फेसबुकले ३ महिनाको अवधिमा २ अर्ब २० करोड फेक अकाउन्ट हटायो

May 26, 2019 Merolagani

फेसबुकले यो वर्षको जनवरी–मार्च त्रैमासमा २ अर्ब २० करोड फर्जी अकाउन्ट हटाएको छ । यो हालसम्मको सबैभन्दा धेरै अकाउन्ट हटाइएको रेकर्ड हो । योभन्दा पहिले सन् २०१८ को अक्टोबर–डिसेम्बर त्रैमासमा १ अर्ब २० करोड फेक अकाउन्ट हटाएको थियो ।

विश्वभरमा फेसबुकका मासिक प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड रहेको छ । यस्तोमा ३ महिनाको अवधिमा २ अर्ब २० करोडको संख्यामा खाता हटाउनुलाई एकदमै ठूलो कदम मानिएको छ ।

डेटा शेयरिङ र फेक अकाउन्ट्सको विषयलाई लिएर विश्वका कयौँ देशहरुमा फेसबुकको आलोचना भइरहेको छ । कयौँ देशका सरकारहरुले फेसबुकका विरुद्ध कारबाही पनि सुरु गरिसकेका छन् ।

फेसबुकको आलोचना भइरहदाँ केही समयदेखि कम्पनीले बाडिएर काम गर्न लागेको भन्ने कुराले पनि चर्चा पाएको थियो । तर फेसबुकका सीईओ मार्क जुकरवर्गले कम्पनीलाई बाड्दैमा यससँग सम्बन्धित समस्या समाधान नहुने बताएका छन् । उनले भने, कम्पनी आफैँमा सफल भएकाले कम्पनीले प्रयोगकर्ताहरुको सुरक्षा र सुविधाका लागि महत्वपूर्ण कदम उठाइरहेको छ । फर्जी अकाउन्ट, आपत्तिजनक विषयबस्तुको नष्ट गर्नु कम्पनीको पहिलो प्राथमिकतामा रहेको छ ।

जुकरबर्गका अनुसार, प्रयोगकर्ताहरुको सुविधाका लागि कम्पनीले आर्टिफिशियल इन्टेलीजेन्सी लागू गर्न गइरहेको छ । कम्पनीले एउटा स्वायत्त बोर्ड पनि बनाउन गइरहेको छ, जहाँ अदालतले जस्तै मानिसहरुको समस्या समाधान गर्नेछ । उसको निर्णय नै अन्तिम मानिनेछ ।

प्रयोगकर्ताहरुको डेटा अवैध तरिकाले शेयर गरेको मामलामा न्यूयोर्कको अटार्नी जनरलले फेसबुकका विरुद्ध जाँच सुरु गरिरहेको छ । कम्पनीका विरुद्ध यो तेस्रो जाँच हो । क्यानडा र आयरिस सरकारले पनि डेटा लीकको मामलामा फेसबुकका विरुद्ध जाँचको घोषणा गरिसकेको छ । एजेन्सी

comments powered by Disqus