सडक देखि सदनसम्म कुरा उठेपछि सेयरबजारमा चमत्कारिक सुधार

Mar 27, 2018 Merolagani

एक्कासी बजार बढ्नुमा यस्ता छन मुख्य कारण
निरन्तर ओरालो लागि रहेको सेयरबजारमा मंगलबार चमत्कारिक सुधार आएको छ । कारोबार खुलेको दुई घण्टाको अवधिसम्म झण्डै ३४ अंकले घटेको बजार त्यसपछि एकाएक उकालो लागेर ७४ अंकले बढेको छ । सडकदेखि सदनसम्म सेयरबजार सुधारका लागि सरकारको ध्यानकर्षण गराईपछि बजार एकाएक बढ्न पुगेको हो ।

अघिल्लो दिन मात्रै शेयरबजार ५१ अंकले ओरालो लागेपछि इन्भेष्टर्स फोरमले बजार सुधारका १९ बुँदे माग राख्दै सात दिने अल्टिमेटम दिएको थियो । फोरमको अल्टीमेटम पाएपछि सरकारले यसै साता जारी गर्ने भनेको श्वेतपत्र मार्फत सेयर बजारको समस्या समाधान गर्ने आश्वासन दिएपछि बजारमा चमत्कारिक सुधार आएको हो । 

अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीले मुलुकको वर्तमान आर्थिक स्थिति र भविष्यमा चाल्नुपर्ने रणनीति समेटेर यसै साता सरकारले जारी गर्न लागेको श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिएका थिए ।

अर्थमन्त्रालयको यस्तो प्रतिक्रिया आएपछि लगानीकर्ताले बजार सुधारको कार्यक्रम आउन सक्ने आशामा सेयर खरिदको क्रम बढाउदा सेयरको माग बढ्न जादा नेप्सेमा उच्च सुधार आएको हो ।

त्यस्तै संघीय संसदको राष्ट्रियसभामा पनि शेयर बजारको समस्या समाधानका लागि सांसदहरुले कुरा उठेपछि समस्या सम्बोधन हुनेमा लगानीकर्ता विश्वस्थ हुँदा सेयर कारोबारमा उत्साह देखिएको हो।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजार सरकारी मन्त्रीका कारण घटेको भन्दै त्यस बारेमा सरकारको धारणा माग गरेका थिए । संसदमा समेत सेयरबजारको चर्चा चलेपछि सरकारले यसलाई सम्बोधन गर्ने विस्वास लगानीकर्तामा परेको देखिन्छ ।

यता आज नै अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न पुगेको नेपाल उद्योग परिसंघको टोलीलाई अर्थमन्त्री खतिवडाले औद्योगिक क्षेत्रको उत्पादन बृद्धिका लागि तरलता समस्या समाधान र ब्याज दर बृद्धिलाई रोक्न आवश्यक पहल भइरहेको जानकारी गराएका थिए ।

अर्थमन्त्रीले उद्योगी व्यवसायीलाई तरलता समस्या समाधान गर्दै ब्याज दरमा आवश्यक सहजीकरण गर्ने बताएपछि यसको प्रभाव पनि सेयरबजारमा देखिएको हो ।

अर्कातर्फ बजार निरन्तर घटेर ११३५ अंकसम्म झरेको अवस्थामा कतिपय लगानीकर्ताहरुले यसलाई सस्तो मूल्यमा सेयर खरिद गर्ने अवसरको रुपमा लिएर सेयर खरिदको क्रम बढाउदा पनि सेयर बजारको बढोत्तरीलाई सघाउ पुगेको हो । जसका कारण सेयर कारोबार समेत बढेर ५० करोड नाघेको छ ।

यसैगरी घुमाउरो बाटो बाट अग्रिम ब्याज भुक्तानी योजना ल्याएका बैंकहरुले सो योजना फिर्ता लिने कुराले पनि बजारलाई सघाउ पुर्याएको मानिएको छ । साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्धति खातामा ३ अर्ब ६७ करोड लगानी गर्ने कुराले भने केही राहात दिएको आँकलन गरिएको छ ।

त्यस्तै आजै मात्र अर्थमन्त्रालयका बजेट महाशाखाका उप-सचिव आनन्द कुमार भट्टराईले एकै पटक दुई वटा अनलाइन मिडियामा सेयर बजारको बिषयमा चलेका भ्रमहरुलाई चिर्दै लेख सार्वजनिक गरेका थिए ।

अर्थमन्त्री खतिवडाको निकट मानिने भट्टराईको उक्त लेख सार्वजनिक भएपछि अप्रत्यक्ष रुपमा अर्थमन्त्री खतिवडाको धारणा आएकाले पनि बजारलाई टेवा पुर्याउन सहयोग पुगेको देखिन्छ । सो लेखमा समग्र सेयरबजारको अवस्था, फैलाइएको नकारात्मक भ्रम र सुधार गर्न सकिने बिषयहरु समावेश गरिएको थियो । एकाएक अर्थमन्त्रालयका अधिकारीबाटै यस्तो लेख आएकाले पनि लगानीकर्ताको मनोबल बढ्न पुगेको हो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।