शेयर स्वाप रेसियो तय र सैद्धान्तिक स्वीकृतिपछि पनि शेयर कारोबार किन रोक्ने ?

Jan 20, 2016 Merolagani

बैंक तथा बित्तीय संस्थाहरुलाई  मर्जमा जान लगाएर लाखौं लगानीकर्ताको अर्बौ रुपैयाँ बराबरको शेयर अनन्तकालसम्म बन्धक बनाईराख्ने नियमनकारी निकायहरुको सोचाईमा बदलाव नआउँदा बेकारको पीडा लगानीकर्ताले भोगिरहनु परेको छ । पछिल्लो उदाहरण नै हेर्ने हो भने बैंक अफ काठमाडौ र लुम्बिनी बैंकले प्रायः सबै कुरा टुंगो लगाएर मर्जलाई अन्तिम रुप दिन साधारणसभा बोलाएका छन् भने गत असोजमा मर्जमा जाने सम्झौता गरेका माछापुच्छ्रे र जनता बैंकले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएका छन् । 

त्यस्तै एक बर्ष भन्दा बढी समय कारोबार रोकिएको ग्राण्ड बैंकले बल्ल प्रभुमा मर्ज हुने अन्तिम स्वीकृति पाएको छ । मर्जको प्रक्रिया सुरु भएपछि प्रभुको पनि कारोबार रोकिएर लाखौ लगानीकर्ताको शेयर किनबेच ठप्प छ ,।   लगानीकर्ताको शेयर कहिलेसम्म बन्धक बन्ला ? टुंगो छैन । 

 

बीओके र लुम्बिनीले शेयर स्वाप रेसियो, मर्जपछि बन्ने बैंकको नाम समेत टुंगो लगाएका छन् । यही मेसोमा बीओकेले माघ २४ गते २१ औं साधारणसभा बोलाएको छ । त्यसैगरी लुम्बिनी बैंकले पनि माघ २४ गते नै साधारणसभा राखेर मर्ज प्रक्रिया पारित गर्ने सूचना जारी गरेको छ । 

 

 सम्पति तथा दायित्व मुल्याड.कन र सहमतिको आधारमा शेयर स्वाप रेसियो तय भईसकेकाले यी दुई बैंकको मर्ज प्रक्रिया बढीमा दुई महिनाभित्र सकिने संकेत देखिएको छ । तर यसअघिको अभ्यास हेर्दा राष्ट्र बैंक, धितो पत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट सबै प्रक्रिया पुरा हुँदा कम्तिमा ८ महिना लाग्ने देखिन्छ ।

 

बैंकका अरु प्रक्रिया चल्दै गर्छन तर डीडीएको आधारमा शेयर स्वाप रेसियो तय भई राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाईसकेपछि  पनि नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार रोकिराख्नु कतिसम्म युक्तिसंगत होला ? यो प्रश्न अब गंभीर रुपमा लगानीकर्ताले उठाउँन थालेका छन् । शेयर स्वाप रेसियोको आधारमा दोस्रो बजारमा शेयर मूल्य तय गरेर कारोबार खोलिदिंदा लाखौं लगानीकर्तालाई राहत पुग्ने थियो । भारत लगायतका देशहरुमा कम्पनीहरुबीच मर्जको सम्झौता भएर शेयर स्वाप रेसियो तय भएपछि कारोबार सुरु हुने गरेको छ, त्यो अभ्यासलाई यहाँ किन लागु नगर्ने ?

 

धितोपत्र बजार आधुनिकीकरण हुँदै गएको, मार्केट डेब्थको पनि सुबिधा लगानीकर्ताले प्राप्त र लगानीकर्ताहरुमा कम्पनीको अबस्थाबारे बिश्लेषण गर्ने क्षमता पनि बढ्दै गएकोले मर्जमा रहेका कम्पनीहरुको शेयर कारोबार औपचारिकताको एउटा चरणपछि खोलिदिँदा आकाश खस्दैन । यसमा न त नियमनकारी निकायहरुको ध्यान गएकोे छ, न त सम्बन्धित कम्पनीका संचालक र ब्यबस्थापकहरु नै गंभीर देखिन्छन् ।

 

मर्ज वा एक्विजिशनको हल्ला चल्ने बित्तिकै शेयर बजारमा ती कम्पनीको शेयर मूल्य तलमाथि हुन विश्वब्यापी प्रबृत्ति हो । लगानीकर्ताहरु कम्पनीहरुको भबिष्यप्रति संशकित हुँदै आफ्नो धन सुरक्षित गर्नतिर लाग्नुलाई अन्यथा भन्न मिल्दैन । तर नियमनकारी निकायहरुको ध्यान के मा हुनुपर्छ भने एउटा प्रक्रियाको कारणले बहुसंख्यक लगानीकर्ताले दुख नपाऊन् । 

 

भारतको एउटा उदाहरण हेरौ

भारतमा सन् २००० को डिसेम्बर ९ मा आईसीआईसीआई बैंक र बैंक अफ मडृराबीच मर्ज हुने समाचार बाहिर आयो । डिसेम्बर ११ मा दुबै बैंकले आधिकारिक सूचना बाहिर ल्याए । दुबै बैंक मर्ज हुंदाको स्वाप रेसियो सार्वजनिक भएपछि डिसेम्बर १८ मा बम्बई स्टक एक्सचेन्व र नेशनल स्टक एक्सचेन्जमा बैंक अफ मडुराको शेयर मूल्य बढेर आईसीआईसीआई बैंककै हाराहारीमा पुगेको थियो । शेयर बजारले आफसेआफ मूल्य समायोजन गरेको थियो र सबैभन्दा बढी लाभ बेंक अफ मडुराका लगानीकर्ताले पाएका थिए । डिसेम्बर ११ मा मर्ज सम्झौताको आधिकारिक घोषणा भएकोमा मार्च १ मा दुबै बैंकको मर्जलाई रिजर्भ बैंक अफ ईडियाले स्वीकृत गरेको थियो । त्यहाँ लगानीकर्ता प्रताडित भएनन्, बरु उत्साहित भएर बीएसई र एनएसईमा कारोबार गरिरहे ।

 

कारोबार किन रोक्ने ? 

शेयर कारोबार खोल्दा बढी चलखेल हुन्छ र शेयर मूल्य आकाशिन्छ भन्ने डर नियमनकारी निकायहरुलाई हो भने यो त मर्जको सम्झौता हुनु अगाडि नै भईसकेको हुन्छ । मर्जको सम्झौता हुने दिन वा अघिल्लो दिन नै पहुंचवालाहरुले यो कुरा थाहा पाएर शेयरको मुल्य बढाएर शेयर बेचिसकेका हुन्छन् । फस्ने त सूचनामा पहुंच नहुने सर्वसाधारण लगानीकर्ता नै हो । बीओके र लुम्बिनीको मर्ज सम्झौता हुने दिन जसरी यी दुई बैंकको अधिक कारोबार भयो, त्यो सूचनामा पहुंच राख्नेहरुकै कारण थियो भन्ने स्पष्ट छ । त्यो दिन बीओकेको मुल्य घट्ने र लुम्बिनीको बढेर जसरी धेरै शेयर किनबेच भयो त्यसमा धेरै पहुंचवाला लगानीकर्ताको खेल थियो, सर्बसाधारण लगानीकर्ताले त त्यतिखेर थाहा पाए जब कारोबार समय सकिएर दुबै बैंकबीच मर्जको सम्झौता भएको समाचार बाहिर आयो ।

हुन त मेरोलगानी डटकमले बीओके र लुम्बिनीको मर्ज सम्झौताको अन्तिम तयारी भईरहेको भन्दै स्वाप रेसियो समेत उल्लेख गरेर दुई साता अगाडि नै बिस्तृत समाचार दिएका थियो । नेपालको शेयर बजारमा लगानी गर्नेहरुमा तथ्य बिश्लेषण र सूचनाको पुष्टि गरेर लगानी गर्ने पक्ष कमजोर र हल्लाकै भरमा चल्ने पक्ष बलियो रहेको हुँदा त्यो समाचारको प्रभाव कस्तो पर्यो भन्न सकिन्न ।

 

धितोपत्र बजारमा सुचिकृत २९ बाणिज्य बैंक मध्ये १० बाणिज्य बैंक मर्जमा गएर कारोबार रोेकिएको र यही प्रक्रियामा रहेका बिकास बैंक र फाईनान्सहरुको संख्या दोब्बर भएकाले लाखौं लगानीकर्ता प्रभावित भएका छन् । मर्जमा जाने बाणिज्य बैंकहरुको संख्या १५ भन्दा बढी हुने आँकलन गरिएकाले नेप्सेमा कारोबार अझ बढी प्रभावित हुने दिन आउँदै छ । नेप्सेमा कारोबार हुने शेयर मध्येमा बाणिज्य बैंकको हिस्सा ६० प्रतिशत भन्दा बढी भएकाले बजार प्रभावित हुने कुरा निश्चित छ । मर्जका कारण ठूला र राम्रा कम्पनीका शेयर कारोबार रोकिदा शेयर बजारमा शेयर माग र आपुर्तिमा गंभीर असर परी कमजोर कम्पनीहरुको शेयरमा अनाबश्यक चलखेल भएको छ भने मर्जमा जाने कम्पनीहरु अरु थपिदा त्यसको गंभीर असर नेप्सेमा पर्ने देखिन्छ । यसबाट शेयर बजारमा जोखिम बढ्नुका साथै राम्रा कम्पनीका लगानीकर्ता बढेको बजारबाट लाभ लिनबाट बंचित भएका छन् ।

 

मर्जको क्रममा भर्खर कारोबार रोकिएकाहरुको कुरा छाड्ने हो भने पनि प्रभु र ग्राण्ड, मेगा र पश्चिमान्चल बिकास बैंकका लगानीकर्ताहरुको पखाई असह्यै भईसकेको छ । तर यसप्रति न त नियमनकारी निकायको चिन्ता छ, न त बैंक संचालकहरु नै जवाफदेही देखिन्छन् । 

 

मर्ज प्रक्रिया छोट्याएर तीन महिना भित्रमा शेयर कारोबार खुल्ला गर्ने गरी कानुनी ब्यवस्था मिलाउन राष्ट्र बैंकले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको बुझिएको छ । यो कुरा पनि तत्कालै कार्यान्वयनमा आउँला भन्न सकिन्न । मजमा गएका बैंक तथा बित्तीय संस्थाका लगानीकर्ताले अरु बढी समय प्रताडित हुनुपर्ने छ । 

 

बैंक तथा बित्तीय संस्थाहरुलाई बलियो, सुरक्षित र सक्षम बनाउन मर्जमा जाऊ भनेर केन्द्रीय बैंकले बाध्य बनाउनु निकै सकारात्मक पक्ष हो तर यससँग लाखौं लगानीकर्ताको अर्बौको सम्पति बन्धक बनिरहेको हेरेर बस्नु र अनन्तकालसम्म त्यसलाई बन्धक नै राखिराख्न खोज्नु अबश्य पनि उचित हैन । मर्ज प्रक्रिया छोट्याएर हुन्छ वा शेयर स्वाप रेसियो तय भईसकेपछि मुल्य समायोजन गरी शेयर कारोबार खोलेर कसरी हुन्छ सर्बसाधारण लगानीकर्तालाई राहत दिने काम नियमनकारी निकायहरुले गर्नेपर्छ ।

........................................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।