजनामा मर्जर, हकप्रद र बोनसबाट ८ अर्ब पुर्याउने भनिएको छ । तर मर्जर र एक्विजिशन सजिलो देखिएन, चालेका प्रकृयाहरु पनि सफल हुन सकेनन् । तर हामी राष्ट्र बैंकले तोकेको समयमा नै पूँजी पुर्याउँछौं ।

ठुलो मर्जर हुनका लागि धेरै अप्ठेराहरु छन् । साना मर्जरको विकल्प भए पनि हकप्रद हाम्रो अहिलेको उत्तम विकल्प हो । यसका लागि ज्वाइन्ट भेञ्चर साझेदारहरु तयार हुँदा प्रकृया पनि सहज हुने अवस्था छ । दुबै विकल्पमा काम भैरहेको छ, यस बाहेक मैले धेरै कुरा अहिले खुलाउन मिल्दैन । केही समयमा तपाईले यसको जानकारी पाउनु हुन्छ ।

ग्लोबल आइएमई बैंक, रिलायबल डेभलपमेण्ट बैंकसंगको प्रयास सफल हुन सकेन नि ? फेरि मर्जरको कुरा आउला र ? 

मैले भन्न मिल्ने भनि सके, साझेदार मिलेको खण्डमा अझै मर्जर हुन सक्छ । तर मर्जरमा जाँदा ज्वाइन्टभेञ्चर पार्टनरको चाहना हेरेर उनीहरुको स्वामित्व नघट्ने गरि पूँजी बढाउनु पर्ने हुन्छ भने कम्तीमा यस्ता साझेदारको २० प्रतिशत हिस्सा रहनु पर्ने व्यवस्थाले पनि ठुलो मर्जर अलि अफ्ठेरो  विकल्प हो । तर हकप्रदमा जाँदा त बैंकको स्वामित्वको संरचनामा कुनै परिवर्तन आउँदैन, यो हिसावले हामी छिट्टै नै हाम्रो उचित विकल्पको निर्णय बाहिर ल्याउँछौं ।

अहिले बंगलादेश बैंकले हकप्रद ल्याउँछ भन्ने हल्लामा तपाईहरुको बैंकको शेयर कारोबारमा धेरै चाप देखिएको छ नि ?

हामी धेरै पारदर्शी छौं जसले गर्दा लगानीकर्ताहरुले पनि हाम्रा सम्भावित विकल्पहरुलाई अन्दाज गर्नु भएको हुन सक्छ । बजार धेरै संबेदनशील  हुँदै गर्दा सुचनाको पहुँचमा भएको सहजताले हाम्रो वित्तीय अवस्था हेरेर लगानीकर्ताले अब बैंकले के गर्छ भन्ने सम्म खुट्याउन सक्ने अवस्था देखिएको अवस्था हो । बजारले कुनै पनि संस्थाले अब के गर्छ भन्ने अन्दाज गर्न सक्ने हुँदा हाम्रा मर्जरका केही प्रयासहरु सफल हुन नसक्दा छोटो समयमा पूँजी बढाउन बैंकले हकप्रद निष्काशन गर्छ भन्ने आशा बजारले गरेको छ । र यो सत्य पनि हो । तर निर्णय नआउञ्जेल त हामीले यसै गर्छौं भन्न मिलेन नि । यति हुँदै गर्दा बजारले आफैं यस्ता विषय खुट्याउनु स्वभाविक हो ।

लगानीकर्ताको धेरै अपेक्षा भएको विषय मंगलबारको कारोबारले देखाई सक्यो, बैंकको चौथो त्रैमास कस्तो होला ?

अहिले हकप्रद निष्काशनको तयारीमा रहेका सिटिजन्स, सानिमा लगायत बैंकहरुको कारोबार बुलिस ट्रेण्डमा छ । हकप्रद १ सय रुपैंयामा नै दिनु पर्ने बाध्यात्मक अवस्थाले लगानीकर्ताले त्यसबाट राम्रो फाइदा लिने सोच बनाउनु स्वभाविक हो । जसको चाप अहिले हाम्रोमा पनि देखिएको जस्तो लाग्छ । वित्तीय रुपमा भन्नु पर्दा तेस्रो त्रैमासमा ७० करोड खुद नाफा कमाएको बैंक असार मसान्तसम्ममा १ अर्ब बढी नाफा कमाउने लक्ष्य लिएको छ । ३ अर्ब ३ करोडको बैंकले १ अर्ब बढी नाफा कमाए पछि राष्ट्र बैंकले कुनै पनि हालतमा हामीलाई नगद लाभांस दिन सहजीकरण गर्दैन । मैले यो भन्नुको तात्पर्य यो हो कि  चालु आर्थिक वर्षमा कति बोनस दिन सक्छ र कति दिन्छ भन्ने आंकलन लगानीकर्ताले गरिसकेका छन् । यो विकल्प पनि खुल्ला छ, जसलाई मैले धेरै खोतल्नु पर्दैन ।

तपाइँको कुरा बुझ्दा हकप्रद आउने कुरा त निश्चित भयो तर प्रिमियममा पो हकप्रद आउने हो कि ? 

अन्तर्राष्ट्रिय चलन प्रिमियिम नै हो, अहिलेको नियम कानुनले त्यो मार्ग नदिएका कारण ढिलाई हुने भएकाले त्यो विकल्पमा जान सकिएन । यसले हाम्रो आम्दानी पनि बढ्थ्यो तर अब त्यो सम्भव भएन ।

बंगलादेशी साझेदारहरुले लगानी थप्ने अनि बैंकको सञ्जाल अन्तर्राष्ट्रिस्तरमा फैलाउने सम्बन्धमा के हुँदैछ ?

यो विषय विगतमा नै सम्झौता भैसकेको विषय हो । यहाँका स्थानीय संस्थापकहरुको बाँकी रहेको हिस्सा पनि बंगलादेशी साझेदारहरुले किन्ने विषय छलफलमा छ र मेरो बिचारमा किन्ने र बेच्नेका बिचमा मुल्य कति हुने भन्ने छलफल चलिरहेको हुनु पर्छ । यो विषय मिल्यो भने विदेशी साझेदारको हिस्सा स्वतः बढ्छ । त्यस पछि ८ अर्ब पूँजी पुगे पछि अन्तर्राष्ट्रिस्तरमा सञ्जाल बिस्तारका कामहरु अघि बढ्छन् ।

बैंकहरुले उत्पादन क्षेत्रमा लगानी नबढाएको विषय अहिले चर्चामा छ, तपाईको बैंकले के गरिरहेको छ ?

बैंकहरुले उत्पादन क्षेत्रमा लगानी नगरेको र बिस्तार गर्न नचाहेको हैन । राष्ट्र बैंकको निर्देशन छ र हामीले गर्नै पर्छ । हाम्रो बजारमा यो शिर्षकमा ऋण नै नखोजिएका कारण यस्तो अवस्था देखिएको हो । जबरजस्ती यो क्षेत्रमा ऋण लगानी गरेर हामीले खतरा मोल्नु त भएन नि । बैंकले नचाहेको वा नदिएको हुँदै हैन । भूकम्प, नाकाबन्दीका कारण पनि यो क्षेत्रमा ऋणको माग नआएको हो । घरेलुमा दर्ता भएका तथा जलविद्युत आयोजनाहरुमा त अहिले लगानी सामान्य बन्दै गैसकेको छ । उत्पादन क्षेत्रका उद्योगहरु तराइमा भएका कारण त्यहाँ समस्या हुँदा अवस्था सामान्य बन्न नसकेको अवस्था हो । यसमा सुधार भएर ऋणको माग आउने हाम्रो अपेक्षा छ ।

अहिले तरलता सामान्य अवस्थामा आउँदै गर्दा लगानी के मा चैं भएको हो त ? पैसा कहाँ गइरहेको छ ?

अस्थायी रुपलाई आधार मान्ने हो भने अहिले केही हदसम्म शेयर बजार र घर जग्गा कारोबारमा लगानी थुप्रिएको देखिएको छ । भूकम्पका कारण केही समय घर जग्गामा कारोबार हुने समय थिएन अहिले सुधार हुँदै गर्दा र शेयर बजारको नियमित कारोबारलाई आधार मान्दा तरलता व्यवस्थापनमा यी २ क्षेत्रले ठुलो काम गरेको देखिन्छ । तर अरु लगानीका क्षेत्र सामान्य अवस्थामा फर्किन थाले पछि लगानी सबैतिर छरिने निश्चत छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने कुरालाई कसरी लिन भएको छ ?

प्रमाणपत्रलाई सुरक्षा मान्ने हो, घर जग्गा जस्तै । तर त्यसका पछि त ऋण पाउनका लागि त उसंग कर्जाको सदुपयोग गर्ने सबै योजना अनि त्यसले दिने प्रतिफलको खाका त हुन पर्यो नि । शैक्षिक प्रमाणपत्र भएकै आधारमा ऋण पाउने भन्ने हुनै सक्दैन, त्यो धितो राखे पनि कर्जा असुल हुनुका साथै उसको आम्दानी पक्का हुने व्यवशायिक योजना आउँछ र हामी त्यसमा सहमत भयौं भने कर्जा दिन सकिन्छ । तर यसका लागि केही निर्देशन अनि कार्यविधि लगायतका कुरा आउलान अनि मात्र यसरी जाने भन्न सकिन्छ । एउटा कुरा के हो भने प्रमाणपत्र राखेर जसो तसो ऋण लिन्छु अनि भटटी पसलमा गएर खर्च गर्छु भन्ने मानसिकता चै विलकुल गलत कुरा हो ।

आर्थिक सर्वेक्षणले शहरी क्षेत्रमा मात्र बैंकले सेवा बिस्तार गरेको देखायो, दुर्गममा यो जरुरी नभएको कि बैंक त्यहाँ जान नचाहेका हुन् ?

प्रतिशतका आधारमा अनेक कारणले शहरमा शाखाहरु धेरै हुनु एउटा विषय भए पनि पछिल्ला केही वर्षमा मुलुकका दुर्गम तथा दुरदराज क्षेत्रमा वित्तीय पहुँच बढेको कुरा नकार्न सकिन्न । हाम्रो नै कुरा गर्ने हो भने दार्चुलादेखि भोजपुर अनि ताप्लेजुङदेखि सल्यानसम्म बिस्तारित भएको अवस्था छ । राष्ट्र बैंकको निर्देशनले कतिपय जिल्ला अनि क्षेत्रमा अनिवार्य रुपमा शाखा खोलेर मात्र अरु क्षेत्रमा जान पाइने भनेका कारण पनि यसमा सुधार आएको हो । यति भन्दै गर्दा बत्ती, इन्टरनेट र सडक नभएको स्थानमा चैं आजका मितिमा बैंकको शाखा सञ्चालन सम्भव छैन । तर एजेण्ट, शाखा रहित काउण्टरबाट पनि सेवा प्रदान भैरहेका छन् । अब ग्रामिण केन्द्रित वित्तीय सेवाका लागि नीतिगत व्यवस्था गर्ने लगायतका काम गर्नुपर्ने देखिन्छ । त्यसै अनुरुप प्रोत्साहित पनि गर्नु त पर्यो नि, बजार बिस्तार अनि लागतमा सहयोग पाउने हो भने पक्कै बैंकहरु अझै दुरदराजसम्म जान सक्छन् ।

तपाईको अनुभवमा नेपालका बैंकहरुको अहिलेको अवस्था कस्तो हो ?

अहिले बैंकहरुको अवस्था राम्रो छ । बजारको आकार बढेको आधार, रेमिट्यान्सबाट रकम भित्रिने क्रमको वृद्धि, उपभोग्य क्षेत्रमा कारोबार बढेको, घर जग्गा, जलविद्युत आयोजना, सिमेन्टका ठुला आयोजना लगायतले आर्थिक कृयाकलाप अनि लगानीका विषय फराकिलो बन्दै गइरहेको अवस्था छ । यसले पब्लिक क्षेत्रमा बैंकहरु पारदर्शी, दिगो, विश्वसनिय भएका कारण पनि बैंकहरु मजवुत छन् भन्ने मेरो बुझाई हो । २ अर्बबाट एकै पटक ८ अर्ब पुँजी बनाउने क्रममा ३० वटा वाणिज्य बैंक २० वटामा समेत नझर्ने अवस्थाले पनि यसलाई पुष्टि गर्छ । बैंकहरुको भविष्य अझै राम्रो हुने देख्छु ।

प्रमुख कार्यकारी र सञ्चालकको कार्यकालको विषयमा गर्न लागिएको नयाँ व्यवस्थाका सम्बन्धमा तपाईको धारणा के हो ?

कार्यकाल नतोकी एउटै व्यक्ति संस्थामा निरन्तर रहिरहँदा कर्पोरेट गभर्नेन्समा त्यति उचित नहोला कि भन्ने मेरो बुझाई हो । राष्ट्र बैंकले पनि यहि कुरालाई ध्यानमा राखेर नयाँ व्यवस्था गर्न खोजेको हो । प्रमुख कार्यकारीका सम्बन्धमा पाँच पाँच वर्षका दरले १० वर्षको अवधि उचित छ जस्तो मलाई लाग्छ । एउटा बैंकलाई कसरी अघि बढाउने भन्ने योजना कार्यान्वायन गरेर नतिजा देखाउनका लागि पनि यति समय आवश्यक हो भन्ने मेरो बुझाई हो । लगानीकर्ता तथा सञ्चालकको पाटोबाट हेर्दा विषय अलि फरक होला, आफुले गर्ने लगानीको पनि कुरा छ । कार्यकाल नतोकिने कुराका राम्रा र नराम्रा दुवै कुरा उत्तिकै हुन्छन् । तर केही सीमा तोकिनु पर्छ भन्ने कुरा पनि ठिक हो । अब सांसदहरुले सञ्चालकको कार्यकाल तोक्दा र नतोक्दा देखिने राम्रा अनि नराम्रा कुराहरुको मुल्यांकन गरेर नै अहिले कार्यकाल नतोक्ने प्रस्ताव गर्नु भएको होला । प्रकृया के हुन्छ त्यो त हेर्न बाँकी छ नि ।

संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न सकिने व्यवस्थाको प्रस्तावबाट लगानीकर्तालाई असर पार्छ कि पार्दैन ?

अनिवार्य रुपमा संस्थापक शेयर साधारणमा रुपान्तरण गर्नु पर्ने भन्ने कुरा हैन नि, लगानीकर्ताले यो विषय बुझ्न पर्यो । अहिले संस्थापक ७० र सर्वसाधारणको ३० प्रतिशत हुनु पर्ने व्यवस्था छ, तर धेरैले ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको हिस्सा बनाएका छन् । यो बैंकले चाहेर रुपान्तरण भएको हो, अनिवार्य रुपान्तरण भएको हैन । र अहिलेको तातो प्रसंग लागू भए पनि सबै बैंकले भटाभट संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गर्नु पर्ने भन्ने हैन, चाहेको खण्डमा रुपान्तरण गर्न सक्ने भन्ने मात्र हो । यस्तो अवस्थामा लगानीकर्ता अहिले नै प्यानिक हुनु पर्ने अवस्था म देख्दिन, कारण हरेक काम गर्न समय लाग्छ र विकल्प मात्र हो भन्दा हामी आत्तिनु पर्ने कुरै छैन । फेरि १० वर्षको समयमा बैंक त पुर्ण रुपमा सबल भैसकेको हुन्छ नि । राष्ट्र बैंकले बजारको अवस्था हेरेर यो व्यवस्था ल्याउन खोजेको हो । उसको लक्ष्य बजार बिगार्ने भन्ने हैन र यो लागू भएमा बजार अझै सुदृढ हुने मेरो अपेक्षा हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

अफ्टेरो समयमा मौद्रिक नीति आएर ८ अर्बको पूँजी अनिवार्य भन्दा एक पटक हामी आत्तिएकै हो । अहिले हेर्दा त्यो ८ अर्ब नै थोरै थियो कि जस्तो भैसक्यो । राष्ट्र बैंकले दिर्घकालिन सोचले योजना ल्याएको हो भन्ने त सबैलाइ महसुस गरायो नि । भूकम्प नाकाबन्दीका बावजुद पनि हाम्रो अर्थतन्त्र जसरी अहिले चलायमान भैरहेको छ अनि बैंकहरुले बिना कुनै असर जसरी आफ्नो काम गरिरहेका छन्, यसले आगामी दिनमा बैंकहरुलाई अझै सबल बनाउन सक्ने आधार देखिएको छ । मौद्रिक नीतिमा गरिएको केही व्यवस्थाले नै यो समस्याको बेला हामी प्रभावित हुन परेन । ठुला आयोजना अनि लगानीका क्षेत्रलाई अहिलेको बजेटले केन्द्रमा राखेको सन्दर्भमा हाम्रो अर्थतन्त्र भूकम्प र नाकाबन्दीको असरबाट अब मुक्त हुँदै गर्दा भोलिका दिनमा अघि बढ्न सहज हुने देखिन्छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अपेक्षा के हो ?

यस पटक हाम्रो जिडिपी खुम्चिएको र इन्फ्लेशन बढेको अवस्था छ । यसले एक्स्प्लानेशनरी मौद्रिक नीति नै आउनु पर्छ भन्ने मेरो अपेक्षा हो ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।