निक्षेपका साथै कर्जाको ब्याजदर उकालो लाग्दा सेयरबजारमा पहिरो

Dec 26, 2017 merolagani



लगानी योग्य रकमको अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहमा मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धा चलेपछि यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । यता नेपाल राष्ट्र बैंकले समेत कर्जा प्रवाहमा सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि सेयरबजारको गिरावट झन् गहिरीएको छ ।

धमाधम निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका बैंकहरुले अर्कातर्फ कर्जाको ब्याजदर समेत बढाउन थालेको छन् । बैंकहरुले सेयर कर्जाको ब्याज दर बढाएर १५ प्रतिशतसम्म पुर्याएका छन् ।

बजार घटिरहेको बेलामा सेयर कर्जाको ब्याजदर समेत बढ्न थालेपछि यसको प्रत्यक्ष असर सेयर बजारमा परेको लगानीकर्ता तथा ब्रोकरहरुको भनाई छ । 

चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । ४ महिनामा बैंक तथा वित्तीय संस्थाले २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयरमा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले ठूला ठूला विज्ञापन गरेर १२ प्रतिशतसम्म ब्याजदरमा मुद्धती निक्षेप उठाउन थालेका छन् । अर्कातर्फ नयाँ सरकार कहिले गठन हुने भन्ने राजनीतिक अन्योलताले समेत बजारलाई अस्थिरतता तर्फ धकेलेको छ ।
यता राष्ट्र बैंकले भने बजारमा ३३ अर्ब रुपैयाँ बराबरको तरलताको रहेको बताउँदै आएको छ ।

मंगलबारको नेप्से परिसूचकमा २०.६४ अंकको गिरावट आएको छ । १४६७.६८ बिन्दुमा खुलेको बजारमा करिब २० मिनेटमा सामान्य उकालो लागेपनि त्यसपछि अन्त्यसम्म नै बजार घट्दा नेप्से १.४१ प्रतिशतले घटेको छ ।

२० अंकले घटेको बजारमा महुली सामूदायिक लघुवित्त कम्पनीका सेयरधनीले भने १० प्रतिशतले कमाएका छन् । आईतबार पनि १० प्रतिशतले सेयरमूल्य बढेको कम्पनीको पछिल्लो केही दिनयता १० प्रतिशतका दरले मूल्य बढ्दै आएको छ । अन्य १२ कम्पनीको सेयरमूल्य भने दुई प्रतिशतले पनि बढेको छैन । वल्र्ड मर्चेन्ट, महिला सहयात्रा, नेपाल टेलिकम, छ्याङ्दी हाईड्रोपावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य एक प्रतिशत बढीले बढेको छ ।

मंगलबार १५९ कम्पनीको १० लाख ३८ हजार २९८ कित्ता सेयर ५४ करोड दुई लाख ९१  हजार रुपैयाँमा खरिद विक्री भएका छन् । आईतबारको तुलनामा कारोबार रकम एक करोड रुपैयाँले घटेको छ । मंगलबार 'क' बर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.१६ अंकले घटेर ३०४.८५ बिन्दुमा झरेको छ । समग्र बजार पूँजीकरण १६ खर्ब ८२ अर्ब रुपैयाँमा घटेको छ ।

कारोबारमा आएका १० समूहमध्ये अन्य समूह ६.९४ अंकले बढ्यो भने अन्य सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी बीमा समूह १३८.८१ अंकले घटेको छ । विकास बैंक, हाईड्रोपावर, उत्पादन र माइक्रोफाइनान्स समूह ३० अंक बढीले झरेका छन् ।

यसदिन स्टार्ण्डड चार्टर्ड बैंकको सबैभन्दा बढी आठ करोड ३३ लाख रुपैयाँ तथा नेपाल टेलिकमको झण्डै ७ करोड रुपैयाँको ८२ हजार ११० कित्ता सेयर किनबेच भएको छ । एभरेष्ट बैंक र चिलिमे हाइड्रोपावरको दुई करोड बढीको कारोबार हुँदा नेपाल बैंक, प्रभु बैंक, बुटवल पावर, एनसीसी बैंक, इन्भेष्टमेन्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड बढीको सेयर खरिद विक्री भए ।

मंगलबार प्राेगेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा बढी ६.७२ प्रतिशतले घाटा व्यहाेरेका छन् । सांग्रीला डेभलपमेन्ट बैंक, अरूण फाइनान्स, भागर्व विकास बैंकका सेयरधनीले पाँच प्रतिशत बढीले गुमाएका छन् । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।