झापाको घैलाडुब्बा सबस्टेसन संचालनमा

Mar 03, 2019 Merolagani

झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३÷११ केभी घैलाडुब्बा सबस्टेसन शनिबारबाट संचालन(चार्ज)मा आएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण त्यस क्षेत्रमा वत्ति, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान हुने बताए । ‘अब त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्छ,’ घिसिङले भने ।

प्राधिकरणले अब अनारमनी सबस्टेसनबाट ३३ केभी वितरण लाइनमार्फत घैलाडुब्बा सबस्टेसनमा विद्युत् ल्याउने छ । घैलाडुब्बा सबस्टेसनबाट ११ केभी एउटा वितरण लाइनमार्फत घैलाडुब्बातर्फ र ११ केभीको अर्को लाइनमार्फत सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति गरिने इन्जिनियर शैलेस सापकोटाले जानकारी दिए । अहिले अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा र सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो । 

लामो दूरी र ओभरलोडिङको कारणले त्यस क्षेत्रमा पटकपटक लाइन ट्रिप हुने र लाइन भएको समयमा पनि भोल्टेज निकै कम हुने समस्याले उपभोक्ता समस्यामा थिए । घैलाडुब्बा सबस्टेसनबाट विद्युत वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।