शेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौं, हस्तक्षेप गरेका छैनौँः अर्थमन्त्री

Mar 25, 2018 merolagani

विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले बजारको माग र पूर्तिको सिर्जनाका कारण शेयरको समस्या उत्पन्न भएको बताउँदै लहडवाजीमा शेयर लगानी नगर्न आग्रह गरे ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आइतवार संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले भने, ‘हामीले शेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौं । हस्तक्षेप गरेका छैनौँ । तर, बजार घटेको छ ।’ 

अर्थमन्त्रीले अस्वभाविक रुपमा बढाइएको बजार अहिले शेयरको बढी आपूर्ति भएका कारण घट्नु अनौठो विषय नभएको स्पष्ट गर्दै कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न र दीर्घकालीन रुपमा सोच्न आग्रह गरे । 

अर्थमन्त्री खतिवडाले भने, ‘लहडबाजीमा लगानी गर्नु हुँदैन । बजारमा थप शेयर आउँदैछन् । हाइड्रोहरुले आइपीओ ल्याउँदैछन् । बैंकले पूँजी बढाएका छन् । शेयर थपिएको छ, अनि अर्थशास्त्रको सामान्य सिद्धान्त हो, आपूर्ति बढ्दा बजार मूल्य घट्छ ।’ शेयर थपिने क्रमले बजार अझ घट्न सक्ने सामान्य सिद्धान्त भएकोतर्फ अर्थमन्त्रीले सचेत गराए । अर्थमन्त्रीले शेयर कस्तो चिज हो भन्ने प्रश्न गर्दै भए, ‘अन्तर्राष्ट्रिय बजार त घट्छ । घटबढ हुनुलाई अनौठो मान्न सकिँदैन ।’

अर्थमन्त्रीसमक्ष व्यापारीले भने मार्जिन लोन बढाउन माग गरे । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले मार्जिन कल ५० बाट बढाएर ७० पुर्‍याउनु पर्ने बताए । उनले भने, ‘बैंकमा शेयर धितो राखेर लिइने रकम उपलब्ध नहुँदा धेरै शेयर लगानीकर्ताको लगानी डुबेको छ ।’

उनले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि रु १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे । मन्त्री खतिवडाले असमान कार्य गर्नेबाट असमान कर नै असुल हुने र असल करदाता राज्यको सम्मानित नागरिक भएकाले उनीहरुको सम्मान हुने बताए । उनले भन्सारका कर्मचारीले मुस्कानसहितको काम गर्ने भएकाले सोहीअनुसार व्यापारीले इमान्दारीका साथ कर वुझाउन पर्नेमा जोड दिँदै कुनै अन्य दस्तुर नबुझाउनसमेत आग्रह गरे ।

उनले निजी क्षेत्रबाट निर्माणाधीन पूर्वाधारमा विदेशी होइन स्वदेशी गुणस्तरीय सामाग्रीको प्रयोग गर्नु पर्नेमा जोड दिए । वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए । अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए ।

उनले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताए।

प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा कुरा हुने उनकाे भनार्इ थियाे । भन्सारको कारणले व्यापारीले आयात गरेको सामान ढिलाई नभएको स्पष्ट गर्दै उनले पूर्वाधारको कमी र एकीकृत भन्सार जाँच चौकीको निर्माणमा ढिलाइले समस्या उत्पन्न भएकोले चाँडै नै समस्या समाधान हुने प्रष्ट पारे ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।