
आइतबार नेप्से ४४.२६ अंकले बढेर १२९४.६५ अंकमा पुगेको छ । यसदिन १७६ कम्पनीको २३ लाख १२ हजार कित्ता सेयर ९१ करोड ७७ लाख रुपैयाँ बराबरमा किनबेच भयो । कारोबारमा आएका सबै समूहमा आएको सुधारले समग्र नेप्से तथा कारोबार रकममा वृद्धि आएको हो।
चैत्र मसान्त लाग्दै गर्दा यसअवधिमा तिनुपर्ने करको दबाबबाट मुक्त भएका लगानीकर्ता सेयरबजारमा प्रवेश गर्दा कारोबारमा सुधार आएको लगानीकर्ता टिकाराम निरौलाको भनाई छ । उनका अनुसार विगतमा बर्षहरुमा पनि चैत्रको अन्तिम साताबाट सेयरबजारमा सुधार आएको देखिन्छ,नयाँ लगानीकर्ता पनि यही समयमा प्रवेश गर्ने गर्थे र आइतबारको बजारमा पनि नयाँ लगानीकर्ता बजार पसेकाले कारोबारमा सुधार आएको हुन सक्छ ।
कारोबार बढेपनि लामो समय पर्ख र हेरको अवस्थामा बसेका म्युचुअल फण्डहरु बजारमा प्रवेश गरिसकेका छैनन् तर केही म्युचुअल फण्डहरुले सामान्य रुपमा सेयर उठाएको एक ब्रोकरले बताए । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको केही प्रभाव समेत बजार देखिएको हुनसक्ने उल्लेख गरे । भारत भ्रमणका क्रममा पाइपलाइन निमार्ण देखि आयात निर्यात सहजिकरणका लागि केही महत्वपूर्ण सम्झौताहरु भएका थिए ।
नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा सेयरबजारप्रति लगाननीकर्ताको विश्वास बढेको अर्का लगानीकर्ताले बताए । साथै पछिल्लो समयमा सरकारी खर्च बढेको छ भने बैंक तथा वित्तीय संस्थामा पनि तरलताको अवस्था सहज हुँदै गएकाले सेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
कतिपयले भने यसलाई अप्राकृतिक वृद्धि समेत भनेका छन् । एकैदिन ४४ अंकले बजार बढेकाले न्यून विन्दुमा सेयर किन्नेहरुले सेयर बिक्री गर्न बजार उचालेको आँकलन समेत गरेका छन् । यस्तो वृद्धि लामो समय टिक्न नसक्ने दाबी उनीहरुको छ ।

यसदिन नबिल बैंककोे सबैभन्दा धेरै ३ करोड १४ लाख रुपैयाँको करोबार भयो। त्यस्तै प्रभु इन्स्योरेन्सको २ करोड ६६ लाख, एभरेष्ट बैंकको २ करोड ६३ लाख, स्ट्याण्र्ड चार्टर्डको २ करोड ३७ लाख बढीको सेयर किनबेच भयो ।
सेयरबजारमा उच्च सुधार आउँदा कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयरमूल्य बढेको छ भने १४ कम्पनीको मात्र घटेको छ । यसदिन ढेड दर्जन कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । सूर्योदय लघुवित्त र महुली लघुवित्तको सेयरमूल्य दश प्रतिशतले बढेको छ । मिथिला लघुवित्त, निर्धन उत्थान, नेपाल लाइफ लगायतको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । सबैभन्दा धेरै राधि विद्युतका लगानीकर्ताले तीन प्रतिशतका दरले गुमाए ।