मेगा र टुरिजमको मर्जरमा किन भयो ढिलाई ?

Jul 13, 2017 Merolagani

सम्झौता भएको छ महिना बित्न लाग्दा समेत मेगा (MEGA) र टुरिजम डेभलपमेण्ट बैंक (TDBL) को मर्जर प्रकृयाले पुर्णता पाउन सकेको छैन । चालु आर्थिक वर्षको अन्त्य हुन केही दिन मात्र बाँकी हुँदा समेत दुई संस्थाको मर्जर बारे अन्यौल रहँदा लगानीकर्ताले प्रश्न उठाएका छन् ।

संयुक्त मर्जर समितिले बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो मूल्याङकन (डिडिए) मुल्याङ्कनकर्ता नियुक्त गर्न नसक्दा मर्जर प्रकृया अघि बढाउन ढिलाई भएको छ ।

मेगा बैंकले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद निष्काशनको प्रकृया ढिलो गरी अघि बढाएका कारण पनि मर्जर प्रकृया सुस्त बनेको हो । नेपाल राष्ट्र बैंकले भने पहिले नै दुई संस्थालाई मर्जरको सैद्धान्तिक सहमति दिइसकेको छ । गत चैत पहिलो साता सम्पन्न साधारण सभामा मेगाले हकप्रद अनुमोदन गरे पनि केही दिन अघि मात्र धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको छ ।

हकप्रद निष्काशन पुरा भए पछि मात्र मर्जर प्रकृया अघि बढ्ने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । मेरोलगानीसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत शाहले भने, ‘हाम्रो हकप्रद निष्काशन भए पछि मात्र मर्जरले अन्तिम रुप पाउने भएकाले केही ढिला भएको हो । हकप्रद लगत्तै मर्जरले पुर्णता पाउँछ ।’

उता टुरिजम डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत महेश ढकालले पनि मेगाको हकप्रदका कारण मर्जर केही ढिला भएको बताए । उनले भने, ‘डिडिए मुल्याङकनकर्ता नियुक्त गर्ने सम्बन्धमा संयुक्त मर्जर समितिले यसै साता अन्तिम निर्णय गर्छ । मेगाको हकप्रद निष्काशनको अवधिसम्ममा डिडिएको प्रतिवेदन पनि आए पछि मर्जरको प्रकृयाले अन्तिम रुप पाउँछ ।’

मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद जारी गरे पश्चात चुक्ता पूँजी सात अर्ब ५० करोड माथि पुर्याउने छ । त्यसैगरी टुरिजमले १८ दशमलव छ प्रतिशत बोनस तथा शतप्रतिशत हकप्रदबाट चुक्ता पूँजी दुई अर्ब २० करोड हाराहारी पुर्याइसकेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।