शेयर शिक्षाः डिम्याट खाता के हो?

Oct 25, 2023 05:27 PM Merolagani



हामीले शेयर शिक्षाको पछिल्लो श्रृंखलामा शेयर बजारमा लगानी गर्नका लागि डिम्याट खाता कति आवश्यक छ भन्ने विषयमा चर्चा गरिसकेका छौँ। आजको यस श्रृंखलामा हामी डिम्याट खाता के हो? भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ।

प्रविधिको विकास हुनु अघि शेयर भनेको भौतिक रुपमा हुन्थे। भौतिक रुपमा अर्थात शेयरको प्रमाणपत्र हुन्थ्यो। प्रमाणपत्र कागजको हुने भएकोले च्याटिन, फाट्न, कुहिन, हराउन वा चोरी हुन सक्ने खतरा हुन्थ्यो। अहिले सोही शेयर प्रमाणपत्रलाई अभौतिकीकरण गरि राखिने खातालाई डिम्याट खाता भनिन्छ।

डिम्याटको पुरा रुप डिमटेरियलाइजेशन अर्थात अभौतिकीकरण हो। यसको अर्थ हो भौतिक रुपमा नहुनु।

डिम्याट खाता बैंक खाता जस्तै एक अनलाइन खाता हो। बैंक खातामा पैसा डेबिट क्रेडिट भएजस्तै, डिम्याट खातामा शेयर डेबिट क्रेडिट हुन्छ। डिम्याट खाताको प्रयोग अनलाइन शेयरलाई जम्मा गरिराख्नका लागि गरिन्छ। यो शेयरका लागि लकर जस्तै हो।

डिमटेरियलाइजशन अर्थात अभौतिकीकरण प्रक्रियामा तपाईको भौतिक रुपमा रहेको शेयर इलेक्ट्रोनिक रुपमा राखिन्छ। यस खातामा भएको शेयर, इन्टरनेटको पहुँच भएको जुन सकै स्थानबाट हेर्न सकिन्छ।

डिम्याट खाताको प्रयोग शेयर, म्युचुअल फण्ड, ऋणपत्र जस्ता धितोपत्रलाई सुरक्षित गर्न प्रयोग गरिन्छ। तपाईसँग भौतिक रुपमा शेयर नभएपनि डिम्याट खाता खोल्न सक्नुहुन्छ। तर अहिले तपाई डिम्याट खाताबिना शेयर खरिद गर्न सक्नुहुन्न।

डिमटेरियलाइजेशन अर्थात अभौतिकीकरण के हो?

डिमटेरियलाइजेशन अर्थात अभौतिकीकरणको अर्थ भौतिक शेयर सर्टिफिकेटलाई इलेक्ट्रोनिक शेयरमा स्थानान्तरन गर्नु हो। यस मार्फत तपाई आफ्नो शेयरलाई २४ सै घण्टाको उपलब्धता सुनिश्चित गर्न सकिन्छ जसलाई तपाई सजिलै ट्रयाक या निगरानि गर्न सक्नुहुन्छ। अभौतिकीकरणको मुख्य उद्देश्य भौतिक शेयर सर्टिफिकेटबाट छुटकारा दिलाउनु हो।

डिम्याट खाताको इतिहास

डिम्याट खाता के हो? भन्ने थाहा भइसकेपछि अब हामी डिम्याट खाताको इतिहासबारे केही कुरा जानौँ।

प्रविधिको अभावमा पहिला शेयरहरु, कागज प्रमाणपत्रको रुपमा खरिद तथा बिक्री गरिन्थ्यो। यो एक जटिल कार्य थियो। यसका साथै भौतिक प्रमाणपत्र चोरी हुने या च्याटिन सक्ने खतरा पनि थियो।

तर, विस्तारै प्रविधिको विकाससँगै कम्प्यूटरको प्रयोग हुन थाल्यो। पछि नेपालको केन्द्रिय निक्षेप प्रणाली सिडिएस एण्ड क्लियरिङ्गले पहिलो पटक शेयर डिम्याट खातामा राख्ने सुविधा प्रदान गर्यो। सिडिएस एण्ड क्लियरिङ्गका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वि.सं. २०६९, साउन १ गते तत्कालिन अर्थमन्त्री वर्षमान पुनको डिम्याट खाता खोली नेपालमा डिम्याट खाताको शुभारम्भ गरिएको थियो। तर, डिम्याटबाटै कारोबारको राफसाफ भने २०७२ माघ २ गतेदेखि भएको उनले बताए।

त्यसपछि विस्तारै विस्तारै भौतिक शेयरको अस्तित्व हराउन थाल्यो र शेयरलाई राख्न डिम्याट खाता अनिवार्य गरियो। यदि अहिले पनि कसैसँग भौतिक शेयर छ भने त्यसको कारोबार गर्नका लागि पहिला त्यसलाई डिम्याट खातामा ल्याउनु पर्ने हुन्छ अर्थात अभौतिकीकरण गर्नुपर्ने हुन्छ।




comments powered by Disqus