बोर्डको निर्देशन सकरात्मक भएको भन्दै एशोसिएशनले नियमक निकायका बिचमा समन्वय नगरी आवेदकको बैंक खातामा शेयर नपरेको पैसा जम्मा गर्न नसकिने जवाफ धितोपत्र बोर्डलाई दिएको हो ।
गत बिहीबार मात्र धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरुलाई ५ बुँदे निर्देशन दिएको थियो । त्यस लगत्तै मर्चेण्ट बैंकर एशोसिएशनले शुक्रबार संरचनागत आधार तयार भै नसकेको र धितोपत्र बोर्डले शेयर नपरेको पैसा फिर्ता गराउने सबै पक्षका बिचमा समन्वय नगरेको अवस्थामा आफुहरुले निर्देशन अनुसार काम गर्न नसक्ने व्यहोराको जवाफि पत्र धितो पत्र बोर्डमा पठाएको छ ।
एशोसिएसनका अध्यक्ष प्रविणरमण पराजुलीका अनुसार एशोसिएसनले समन्वयकारी भुमिकाको अभावमा मर्चेण्ट बैंकरले पैसा खातामा पठाउन नसक्ने व्यहोराको पत्र बोर्डमा पठाइएको हो । मेरोलगानीसंग कुरा गर्दै नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेका एशोसिएशनका अध्यक्ष पराजुलीले भने ‘बोर्डले यसमा प्रत्यक्ष भुमिका खेल्ने बैंकहरुका नाममा राष्ट्र बैंकबाट समन्वय गरि मर्चेण्ट बैंकरहरुले पठाएको तथ्यांकका आधारमा शेयर नपरेको पैसा खातामा जम्मा गराउन प्रत्येक बैंकहरुलाई निर्देशन जारी गराउनु पर्छ ।’
‘सबै बैंकलाई यो काममा जिम्मेवारी वहनको विषयलाई अनिवार्य नगराई हामीले त्यसमा जोखिम मोल्न सक्दैनौं । अहिले तरता अधिक भएका बेला बैंकहरुले चेक क्लियरिंग गराउन असहयोग गरिरहेको हामीले अनुभव गरेका छौं । जसले ६ दिनमा चेक क्लियरिंग गराइसक्नु पर्ने व्यवस्था विपररित २० दिनसम्म समय लागि रहेको छ, यो अवस्थामा बैंक खातामा पैसा जम्मा गर्ने विषय पनि समस्यामा पर्छ । बैंकका नाममा सर्कुलर जारी हुनै पर्छ’ उनले भने ।
एसोशिएसनले यसको विकल्पका रुपमा नेपाल क्लियरिंग हाउससंग समन्वयका लागि पनि बोर्डको ध्यानाकर्षण गराएको छ । हाउसमा सदस्य बनेका बैंकको खातामा शेयर नपरेको पैसा जम्मा गर्न सजिलो भएकाले पहिलो चरणमा क्लियरिंग हाउससंग समन्वकारी भुमिका खेलेर मात्र बोर्डले यस्तो निर्देशन जारी गर्नु पर्ने एशोसिएशनको ठम्याई छ ।
‘अहिले एकाध शेयर निष्काशनका दौरान हामी आफैंले हाउससंग समन्वय गरेर केही आवेदकको पैसा बैंक खातामा जम्मा गराइरहेका छौं तर सबैको हकमा यसरी काम गर्न असम्भव छ । निर्देशन दिने मात्र काम नगरि बोर्डले समन्वहारी भुमिका पनि निर्वाह गरोस भन्ने हाम्रो चाहना हो । बोर्डको निर्देशन एकदमै सकरात्मक छ’ एशोसिएसन अध्यक्ष पराजुलीले भने ।
बहुसंख्यक आवेदनमा एउटा चेकको प्रयोग के होला ?
अहिलेको अवस्थामा बहुसंख्यक आवेदनमा एउटा चेकको प्रयोगलाई निरुत्साहित गर्ने काम सकरात्मक भए पनि विभिन्न कारणले तत्काल कार्यान्वायनमा नआउने आशंका बढेको छ । अहिलेको व्यवस्था अनुसार ५० हजार रुपैंयाभन्दा माथिका आवेदकले एउटा फारममा अनिवार्य रुपमा एउटा चेक बुझाउनु पर्ने व्यवस्था छ ।
यस्तो व्यवस्था भए पनि क्लियरिंगमा हुने सहजताकारण मर्चेण्ट बैंकहरुले बहुसंख्यक आवेदनमा एउटा चेक लिंदै आएका मात्र हुन् । यसमा बोर्डले पहिले पनि प्रतिबन्धात्मक निर्देशन जारी गर्न सक्थ्यो । तर यसका लागि पनि बोर्डले बैंक तथा वित्तीय संस्थालाई अहिलेको व्यवस्था अनुसार ६ दिनमा चेक क्लियरिंग गराउन अनिवार्य रुपमा काम गर्न कुनै निकायसंगको समन्वयमा निर्देशन जारी गर्न सक्थ्यो । तर बोर्डले कहिल्यै पनि यसमा ध्यान दिएको छैन ।
मर्चेण्ट बैंकहरुले बैंकहरुको असहयोगका कारण अहिले शेयरका लागि परेको आवेदनमा बहुसंख्यक र एकल गरि ५० हजारको हाहारीमा आउने गरेका चेक विभिन्न बैंकहरु मर्फत २० दिन लगाएर क्लियरिंग गराईरहेका छन् ।
पराजुली भन्छन् ‘अधिक तरलता भएको अवस्थामा आफुलाई कुनै नाफा नहुने भए पछि बैंकले किन हामीले पठाउने चेक क्लियरिंग गर्छन् ? हामीले यसमा बैंकको सहयोग पाउनै सकेका छैनौं र कहिलेसम्म सहयोगका आधारमा काम गर्ने ? बोर्डले बैंकहरुलाई पनि अनिवार्य रुपमा निर्धारित समयमा चेक क्लियरिंग गराउन पहल गर्नु पर्यो हामीले मात्र केही गर्न सक्दैनौं ।’
परिवारले बहुसंख्यक आवेदनमा एउटा चेक प्रयोग गर्ने कुराको बिरोध
एकाध परिवारले एउटा चेकबाट धेरै आवेदन दिन सक्ने कुराको पनि एशोसिएसनले बिरोध गरेको छ ।
एसोशिएसन भन्छ ‘इन्भेष्टर आइडी कार्यान्वायनमा पनि नल्याउने, लगानीकर्ताको डाटाबेस पनि तयार नगर्ने अनि हामीले फोन गरेकार आवेदकलाई सोध्ने कि, अनुहार हेरेर चिन्ने कि कसरी एउटा परिवारको आवेदन फारममा एउटा चेक आयो भन्ने पत्ता लगाउने ? एउटा मेकानिजम त दिन पर्यो नि ।’
एशोसिएशनले अहिले प्रत्येक आवेदनमा एउटा चेक प्रणाली लागू गर्न सम्भव रहेको भन्दै यसले क्लियरिंगको अवधि महिना दिनभन्दा बढी लाग्ने र बाँडफाँड प्रकृया लम्बिनेतर्फ बोर्डको ध्यानाकर्षण गराएको छ । ‘हामी प्रत्येक आवेदनमा एउटा चेक लिन तयार छौं, क्लियरिंग छिटो गराउने जिम्मा हाम्रो मात्र हैन, अहिलेको रफ्तारमा त्यसरी पर्ने आवेदनको चेक क्लियरिंग महिना दिनमा पनि पुरा हुन गाह्रो छ । तोकिएको मितिमा शेयर बाँडफाँड हुन नसक्ने यथार्थलाई बोर्डले बुझेर त्यसै अनुरुपको व्यवस्था गरोस्’ एशोसिएसनको भनाई छ ।
निर्धारित मितिमा शेयर बाँडफाँडका लागि निरन्तर फलोअप गरिरहेको बोर्डले अहिलेको व्यवस्था अनुसार चेक क्लियरिंग पनि ६ दिन भित्रमा जसरी पनि गराईसक्न किन बाध्यकारी व्यवस्था गरेको छैन ? व्यवस्थामा भए अनुसार एउटा आवेदनमा एउटा चेकको प्रयोगलाई विगतमा किन अनिवार्य गराउन सकेन र शेयर निष्काशनका दौरान लगानीकर्ताको मर्मविपरित आफुले जिम्मेवारी नलिकन निर्देशन मात्र जारी गर्दैछ ? यस्तै प्रश्न बोर्डले निर्देशन जारी गरे पछि सामाजिक सञ्जालमा अधिक चर्चामा रहेका छन् । लगानीकर्ता पनि बोर्डको कार्यशैली गैरजिम्मेवार भएको भन्दै समन्यवकारी भुमिकाका लागि बोर्डलाई सुझाव दिन्छन् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
सवा दश लाख कित्ता साधारण शेयर निष्काशन गर्दे राधी हाइड्रो