
नेपालमा सञ्चालित बैंकहरुको भिडमा मुक्तिनाथ विकास बैंक दिनानुदिन परिचित बन्दै गएको छ । वि.स. २०६३ साल पुस १९ गते ‘ख’ वर्गको बैंकको रुपमा स्थापना भइ पोखरामा मुख्य कार्यालय रहेर क्षेत्रीयस्तरको विकास बैंकका रुपमा बैंकले सेवा सुरु गरेको हो । छोटो समयमा आर्थिक कृयाकलापलाई मजवुत बनाउँदै लगे पछि बैंकले धादिंङ्गको सिभिक डेभलपेण्ट बैंकलाई प्राप्ती गरेर आफुलाई राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्थापीत गर्न सफल भएको हो ।
संस्थापकहरुको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहेको बैंकको चुक्ता पूँजी गत आर्थिक वर्षमा झण्डै २ गुणाले बढेर ६४ करोड रुपैंया पुगेको छ । सेवाग्राही तथा लगानीकर्ताको आकर्षणका कारण नै बैंकले सिभिकलाई प्राप्ती गरी अघिल्लो आर्थिक वर्षमा ३६ करोड रुपैंया रहेको चुक्ता पूँजीमा दोब्बर आकारले सुधार गरेको हो ।

सिभिकलाई प्राप्ती गरेसंगै ठुलो आकारमा सञ्चालित बैंकले त्यस पछि आफ्नो खुद नाफालाई झनै आक्रामक रुपमा बढाएको छ । आ.व. २०७०/७१ को चौथो त्रैमासको तुलनामा बैंकले गत आर्थिक वर्षको चौथो त्रेमास सम्ममा बैंकले आफ्नो खुद मुनाफा ५५ प्रतिशतले बढाउनुले पनि यसलाई पुष्टि गर्दछ । उक्त अवधिमा मात्र बैंकले आफ्नो खुद नाफालाई १५ करोड रुपैंयाबाट बढाएर २३ करोड रुपैंया भन्दा माथि पु¥याउन सफल भएको हो ।
आ.व. २०७०/७१ को चौथो त्रैमास सम्ममा बैंकको खुद नाफा १५ करोड २० लाख रुपैंया थियो भने गत आर्थिक वर्षको चौथो त्रैमास सम्म आइपुग्दा यो २३ करोड ६७ लाख रहेको छ । बैंकको प्रति शेयर आम्दानीमा कमी आएता पनि चुक्ता पूँजीमा भएको वृद्धीको तुलनामा यसलाइ उचित मान्न सकिन्छ ।
विकास बैंकमा नाफा, निष्कृय कर्जा अनुपात लगायत विषयमा चर्चा बटुलेको यस बैंकको आ.व. २०७१/७२ को चौथो त्रैमासको वित्तिय अवस्थालाई अघिल्लो आ.व. को सोही अवधिसँग तुलनात्मक विश्लेषण गर्दा प्राप्त सवल र कमजोर पक्षहरु के के हुन ?

सवल पक्षः
- स्थापनाको छोटो समयमा सिभिक बैंकलाई प्राप्ति गर्न सक्नु ।
- क्षेत्रीयबाट राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती हुनु ।
- जगेडा कोष झण्डै ५२ प्रतिशतले वृद्धि हुनु ।
- चुक्ता पूँजी झण्डै ७५ प्रतिशतले वृद्धि हुनु ।
- संस्थागत सुशासनलाई प्राथमिक्तामा राख्नु ।
- देशव्यापी रुपमा शाखा सञ्चलन तथा सेवा प्रवाहलाई प्राथमिक्ता दिनु ।
- ४८ वटा शाखाका साथै अन्य वित्तीय संस्थासंगको सहकार्यमा सेवा दिन सक्नु ।
- ग्राहक संख्या १ लाख ७५ हजार भन्दा बढी हुनु ।
- निक्षेप संकलन तथा कर्जा प्रवाहमा क्रमशः ४९ दशमलव ७१ र ५२ दशमलव ३३ प्रतिशतले सुधार हुनु ।
- खुद नाफामा ५५ प्रतिशत भन्दा बढीले सुधार हुनु ।
- पुजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्युसि रेशियो) मा आएको सुधारले लगानीकर्तालाई लगानी सुनिश्चित र सुरक्षित रहेको महशुस गराउनु ।
- निष्किृय कर्जा अनुपातमा झण्डै ५७ प्रतिशतको सुधार गरि शुन्य दमलव १९ प्रतिशत कायम गराउनु ।
कमजोर पक्षः
- प्रतिशेयर आम्दानीमा साढे १० प्रतिशतले गिरावट आउनु ।
- प्रतिशेयर नेटवर्थमा ४ दशमलव ८७ प्रतिशतले गिरावट आउनु ।
- चुक्ता पूँजीको अनुपातमा खुद नाफामा वृद्धि हुन नसक्नु ।
- रिटर्न अन इक्विटी अघिल्लो आर्थिक वर्षको जस्तै अवस्थामा रहनुले लगानीकर्तालाई आकर्षित गर्न नसक्नु ।
- सिडी रेशियो स्थिरप्राय रहनु ।
स्थापनको छोटो अवधिमा बनाएको पहिचानका आधारमा बैंकको शेयर कारोबार उल्लेख्य रुपमा भैरहेको छ । खुद नाफा र प्रतिशेयर आम्दानीमा देखिएको अनपेक्षित सुधारका कारण बजारमा बैंकको शेयरमा लगानीकर्ता आकर्षित भैरहेका छन् । गत असार मसान्तमा ५ सय ५६ रुपैंया प्रतिकित्ताका दरले कारोबार भएको बैंकको शेयर बुधबार ६ सय ९६ रुपैंयामा किनबेच हुनुले पनि यसलाई पुष्टि गर्छ ।
मूल्य आम्दानी अनुपात १५ दशमलव २५, प्रति शेयर नेटवर्थ १ सय ५५ रुपैंया, पूँजी कोष अनुपात १३ दशमलव ५२ प्रतिशत र प्रति शेयर सम्पतिको मूल्य १ हजार ४ सय २० रुपैंया रहेको बैंकले राष्ट्र बैंकले ताकेको दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउँन आफै संभव नभए पनि राम्रा र बढी पूँजी भएका बिकास बैंकहरुलाई समेट्न सक्ने क्षमता राख्छ ।
यो पनि पढ्नुहोस् । यस्तो प्रगति गर्ने अरु छ कुनै बिकास बैंक ?
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।