मेगा र टुरिजमले यसरी किन रुवाए आफ्नै लगानीकर्ता ?

Aug 26, 2017 Merolagani

- परमेश्वर अधिकारी
झण्डै आठ महिनासम्म लगानीकर्ताको सेयर बन्धक बनाएर मेगा बैंक (MEGA) ले हकप्रद भर्न नचाहनेलाई भर्नै पर्ने बाध्यात्मक अवस्थामा पुर्याएको छ । सम्झौता भएको आठ महिना बित्न लाग्दा समेत मेगा र टुरिजम डेभलपमेण्ट बैंक (TDBL) को मर्जर प्रकृया निष्कर्षमा नपुग्दा मर्जर नै तोडिने हो कि भन्ने आशंका पनि लगानीकर्तामा बढेर गएको छ ।

हकप्रद भर्न बुकक्लोज अघि कायम सेयरधनी मात्र योग्य हुन्छन् । कसैले हकप्रद भर्न नचाहेको खण्डमा बुकक्लोज अघि सेयर बेचेर अर्को योजना बनाउँछन् । तर मेगा र टुरिजमको मर्जर प्रकृयाका कारण सेयर कारोबार रोक्का हुँदा लगानीकर्ता हकप्रद भर्न बाध्य भएका हुन् । वर्ष दिनसम्म मर्जर प्रकृयाले पुर्णता नपाउनुको पीडा लगानीकर्तासँग छ भने अर्कातिर मन नलागी नलागी जबरजस्ती हकप्रद भर्नु पर्ने बाध्यता ।

लगानीकर्तालाई प्राथमिकतामा नराखी संस्थाको मात्र स्वाथले लगानीकर्ताको सम्पत्ती लामो समयसम्म बन्धक हुन पुगेको हो । यस अघि पनि प्रभु बैंक लगायत संस्थामा लगानीकर्ताको सम्पत्ती लामो समयसम्म बन्धक बनेको थियो । जसका कारण त्यही लगानीबाट राम्रो कमाई गर्ने अवसर पनि लगानीकर्ताले चुकाएका थिए । अहिले मेगा र टुरिजममा लगानी गरेकाहरु पनि त्यो सेयर बेचेर अरु कमाई गर्ने त कता कता उल्टै हकप्रदको भारी बोकेर थाप्लोमा हात लगाउन बाध्य पारिएका छन् ।

बजारमा धेरै कम्पनीको सेयर दिनहुँ कारोबार भएर अरुले राम्रो कमाई गर्दा कसलाई छटपटी हुन्न र ? त्यही छटपटीका बीच मेगा अनि टुरिजममा लगानी फसाएकाहरुले दुई संस्थाको मर्जर बारे प्रश्न समेत उठाएका छन् । यति मात्र नभई केही दिनमा नै हकप्रद निष्काशनको तयारीमा रहेको मेगाको हकप्रद पश्चात चुक्ता पूँजी साढे सात अर्ब माथि पग्दैछ । उक्त हकप्रद पछि सहजै उसले आठ अर्ब पूँजी पुर्याउन सक्ने भएकाले मर्जर पुरा नहुने आशंका पनि लगानीकर्ताको माझमा उब्जिएको छ । उता टुरिजमले पनि दुई अर्ब २० करोड माथिको चुक्ता पूँजी बनाइसकेको अवस्थामा दुवै संस्थाले मर्जर छाडेर पूँजी पुर्याउन कसरत गर्लान कि भन्ने आशंका लगानीकर्तामा हुनु स्वभाविक हो ।

संयुक्त मर्जर समितिले बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो मूल्याङकन (डिडिए) मुल्याङ्कनकर्ता नियुक्त गर्न नसक्दा पनि मर्जर प्रकृया अघि नबढेको यथार्थ छँदैछ । सम्झौता पछि हकप्रदलाई प्राथमिकतामा राख्नु, उल्लेखित प्रकृया अघि नबढाउनु लगायत कारणले लगानीकर्ता दुवै बैंकको नेतृत्वसँग आक्रोसित बनेका हुन् । वर्ष दिनसम्म लगानी फस्नुको पीडा माथि मर्जर नहुने हो कि भन्ने आशंका सत्यमा बदलिएको खण्डमा दुवै संस्थाले लगानीकर्ताको टाउको बञ्चरो हाने सरह हुनेछ ।

मेगा बैंकले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद निष्काशनको प्रकृया ढिलो गरी अघि बढाएको थियो । नेपाल राष्ट्र बैंकले भने पहिले नै दुई संस्थालाई मर्जरको सैद्धान्तिक सहमति दिइसकेको छ । गत चैत पहिलो साता सम्पन्न साधारण सभामा मेगाले हकप्रद अनुमोदन गरे पनि तीन महिना पछि मात्र धितोपत्र बोर्डमा अनुमति माग गरेको थियो ।

बैंकले भदौ २७ गतेदेखि ६५ प्रतिशत हकप्रद निष्काशन गर्दैछ । एक महिना हकप्रद भरेर नबिकेको सेयर लिलाम गर्दा पूँजीकरण कहिले होला भन्ने चिन्ताले पनि लगानीकर्तालाई सताएको छ । बल्ल त्यस पछि मर्जरको काम अघि बढेर प्रकृया पुरा हुँदा बजार कुन अवस्थामा रहला भन्ने अहिले नै आँकलन गर्न सकिने विषय हैन ।

हकप्रद निष्काशन पुरा भए पछि मात्र मर्जर प्रकृया अघि बढ्ने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । मेरोलगानीसँगको कुराकानीमा प्रमुख कार्यकारी अधिकृत शाहले भने, ‘हाम्रो हकप्रद निष्काशन भए पछि मात्र मर्जरले अन्तिम रुप पाउने भएकाले केही ढिला भएको हो । हकप्रद लगत्तै मर्जरले पुर्णता पाउँछ ।’

उता टुरिजम डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत महेश ढकालले पनि मेगाको हकप्रदका कारण मर्जर केही ढिला भएको बताए । उनले डिडिए मुल्याङकनकर्ता नियुक्त गर्ने प्रकृउा अन्तिम चरणमा रहेको बताए । उनका अनुसार मेगाको हकप्रद निष्काशनको अवधिसम्ममा डिडिएको प्रतिवेदन तयार भैसक्नेछ ।

मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको थियो । मेगाले ६५ प्रतिशत हकप्रद जारी गरे पश्चात चुक्ता पूँजी सात अर्ब ५० करोड माथि पुर्याउने छ । त्यसैगरी टुरिजमले १८ दशमलव छ प्रतिशत बोनस तथा शतप्रतिशत हकप्रदबाट चुक्ता पूँजी दुई अर्ब २० करोड हाराहारी पुर्याइसकेको छ । दुई संस्थाको मर्जर पुरा भए पश्चात बन्ने बैंकको चुक्ता पूँजी साढे नौ अर्ब नाघ्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।