शेयर कारोबार समय बढाउने गृहकार्यमा छौः सिताराम थपलिया, महाप्रबन्धक, नेप्से

Jul 03, 2016 Merolagani



नेपाल स्टक एक्सचेन्ज ( नेप्से) का महाप्रबन्धक सिताराम थपलिया शेयर बजार बुझेका प्रशासक मध्येमा गनिन्छन् । उनले नेप्सेको नेतृत्व सम्हालेपछि नेपालको शेयर बजारलाई अभौतिक गराउनेदेखि शेयर कारोबारमा राजधानी बाहिरका सर्बसाधारणको बर्षौदेखिको पीडा कम गराउनेसम्मका थुप्रै नीतिगत कामहरु भएका छन् । तर पछिल्लो समयमा नेप्से किन सुस्त भयो त  ? प्रस्तुत छ, थपलियासँग मेरोलगानीले गरेको कुराकानी ।

 

 

नेप्से बढेपछि अहिले शेयर बजारबारे देशब्यापी लहर सिर्जना भएको छ, राजधानीमा रहेका शेयर दलालहरुको कार्यालयमा लगानीकर्ताको थामिनसक्नु भीड छ भने जिल्ला जिल्लामा पनि शेयर कारोबारमा संलग्न हुन नपाउँदा सर्बसाधारणमा छटपटी छ । शेयर दलालहरुलाई जिल्ला जिल्लामा पठाएर लगानीकर्ताहरुलाई कहिले राहत दिनुहुन्छ ?

 

नेप्सेले देशब्यापी रुपमा ब्रोकर कम्पनीहरुलाई पुर्याउनुपर्छ भनेर म आएपछि सबभन्दा पहिले धरानमा,ब्रोकर रिमोट वर्कस्टेशन कार्यालय पुर्यायौ । त्यसपछि धनगढीमा  पनि रिमोट वर्कस्टेशन खोल्यौं । हामीले ब्रोकरहरुलाई देशब्यापी रुपमा जान प्रोत्साहित गर्ने गरी कार्ययोजना नै बनाएर काम गरिरहेका थियौ । हिमालदेखि तराईसम्म, पूर्बदेखि पश्चिमसम्म पुग्ने गरी गृहकार्य सुरु गरेका थियौ ।

 

अहिले रिमोट वर्क स्टेशन खोलिएका स्थानहरुलाई सुगमको हिसावले क बर्गमा राखेर, वर्क स्टेशन नखोलिएका तर सुगम र ब्यापारको बढी अवसर भएका ठाउँलाई ख, ब्यापारको संभावना कम भएका र दुर्गम जिल्लाहरुलाई ग मा राखेर ब्रोकरहरुलाई पठाउने कार्ययोजना बनेको थियो । यसमा राष्ट्र बैंकले जसरी शाखाहरु बिस्तारका लागि जिल्लाहरुको बर्गीकरण गरेको थियो, हामीले पनि त्यसरी नै गरेका थियौं ।


हामीले स्पष्ट योजना बनाएर धितोपत्र बोर्डसँग छलफल गरेका थियौं । धितोपत्र बोर्डले रिमोट ब्रोकरेज सर्भिस र ब्रोकर संख्या नै थप्ने बारेमा स्टक एक्सचेन्जले अध्ययन गरोस भन्ने निदेैशन प्राप्त भयो । हामी त्यही अध्ययनको क्रममा छौ । एउटा कार्यदल नै बनाएर काम गरिरहेका छौ । ब्रोकर संख्या लगायतका बिषयमा त्यो कार्यदलले प्रतिबेदन दिएपछि त्यसबारेमा छलफल गरेर अगाडि बढ्छौ ।

 

बाणिज्य बैंकलाई पनि ब्रोकर लाइसेन्स दिने बारेमा चाँही के सोचाई छ ?


यसमा पनि कार्यदलको प्रतिबेदन आएपछि हामी छलफल गरेर निचोडमा पुग्छौ । मुख्य कुरा कति ब्रोकर चाहिने, गुणस्तर कस्तो हुनुपर्ने भन्ने हो ।

 

बाहिर गएका ब्रोकरहरु पनि राम्ररी चल्न सकेका छैनन्, दयनीय अबस्थामा छन् र लगानीकर्ताले राम्रो सेवा पाएका छैनन् भन्ने गुनासो पनि आएको छ नि ?

पहिला तपाइँले भने जस्तै समस्या थियो । कागजी प्रमाणपत्रको कारणले केही समस्या आयो । कागजी प्रमाण पत्रको हस्ताक्षर प्रमाणिकरणको सवाल, काठमाडौ पठाउँदा हराउने समस्या आदि थिए । तर अहिले पूर्ण डिम्याट लागु भएपछि  बाहिर खुलेका रिमोेट वर्क स्टेशनले राम्रो काम गरिहेका छन् । पछिल्लो पटक धनगढीमा खुलेको रिमोट वर्क स्टेशनलाई हेर्नुस, धेरै राम्रो काम गरिरहेको छ । हामी धनगढी जाँदा नै धेरै उत्साह त्यँहा देख्यौं । अहिले सबै ब्रोकरका रिमोट वर्कस्टेशनहरुले राम्रो काम गरिरहेका छन् ।

अब नयाँ खुले भने  धेरै राम्रो अबसर लगानीकर्ताले पाउनेछन् । अहिले लगानीकर्ताहरुमा जुन उत्साह छ, नयाँ वर्क स्टेशनहरु खुले भने त्यो थप बढ्छ र जिल्ला जिल्लामा उनीहरुले सुबिधा पाउने छन् । पूँजी बजार बिकासका लागि ठूलो सहयोग पुग्नेछ भन्ने लागेको छ ।

 

ब्रोकर कमिशन घटाउने बारेमा चाँही के काम भईरहेको छ ?


ब्रोकर कमिशन घटाउने बारेमा नेप्से पनि सम्बद्ध छ भनेर धेरैतिरबाट कुरा आईरहेको छ । हामी कसरी सम्बद्ध छौ भन्ने कुरा नै धेरैले नबुझेर हामीलाई मुछ्ने काम भईरहेको छ । धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले  निर्णय लिने हो । त्यसैले नेप्से कहीकतै सम्बद्ध नै छैन ।


बाँकी रह्यो, पहिले धितोपत्र बोर्डले नेगोसियबल कमिशन तय गर्नुपर्छ भनेर मन्त्रालयमा पेश गरेको थियो । त्यसमा मन्त्रालयले नेप्सेको पनि राय लिनुपर्छ भनेर हामीलाई सोधेको थियो । त्यसमा हामीले नेगोसियबल कमिशन अहिले संभव छैन, अहिले कारोबार सबै पारदर्शी छैन, सबै बैंकिड. कारोबार हुनसक्ने अबस्था छैन, हाम्रो पुर्वाधार पनि त्यस अनुरुप छैन भनेर संभव छैन भनेको मात्रैै हो । त्यस बाहेक ब्रोकर कमिशन कति घटाउने, कति राख्ने त्यो बोर्ड र मन्त्रालयले नै जान्ने कुरा हो, नेप्से सम्बद्ध छैन । हामीलाई दोषारोपण गर्नु बेकारको कुरा हो ।

 

नेप्से नै बाधक बन्दैछ भन्ने आरोप चाँही किन लगाएका होलान् ?

 

नबुझेर वा हामीलाई बदनाम गर्ने नियतले हुनसक्छ । मन्त्रालय र उपल्लो नियमनकारी निकायले गर्न लागेको काममा हामीले बाधा सिर्जना गर्ने, हुन्न भन्ने कुरै आउँदैन । माथिबाट जे निर्णय भएर आउँछ, कार्यान्वयन गर्ने दायित्व हाम्रो हो । हाम्रो तहबाट हुने काममा मात्र हाम्रो निर्णयले हुन्छ । यति जान्दाजान्दै पनि सबै काम नेप्सेले नै रोक्यो भन्ने आरोप हामीप्रति अन्याय नै हो । लगानीकर्ताको हितमा हुने काममा हामी बाधक बन्ने हैन, साधक बनेर आएका छौ । यसमा पनि त्यही कुरा हो भनेर यहाँहरुमार्फत स्पष्ट पार्न चाहन्छु ।

 

धितोपत्र बोर्ड र नेप्सेबीचकाृ टकरावले पूँजी बजार सुधार र बिस्तारको काम राकियो भन्न्े छ नि ?

 

धितोपत्र बोर्डको नियमन र निर्देशन अनुसार हामी चल्ने हो । यसमा जसले यस्तो हल्ला फैलाएकार छन्, त्यो निराधार हो ।

 

बजारमा लगानीकर्ताको संख्या दिनदिनै थपिएको छ, कतिपय ब्रोकर कार्यालयमा थामिनसक्नुको भीड छ, यस्तो बेला कारोबार समय अपुग भयो भन्ने कुरा पनि आएको छ । कारोबार समय थप्ने बारेमा चाँही के गर्दै हुनुहुन्छ ?

कारोबार समय बढाउने बारेमा हामी गृहकार्य गरिरहेका छौ । कारोबार समय बढाउने साथै त्यसको सेटलमेन्ट समयलाई पनि जोडेर हेर्नुपर्छ । समय बढाउदा सेटलमेन्टमा के असर पर्छ, अहिले कसरी सेटलमेन्ट भईरहेको छ भनेर बुझ्ने काम गरिरहेका छौ । कति समय थप्दा उपयुक्त हुन्छ, सेटलमेन्टको लागि कति समय चाहिन्छ भनेर बुझेपछि एउटा निर्णयमा पुग्छौ । यस सम्बन्धमा सीडीएससँग पनि समन्वय गरेर कारोबार समय थप गर्ने बारेमा हामी निर्णय गर्छौ । आबश्यक निर्देशन धितोपत्र बोर्डबट पनि प्राप्त गर्छौ । 

 

बढ्दो शेयर बजारमा सर्वसाधारण लगानीकर्तालाई चाँही के कस्तो सल्लाह दिनुहुन्छ ?

 

हल्लाका पछाडि धेरै लगानीकर्ताहरु लागिरहेको देखेका छौ । यसमा मख्य कुरा चाँही कम्पनीको आधारभुुत अबस्था बिश्लेषण गरेर लगानी गर्नुपर्छ भन्ने नै हो । यसो गरेर शेयर खरिद र बिक्री गर्दा लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्नेछन् । हल्लाको पछाडि नलागेर, हल्ला के हो ? वास्तबिकता बुझेर, तथ्यपरक ढंगले बिश्लेषण गरेर लगानी गर्नुपर्छ ।

अब हल्ला के हो, वास्तविक हो कि हैन भन्ने कुरा बुझ्ने कसले ? बजारमा कतिवटा हल्ला चल्छन्, हामीलाई नै थाहा हुँदैन र सबैलाई नियमनकारी निकायले भेरफाई गरिरहन पनि सक्दैन ।  सकेसम्म त हामीले पनि गर्छौ र गर्दै आएका पनि छौ । कम्पनीसँग बुझेर तथ्य लनीकर्ताको सामुह ल्याउगाने प्रयास गर्छौ तर आफ्नो लगानीको सुरक्षाका लागि लगानीकर्ता अलि बढी सचेत हुनु जरुरी छ  । बुझेर राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गर्नुहोस्, सुरक्षित लगानी गर्नुहोस् भन्ने हो ।

 

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।