सी आस्वा र आस्वामा झुक्किनु भयो ? यसरी हुनुहोस प्रष्ट

Feb 06, 2018 Merolagani

केही दिन यता विभिन्न सञ्चार माध्यममा आएका सी आस्वा सम्बन्धि समाचारप्रति धितोपत्र बोर्डले चासो व्यक्त गरेको छ । लगानीकर्तालाई भ्रममा पार्ने काम भएको भन्दै उसले सी आस्वा के हो भने प्रष्ट पारेको छ । सी आस्वा र आस्वामा धेरै फरक छैन । तर आस्वाभन्दा सी आस्वा झनै सजिलो व्यवस्था हो ।

धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा लगानीकर्ताहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बरावरको रकम रोक्का राखी धितोपत्र बाँडफाँट पछि आवेदको बाँडफाँटमा परेको धितोपत्र बरावरको रकम मात्र खाताबाट खिच्ने व्यवस्था अहिले प्रचलनमा रहेको आस्वा प्रणाली हो । यसको व्यवस्था नेपाल धितोपत्र बोर्डले “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मार्फत गरेको हो ।

आस्वा अन्र्तगत कम्प्युटरकृत प्रणाली मार्फत एकिकृत गरी आवेदन दिने कार्यलाई थप व्यवस्थित तथा छिटो छरितो बनाउने उद्देश्यले केन्द्रिय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग लि) ले सी आस्वा (सेन्ट्रलाइज्ड एप्लिकेशन फर आस्बा बेस्ड इस्यू) प्रणाली लागू गर्न लागेको हो । यो प्रणाली आगामी फागुन ११ गतेदेखि अनिवार्य गरिँदैछ । सिडिएससीले “धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७४” धितोपत्र बोर्डबाट स्वीकृत गराई यो व्यवस्था लागू गरेको हो ।

उक्त निर्देशिका बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मेरोसेयर नामको सफ्टवेयर तयार गरिसकेको छ । यो व्यवस्थाबाट सेयर आवेदन गर्न अनलाइन माध्यम मात्र अवलम्बन गर्नु पर्ने समाचार सत्य हैन । यस सम्बन्धमा धितोपत्र बोर्डले पनि ध्यानाकर्षण भएको बताएको छ ।

यस भन्दा अगाडि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सफ्टवेयरबाट छुट्टा छुट्टै रुपमा आस्वा मार्फत आवेदन गर्ने व्यवस्था गरिरहेका थिए । अब सिडिएस एण्ड क्लियरिङ्गको एकिकृत सफ्टवेयर मार्फत लगानीकर्तालाई सी आस्वा प्रणालीबाट आवेदन दिनु पर्ने हुन्छ । तर यसका लागि पहिलेको जसरी नै आफ्नो बैंक खाता भएको शाखाबाट फारम भरेर पनि आवेदन गर्न सकिन्छ । यसका लागि लगानीकर्ताले आफ्नो बैंकमा गएर पहिलो एक पटक सी आस्वाको विबरण भरेर रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनु पर्छ ।

यो प्रणाली पूर्ण अनलाइन हुने बैंकहरुको हकमा मात्र हो । लगानीकर्ताले अनलाइन वा बैंकमा गएर कागजी फारम भरेर सेयर आवेदन गर्न सक्छन् । सेयर आवेदन गर्ने समयमा सीआरएन नम्बर भने उपलब्ध गराउनु पर्छ । फारम भरेर बुझाएको आवेदनलाई बैंकले अनलाइन प्रणालीमा अद्यावधिक गर्छ । यस आधारमा सीआस्वा पूर्ण अनलाइन भए पनि लगानीकर्ताको हकमा पूर्ण अनलाइन हैन । सक्नेले सिडिएससीको मेरोसेयर नामको अनलाइन सफ्टवेयरबाट आवेदन गर्छन् । तर कागजी फारम भर्नेहरुले बैंकसम्म पुग्नु पर्छ । आस्वामा जस्तै सीआस्वामा पनि सेयर माग गरिए बराबरको रकम बैंक खातामा रोक्का हुन्छ ।

आस्वाबाट सेयर आवेदन गर्दा प्रत्येक पटक लगानीकर्ताको तीनपुस्ते लगायतका विबरण भर्नु पर्ने हुन्छ भने सीआस्वाबाट सेयर आवेदन गर्दा धेरै बिवरण भर्नु पर्दैन । सिआरएन नम्बर लिने समयमा भरिएको तथ्यांक बैंक मार्फत निक्षेप सदस्यकोमा स्वतः अद्यावधिक भएको हुन्छ । तर याद राख्नु पर्ने कुरा के हो भने सिआरएन नम्बर लिने बेला उपलब्ध गराइने तीन पुस्ते लगायतका केही विबरण डिम्याट खाता खोल्दा भरेको विबरणसँग मिल्नु पर्छ ।

...[मेरो सेयर सी आस्वाबाट कसरी गर्ने सेयर आवेदन ? भिडियोमा हेर्नुहोस्]...

यसरी सि—आस्वा प्रणाली मार्फत सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा सी आस्वा रजिष्टे«शन नम्बर लिई अनलाईन तथा सी आस्वा फारम भर्ने दुई मध्ये एक प्रकृयाबाट आवेदन दिन सक्ने व्यवस्थामा नझुक्किन धितोपत्र बोर्डले सबैलाई आग्रह गरेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।