शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने,हवाई यात्रुको बीमा रकम छ गुणा बढ्ने

Dec 14, 2018 RSS

नेपालको हवाई उड्डयनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ शनिबारदेखि मन्ट्रियल महासन्धि लागू हुने भएको छ ।  यो महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुनेछ ।

हवाई उड्डयनको माध्यमबाट हुने परिवहनबाट सिर्जित जोखिमबाट यात्रुलाई सुरक्षित गर्ने लक्ष्यका साथ महासन्धि लागू गर्न लागिएको हो ।

महासन्धिअनुसार हवाई यात्रुले बीमाबापत रु एक करोड २४ लाख ४१ हजार प्राप्त गर्ने छ । साविकमा हवाई यात्रुले रु २० लाख अर्थात् २० हजार डलरमात्रै प्राप्त गर्ने गरेका थिए । हवाई यात्रुको बीमामा उल्लेख्य वृद्धि गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन महासन्धि लागू गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

गत असोज ३० गते सङ्घीय संसद्ले मन्ट्रियल महासन्धि अनुमोदन गरेको थियो । यो महासन्धि नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय एयरलाइन्सको हकमा लागू हुने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।

मन्ट्रियल महासन्धि लागू गर्नेबारे नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव लामिछानेले पुरानो वार्सा महासन्धि यात्रुमैत्री नभएपछि मन्ट्रियल महासन्धि लागू गरिएको बताउनुभयो । विश्वको १३५ मुलुकले यो महासन्धि लागू गरिसकेको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रामा यात्रुको सुरक्षा सुनिश्चित गर्नु महासन्धिको मुख्य उद्देश्य भएको सहसचिव लामिछानेले बताए । सो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट, कार्गोको ढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी वा क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्नेछ ।

हवाई जोखिमबाट यात्रीलाई सुरक्षित बनाउँदै विश्वसनीयता वृद्धि गर्ने प्रयोजनका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयनबाहेकका दायित्वलाई अझ बढी विश्वसनीय बनाउन खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ ।

सो महासन्धिको पक्ष राष्ट्र हुँदा नेपाललाई थप आर्थिक दायित्व बहन गर्नु नपर्ने, नेपालमा उडान गर्ने पर्यटक तथा यात्रुको मनोबल उच्च हुने, हवाई उडानबाहेकका दायित्वलाई सुनिश्चित गर्दै बढी क्षतिपूर्ति पाउने हुन्छ । यस्तै अग्रिम क्षतिपूर्ति भुक्तानी र दाबी गर्ने अधिकार क्षेत्रको छनोटजस्ता यात्रुमैत्री प्रावधानसमेत महासन्धिमा समेटिएको छ ।

हवाई यात्रुको बीमा रकम अन्तर्राष्ट्रिय मापदण्ड बराबर बनाउन सन् १९९९ देखि नै मन्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुको बीमा रकमसमेत बढ्न सकेको थिएन । झण्डै १० वर्षको प्रयासपछि नेपालमा महासन्धि लागू भएको हो ।

महासन्धिअनुसार कार्गोको नोक्सानी, क्षति वा विलम्ब भएमा प्रतिकिलो रु दुई हजार ९० क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै ब्यागेजको नोक्सानी वा क्षति भएमा रु एक लाख २४ हजार ४१० क्षतिपूर्ति तिर्नुपर्नेछ । यात्रुको यात्रा विलम्ब भएमा रु पाँच लाख १६ हजार ३४० क्षतिपूर्ति दिनुपर्ने व्यवस्था महासन्धिले गरेको छ ।

नेपालले हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’ लाई कार्यान्वयन गर्दै आएको थियो । सन् १९२९ देखि कार्यान्वयनमा आएको वार्सा अभिसन्धिअनुसार हवाई यात्रुको बीमा मात्रै २० हजार अमेरिकी डलर बराबरको बीमा हुँदै आएको थियो । दक्षिण एशियामा भारत र श्रीलङ्काले यसअघि नै अनुमोदन गरेका थिए । ती देशले महासन्धि अनुमोदन गरी लागू गरेका कारण बीमा रकमसमेत बढिसकेको छ ।

महासन्धि कार्यान्वय भएपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमायल एयरलाइन्स र बुद्ध एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि थप सहज हुनेछ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अन्तर्राष्ट्रियस्तरको हुने र यसले यात्रु तथा एयरलाइन्सलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय हवाई परिवहनमा उपभोक्ता हित संरक्षणको सुनिश्चितताको महत्व र परिपूरणको सिद्धान्तमा आधारित समन्यायिक क्षतिपूर्तिको आवश्यकतालाई कदर गरिएको मन्त्रालयले जनाएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।