भाइटीकाको साइत १० बजेर ५१ मिनेटमा उत्तम मानिएको छ ।
भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने चलन छ । साथै सप्तरंगी टीकासँगै आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । यसैगरी याे दिन दियो, कलश पुज्ने, यमराज बोलाउने गरिन्छ । विमिरो, ओखर फोरिन्छ । यमराज, हनुमान, विभिषण र परशुरामको पुजा गरिन्छ ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौँको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउँछन् ।
यो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
नेवारी समुदायमा किजा पूजा
मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन् । तीन दिनसम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वस्ति नख: भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नख: भनेको चाड पर्व हो ।
यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । बिमिरोदेखि सबै प्रकारका फलफूल समेत मण्डपमा राख्ने गरिन्छ । नेवा: समुदायमा भने पञ्चरंगी टीका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टीका जसलाई नेवारी संस्कारमा 'जाकि सिन्ह' भनिन्छ । नेवार समुदायमा म्ह पुजा कै दिनमा जस्तै पूजा आजदेखि साैगन दिने चलन रहेको छ ।
पञ्चतत्वको सौगन दिनेदेखि पूजा गर्ने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदीबहिनीबीचको आत्मियताका लागि नेवा समुदायमा तिहार प्रसिद्ध छ ।