सेयरमा कसरी सुरक्षित लगानी गर्ने ? दशैं विदामा यी कुराको गर्नुहोस् अध्ययन

Sep 27, 2017 Merolagani

सेयर बजारमा नयाँ अनि साना लगानीकर्ताको संख्या बढ्दै गर्दा आफुले गरेको लगानी कसरी सुरक्षित गर्ने भन्ने चासो उत्तिकै छ । हल्लाका भरमा सेयर किन्ने अनि बेच्ने गर्दा अर्काको स्वार्थ पुरा भए पनि आफुले लाभ लिन नसक्ने क्रम पनि बढ्दो छ । यस्तो अवस्थामा लगानीकर्ताले कसरी आफ्नो लगानी सुरक्षित गर्ने त ? यसरी गर्नुहोस् कम्पनी अध्ययन ...

१. सबै कम्पनीहरुले गत आर्थिक वर्षको बित्तीय बिबरण प्रकाशित गरिसकेका छन् । त्यस्ता बित्तीय बिबरणहरु अध्ययन गर्नुहोस् र आफुले लगानी गरेको कम्पनीको बारेमा जानकारी हासिल गर्नुहोस् । अघिल्ला बर्षहरुको बित्तीय बिबरणसँग तुलना गर्नुहोस् । यदि अघिल्लो बर्ष भन्दा खुद नाफा बढाएको छैन, निस्क्रिय कर्जा बढेको छ, प्रति सेयर आम्दानी घटेको छ, जगेडा कोष घटेको छ, नाफा बाड्नसक्ने हैसियत छैन भने त्यो सेयर बेचिदिनुहोस् ।

सूचनामा पहुँच भएका लगानीकर्ताले कम्पनीहरुको गोप्य सूचना पहिल्यै थाहा पाएर सेयर बजारमा चलखेल गर्ने गरेका गुनासोहरु आईरहेको धितोपत्र बोर्डको भनाई छ । यसरी सूचना चुहिएर सेयर मूल्य उचालिएका कम्पनीहरुमा आफुले लगानी बढाउनु अघि गंभीर हुनुहोस् । तपाइँले पछि सूचना थाहा पाएर सेयर किन्न जाँदा पहिल्यै सुचना थाहा पाएर सेयर किनेकाहरु बेच्ने तरखर गरिरहेका हुन सक्छन्, तपाइँ मंहगो मूल्यमा सेयर किनेर घाटामा पर्न सक्नुहुन्छ ।

पहिले सस्तोमा सेयर किनेर बसेकाहरुले भाऊ बढेको बेलामा बेच्छन भन्ने कुरा सधै हेक्का राखौं । बजारमा सेयरको माग र आपुर्तिले मूल्य घटबढ गराउँछ । सेयरको माग धेरै हुँदा बिक्रेताहरुको चरम अभाव भएको अबस्थामा मूल्य धेरै बढ्छ भने बिक्रेताहरुको ओइरो लाग्दा मूल्य तीब्र रुपमा ओरालो लाग्छ । बजारको यो नियम बुझेर लगानी गर्नुपर्छ ।

तीब्र रुपमा मूल्य तलमाथि भएको बेला हतारिएर सेयर किनबेच गर्दा घाटा खानुपर्ने अबस्था पनि आउँनसक्छ । सधै होसियार बनौ ।

२. गत बर्ष खुद नाफा र प्रति सेयर आम्दानी बढाउन नसकेर जगेडा कोष रित्तो रहेका वा निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा बढी भएका कम्पनीहरु थारो गाई हुन्, किनभने तिनीहरु यसपालि ब्याउँदैनन् । त्यसलाई बेचिहाल्नुस र नाफा सुरक्षित गर्नहोस् । हिन्दु धर्म अनुसार गाई बेच्नु पाप होला तर सेयर बजारका यस्ता थारा गाई बेच्दा पाप हैन, आर्थिक सुख र शान्ति मिल्दछ । यस्ता थारा गाई नबेची राख्नुभयो भने पराल, घांस, ढुटोको खर्च मात्रै हुन्छ, दुध अथार्त लाभांश केही पाईन्न ।

. आफुले किनको सेयर मूल्य राम्रै बढेको छ तर ऋण लिएर र कसैसँग सापटी मागेर सेयर बजारमा लगानी गर्नु भएको छ भने मूल्य बढेको सेयर बेचेर ऋण तिर्नुहोस् । यसरी ऋण तिर्न पुग्ने सेयर बेचेपछि तपाइँसँग जत्ति सेयर बाँकी हुन्छ, त्यो तपाइँको खुद नाफा भयो । अब तपाईलाई जोखिम सुन्य बराबर हुनेछ । सुन्य जोखिममा रहेका सेयर नबेची पालेरै राख्दा पनि दीर्घकालमा अरु धेरै फाईदा हुन्छ । ऋणमा नचल्नेहरु आजभोलि कमै हुन्छन् । तर ऋण ब्यवस्थापन राम्रोसँग गरिएन भने त्यसले मानसिक चिन्ता र तनाव बढाउँछ । ऋण ब्यवस्थापन राम्ररी नगर्दा कतिपय करोडपतिहरु धितो लिलाम भएर सडकमा पुगेका पनि भेटिन्छन् । त्यसैले सेयरमा फाईदा र नाफा हुँदा सबैभन्दा पहिले ऋण तिर्ने नै जोखिमबाट बच्ने उत्तम उपाय हो ।

. सेयर बेच्ने सवालमा आफुसँग भएको सेयरलाई ४ भागमा बाड्नुहोस् । पहिलो भागमा खराब कम्पनीका सेयरहरु राख्नुहोस् । दोस्रो भागमा कमशल कम्पनीहरु राख्नुहोस् । तेस्रो भागमा हकप्रद मात्रै दिने वा आफुले हालेको मूल्यको तुलनामा कम लाभांश दिने कम्पनीहरुलाई राख्नुहोस् । चौथो भागमा राम्रा कम्पनीका सस्तोमा किनिएका सेयरहरु, खासगरी आईपीओमा परेका सेयरहरु यस बर्गमा राख्नुहोस्। पहिलो भागको सेयर नाफा भएको दिन बेचिहाल्नुस् । दोस्रो भागका सेयरहरु मूल्य बढे पनि बिचार गरेर बेच्नुहोस् । तेस्रो भागका कम्पनीका सेयरहरुको प्रगति समीक्षा गर्नुहोस् र धेरै मुल्य आएमा मात्र बेच्नुहोस् । चौथो भागमा राखिएका सेयरहरु जीवनभर राखे पनि फरक पर्दैन ।  

. सेयर किन्दा हकप्रद भन्दा बोनस दिने कम्पनीहरु छान्नुहोस् । अहिले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउँन राम्राले भन्दा नराम्रा कम्पनीले हकप्रद सेयर जारी गर्ने क्रम तिब्र पारेका छन् । हकप्रद जारी गर्ने भनेको कम्पनीले तपाइँबाट पैसा लिने हो तर बोनस सेयर कम्पनीले तपाइँलाई दिने हो । कतिपय कम्पनीले सयौं प्रतिशतसम्म हकप्रद जारी गर्ने निर्णय गरेकोमा त्यसका संस्थापकहरुले हकप्रद हाल्ने पैसा जुटाउन नसकेर सेयर बेच्दै हिडेको पनि पाईएको छ । तपाइँसँग १० वटा कम्पनीको सेयर छ र ती सबैको हकप्रद भर्नुपर्यो भने तपाइँको पनि हालत खराब हुने दिन आउँन सक्छ । थोरै कित्ता हकप्रद भर्नुपर्ने छ भने त टार्नुहोला नत्र धेरै भए हकप्रद भर्न पैसा खोज्दैको हैरान ।

राम्रा कम्पनीले धेरै बोनस सेयर दिएर र थोरै हकप्रद जारी गरेर वा अरु संस्थालाई किनेर पूँजी बढाउँछन् तर नराम्राले हकप्रदकै सहारा लिने हो । कुनै कम्पनीले  धेरै अर्थात हालको पूँजीको दोब्बर हकप्रद सेयर जारी गर्ने निर्णय सार्वजनिक गर्यो भन्दैमा उचालिएर सेयर नकिन्नुहोस् किनभने ती कम्पनीले तपाइँबाट पैसा उठाउँन लागेका हुन् । कम्पनीले हकप्रद जारी गर्ने घोषणा गर्दैमा तत्काल त्यो सेयर किन्न पाईने पनि हैन, प्रक्रिया पुरा गरी  त्यो बिक्रीमा आउन कम्तिमा तीन महिना लाग्छ । राम्रा कम्पनीको हकप्रद किन्दा फाईदै हुन्छ तर खराब कम्पनीहरुको हकप्रदले खासै लाभ दिदैन, सेयरको मूल्य बढ्ला कि भन्ने आश मात्रै हो । त्यसैले हकप्रदको हल्लामा उचालिन र बुर्कुर्सी मारेर मुल्य बढेका सेयर किन्न आजै छाड्नुहोस् । 

६. सेयर किन्दा अघिल्लो बर्ष भन्दा गत बर्ष खुद नाफा र प्रति सेयर आम्दानी उल्लेखनीय रुपमा बढाएका (प्रति सेयर कम्तिमा २० देखि ३० रुपैयाँ), चुक्ता पूँजी धेरै भएका, जगेडा कोष चुक्ता पूँजीको हाराहारी वा त्यसको आघा कम भए पनि ठीकै छ, निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएका, सेयरको भाऊ छ सय भन्दा कम भएका, मूल्य आम्दानी अनुपात २५ गुणा भन्दा कम भएका, डुबेको ऋण उठाएर र सम्पति बेचेर हैन, ब्याज आम्दानी, संचालन मुनाफा र नियमित कारोबारबाट धेरै कमाएका, पूँजीकोष ११ प्रतिशत भन्दा माथि भएका, बोनस सेयरबाटै पूँजी बृद्धि गर्ने क्षमता राख्ने, अघिल्ला बर्षहरुमा लाभांश बितरणको दर बढाउँदै आएका र गत बर्षको लाभांश पनि बढाएरै दिने संकेत दिएका, संचालकहरु राम्रा र संस्थागत सुशासन भएका, मर्जमा गएर लामो समय सेयर कारोबार रोकिने संभावना नभएका कम्पनीहरुको सेयर किन्नुहोस् । जोखिम बहन क्षमता भएका यस्ता राम्रा र सस्ता कम्पनीहरु सेयर बजारमा थुप्रै छन् ।

७. आजको भोलि दोब्बर फाईदा हुन्छ भनेर हैन, कम्तिमा तीन बर्षका लागि लगानी गर्दैछु भनेर सोच्नुहोस् । तपाई सेयर कारोबारी हैन, लगानीकर्ता हो । तपाइँले गर्ने दीर्घकालीन लगानी नै हो र यसरी लगानी गरिएमा आफुले किनेको सेयरको मूल्य तत्काल घटे पनि दीर्घकालमा त्यसले दिने लााभांशबाट फाईदा नै हुन्छ भनेर सोच्नुहोस् । आईपीओ हाल्दा परेका वा सस्तोमा किनिएका सेयर आत्तिएर बेच्नु पर्दैन । पैसाको आबश्यकता भए, राम्रो कम्पनीको सेयर सहज रुपमा बेचेर गर्जो टार्न सक्ने संभावना त सधै हुने गर्छ । बैंकमा सेयर धितो राखेर कर्जा पनि पाईन्छ । 

. हल्लाका भरमा लगानी गर्दै नगर्नुहोस् । सेयर बजारमा अनेक हल्ला चल्छन् । त्यस्ता हल्लाको पछाडि सत्यता कत्ति छ भनेर जाच्नुहोस् । सही ठहरिएमा मात्र पत्याउनुहोस्, त्यसको प्रभाव आँकलन गर्नुहोस् र के गर्ने भनेर विवेकपूर्ण निर्णय गर्नुहोस् ।

. सेयर बजार क्रमशः उकालो लाग्दै गर्दा पहिले सेयर किनेर बसेकाहरु बढेको मूल्यमा सेयर बेच्दै जान्छन्, बजार बढेको हल्ला चारैतिर फैलिएपछि नयाँ र साना लगानीकर्ताहरु बजार प्रबेश गर्ने क्रम पनि तीब्र हुन्छ । पुराना र पहिल्यै सेयर किनेर बसेकाहरु बढेको मूल्यमा सेयर बेचेर बाहिर निस्कन्छन्, नयाँ र साना लगानीकर्ताको हातमा महंगो सेयर पर्छ । तर बजार सधै बढि पनि रहदैन, उच्चतम बिन्दुमा पुगेपछि स्थिर हुन्छ वा तलतिर झर्न थाल्छ तर त्यो उच्चतम बिन्दु कुन हो भनेर कसैले भन्न सक्दैन । त्यसैले आफु कति जोखिममा छु भनेर लगानीकर्ता स्वयंले यकिन गर्नुपर्छ ।

१०. सेयर बजारमा कुनको मूल्य धेरै बढेको छ भनेर लगानी गर्ने हैन, कुनको मूल्य बढ्न सकेको छैन, अवमूल्यनको अबस्थामा छ र बढ्नुपर्ने आधार पनि छ भनेर खोजी गरी लगानी गर्नुपर्छ । कतिपय कमजोर कम्पनीहरुको सेयर संख्या बजारमा कम हुन्छ, आधारभुत अबस्था पनि निकै कमजोर हुन्छ तर मूल्य भने दैनिक १० प्रतिशतले बढिरहेको हुन्छ, त्यसमै लगानी गर्दा कमाईने रहेछ भन्ने सोचेर लगानी गरियो भने फसिन्छ ।किनभने त्यस्ता कम्पनीहरुको सेयर सिमित ब्यक्तिको हातमा हुन्छ र उनीहरुले सेयर किन्न छाड्ने बित्तिकै फेरि १० प्रतिशतले मूल्य तल झर्न थाल्छ । नयाँ र साना लगानीकर्ताहरु यस्ता कम्पनीहरुबाट सदैब टाढा रहनुपर्छ ।

११. अरु लगानीकर्ता, सेयर दलाल, अनलाईन वा अरु कुनै संचार माध्यमको सल्लाहमा मात्र तपाइँले लगानी गर्नुभएको छ भने त्यसलाई आजै रोकेर आफ्नो निर्णयमा लगानी गर्ने गर्नुहोस् । सल्लाह सबैको लिनुस, निर्णय आफुले गर्नुस् ।  तपाइँले गर्ने लगानीमा तपाइँको निर्णय नै मुख्य हो, यदि अरुको बहकाउ र लहैलहैमा कमजोर अबस्थाका कम्पनीहरुको सेयरमा लगानी गर्नुभयो र डुब्नुभयो भने कोही पनि उद्धार गर्न आउने छैनन् ।

पत्रपत्रिका वा अनलाईनहरुमा आउने समाचारबाट पनि तत्कालै आतंकित नहुनुस किनभने सबै समाचार सत्य हुँदैनन् । समाचारलाई तथ्यसँग साक्षात्कार गराउनुहोस् वास्तविकता आफै थाहा पाईन्छ ।

१२. आफुसँग भएको सबै पैसा लगाएर एकैचोटी एउटै कम्पनीको सेयर नकिन्नुहोस् । केही राम्रा कम्पनीहरु छानेर पोर्टफोलियो बनाउनुहोस् र त्यस्ता कम्पनीहरुको सेयर थोरै थोरै किन्नुहोस् । एउटा कम्पनी घाटामा गयो भने पनि अर्को कम्पनीले दिने प्रतिफलले तपाईलाई नाफामा लैजानसक्छ । सेयर किनेर पनि केही पैसा आफुसँग सधै जगेडा राख्नुहोस् । सस्तोमा राम्रो कम्पनीको सेयर किन्ने मौका बजारमा जहिले पनि आईरहन्छ ।

१३. बजार घटेको बेला सेयर किन्नुहोस् र बढेको बजारमा बेच्नुहोस् । बजार बढ्दै जाँदा क्रमश बढेको मुल्यमा बेचेर नाफा सुरक्षित गर्नबाट नचुक्नुहोस् । नेपालका धेरै साना र नयाँ लगानीकर्तामा बजार घटेको बेलामा सेयर बेच्न हतारिने र बढेको बेलामा मूल्य माथि गएर सेयर किन्ने प्रबृत्ति छ, त्यसबाट तपाइँ चाँही मुक्त हुनुहोस् ।

१४. बढेको बजारमा सेयर बेचेपछि तत्कालै अर्को सेयर किनि नहाल्नुस्, केही दिन पर्खनुहोस् । बजार घट्ने मौका कुरेर बस्नुहोस् । जब बजार एउटा बिन्दुसम्म घट्छ, तब थोरै थोरै सेयर किन्दै जानुहोस्, जति तल बजार जान्छ, त्यत्ति धेरै किन्दै जानुहोस् । फेरि बजार माथि जान थाल्छ, बेच्ने क्रम सुरु गर्नुहोस् । तपाइँले तीन बर्षका लागि भनेर किनेको सेयर छ भने पनि मूल्य धेरै बढेमा बेचेर नाफा सुरक्षित गर्नुहोस् ।

१५. सेयर बजारको बढाई र घटाईमा प्रभाव पार्ने कुराहरु बिभिन्न हुनसक्छन् । देशको अर्थतन्त्र, राजनीति, अमन चैन, युद्ध, अशान्ति, विपत्ति, नियमनकारी निकायहरुको कदम, बजारमा लगानी गर्नेहरुको आत्मबल र मनोबृत्ति, बैंक ब्याज, अरु क्षेत्रमा लगानी जाने अबस्था, बजार सुधार र बिस्तारका कदमहरु, सामुहिक लगानी कोष र संस्थागत लगानीकर्ताहरुको बढ्दो उपस्थिति, कम्पनीहरुको अबस्था लगायतका कुराहरुले सेयर बजारमा प्रभाव पार्ने गर्छ । कहिले काँही के कारणले सेयर बजार घट्यो वा बढ्यो भन्ने कारण नै पत्ता लगाउँन सकिन्न । अरु कुरा जेजस्तो भए पनि लगानीकर्ताको मनोबल मुख्य कुरा हो, आम लगानीकर्ताहरुको मनोबल खस्कने र बढ्ने कुराको आँकलन पनि बारम्बार गरिरहनुपर्छ ।

१६. सेयर बजार जोखिमको क्षेत्र हो । सेयर बजारमा लगानी गरेर करोडपति भईन्छ भन्ने शीर्षक मात्र पढेर र , घरघरमा बिजुली, जनजनमा सेयर जस्ता लोकप्रिय नाराको भरमा लगानी गर्ने हैन । कम्पनीको आधारभुत अबस्था बुझेर लगानी गर्ने हो । बुद्धि पुर्याईएन, सुरक्षित सेयरमा लगानी गरिएन भने त्यसबाट कंगाल पनि बन्नुपर्ने रहेछ भन्ने बिगतका कयौं घटनाबाट पाठ सिकेर लगानीको निर्णय गर्नुपर्छ । अल्प ज्ञान जहाँ पनि हानिकारक हुनसक्छ, अध्ययनशील बन्नुहोस्, बिज्ञता हासिल गर्नुहोस् र लगानीको निर्णय गर्नुहोस् ।

१७. धेरै महत्वाकांक्षी नबन्नुहोस् । अहिलेको सेयर बजारमा पनि धेरै महत्वाकांक्षी भएर करोडौ लगानी गरेका लगानीकर्ताहरु पछुतो मानिरहेका छन् र आफुले किनेको सेयरको भाऊ मात्रै आए पनि बेचेर अर्को सेयरमा लगानी गर्ने थिएँ वा बाहिर निस्कन्थे भनेर मौका पर्खेर कुर्नेहरु छन् । उनीहरुले उचालिएर महंगो मूल्यमा त्यस्ता कम्पनीको सेयर किनेका थिए जसको अहिले मुल्य घटेको छ र सेयरको भाऊ फेरि त्यही किनेको बिन्दुमा पुग्न सकेको छैन, घाटा धान्नेगरी लाभांश पाउने छाँट पनि छैन । राम्रो कम्पनी भन्दैमा महंगो मुल्यमा सेयर किन्दा पनि यस्तै नियति भोग्नुपर्छ । कमसे कम तपाइँ चाँही त्यसबाट बच्नुहोस् ।

१८. नेप्से बढेकोमा हर्ष बढाइँ गर्ने र घटेकोमा चिन्ता गर्ने बानी छाड्नुहोस् । आफुले किनेको सेयरको मूल्य कति बढ्यो वा घट्यो भन्ने कुरामा बढि केन्द्रित हुनुहोस् । कतिपय समयमा नेप्से बढे पनि तपाइँले किनको सेयरको भाऊ घटिरहेको हुन्छ र नेप्से घटे पनि तपाँइको सेयरको मूल्य बिभिन्न कारणले सर्किट लागेर बढेको हुन्छ । 
सेयर बेचेर नाफा सुरक्षित गरेपछि आफुले बेचेको सेयरको भाऊ अरु बढ्न सक्छ र सेयरको मूल्य बढ्दै गएको बेला नबेची राख्दा मुल्य घटेर फेरि तल आउनसक्छ । सेयर बेचेर नाफा सुरक्षित गरी पछुताउने कि सेयर नबेची राख्दा मूल्य घटेर घाटा खाई पछुताउने ? सेयरको मूल्य बढ्दा नबेची राखेर फेरि मुल्य घटी पछुताउनु भन्दा नाफा सुरक्षित गरेर मुल्य बढेमा पछुताउनु राम्रो हो । 

१९. स्रोत नखुलेको, हुण्डी वा अन्य अबैध तवरले आएको रकम प्रयोग गरेर सेयर बजारमा लगानी नगर्नुहोस् किनभने त्यसको स्रोत पुष्टि गर्नसक्नु भएन भने तपाइँलाई सम्पति शुद्धिकरणको मुद्धा लाग्नसक्छ । यस्ता मुद्धाहरु अन्र्तराष्ट्रिय चासोका पनि हुनसक्छन् । सानो लोभले ठूलो झमेला र अफठेरोमा पर्न सकिन्छ भन्ने हेक्का सदैब राख्नुहोस् र सेयर किनबेच गर्दाको रकम लेनदेन बैंकमार्फत मात्र गर्नुहोस् । 

२०. सेयर कारोबार गर्दा राम्रो ब्यवस्थापन भएको र बिस्वासिलो सेयर दलालको कार्यालय रोज्नुहोस् । कतिपय दलालहरुले नियमनकारी निकायको निर्देशन पालना नगर्दा कारबाही भोगेर सेयर कारोबार नै रोक्का हुने गरेको पनि हुनसक्छ । त्यस्ताको कार्यालयमा गएर प्रयोगकर्ताको नाम र कारोबार कोड दर्ता गराउनु भएको छ भने दलाललाई कारोबारबाट बंचित गरिदाको मार तपाइँले पनि खेप्नुपर्छ, सेयर किनबेच गर्न पाईन्न ।

२१. सेयर बजार भन्दा बाहिर सेयर किनबेच गर्दै नगर्नुहोस् । अहिले सबै सेयर कारोबार नेप्सेको कारोबार प्रणालीमार्फत कागजरहित तबरले हुने हुँदा बाहिर कागजी मुचुल्का उठाएर गरिएको सेयर किनबेच र लेनदेन काम लाग्दैनन् र त्यसको कानुनी आधार पनि हुन्न । सुचिृकत कम्पनीको सेयर नभएमा कुरै सकियो, सुचिकृत कम्पनीको भए पनि कागजी लिखतका आधारमा तपाइँले किनेको सेयर तपाइँको नाममा अभौतिक खातामा ल्याउन अनेक झमेला हुनसक्छ । त्यस्तोमा फस्दै नफस्नुहोस् ।

२२.कस्तो सेयरमा लगानी गर्ने भन्ने पर्याप्त ज्ञान र अनुभव छैन भने सामुहिक लगानी कोषहरुको सेयर किनबेचको मासिक प्रतिबेदन हेर्नुहोस् र उनीहरुले कस्ता कस्ता सेयरहरु बढी संख्यामा किनिरहेका छन् भन्ने बुझेर पछ्याउनुहोस् । सामुहिक लगानी कोषहरुले बिज्ञहरुको टोलीबाट अध्ययन गराएर कस्ता कम्पनीमा लगानी गर्ने र जोखिम कसरी न्युनीकरण गर्ने भन्ने योजना बनाएका हुन्छन् । सामुहिक लगानी कोषको पोर्टफोलियो अध्ययनको आधारमा आफैले पोर्टफोलियो बनाएर लगानी गर्न सकिन्न भने सामुहिक लगानी कोषहरुकै ईकाई खरिद गरेर बस्नुहोस् । तपाइँको पैसाले उनीहरुले सेयर किन्छन् र जोखिम ब्यवस्थापन गरी सेयर बजारबाट नाफा गरेर तपाइँलाई पाँच बर्षपछि ईकाई खरिदमा लगानी गरेको भन्दा धेरै पैसा फिर्ता दिनेछन् । तपाइँले बार्षिक रुपमा लाभांश पाउने कुरा पनि हुन्छ र चाहेको बेलामा त्यस्ता ईकाईहरु सेयर बजारमा सजिलै बिक्री गर्न पनि सक्नुहुन्छ ।

नयाँ र साना लगानीकर्ताले कम्पनीहरुले निश्काशन गर्ने साधारण सेयर अर्थात आईपीओमा लगानी गर्नु त झन् सुरक्षित उपाय हो । यस्तो बेला आफु र आफ्नो परिवारका नाममा थोरै रकमको आबेदन गर्नुहोस्, सानो र थोरै कित्ता साधारण शेयर निश्काशन गर्ने कम्पनीको आईपीओ आबेदनमा धेरै रकम फसाएर फाईदा छैन  । धितोपत्र बोर्डले गरेको पछिल्लो व्यवस्था अनुसार न्यनतम कित्ताका लागि मात्र आवेदन गर्दा पनि अनिवार्य रुपमा १० कित्ता सेयर पाउने अवस्था रहन्छ ।

२३. राम्रा कम्पनीको साधारण सेयर निश्काशन हुँदा तपाइँले प्रति कित्ता एक सय रुपैयाँमा किन्ने अबसर पाउनु भएको थियो भने त्यस्ता कम्पनीको सेयर मूल्य जत्ति महंगो भए पनि नबेची राख्दा नै फाईदा हुन्छ । सुरुमा लगानी गरिएको एकसय रुपैयाँको सेयरले बोनस र नगद लाभांश प्राप्त गर्दा र सेयरको हालको मूल्य हिसाव गर्दा तपाईलाई कयौं गुणा फाईदा भईसकेको छ र आगामी दिनमा अरु धेरै लाभ हुनेछ । बेच्न नै मन लाग्यो वा पैसाको चर्को आबश्यकता भयो भने बोनस र हकप्रद वापत प्राप्त भएका केही सेयरहरु बेच्दा ठीकै हुन्छ । 

२४. बिगतमा खराब अबस्थामा पुगेर क्रमशः सुधार हुँदै गरेका कम्पनीहरुको सेयर मूल्य तल छ भने त्यस्ता कम्पनीहरुमा पनि थोरै लगानी गरेर राख्दा भबिष्यमा फाईदा हुनसक्छ ।

२५. मार्केट डेब्थ मात्रै हेरेर सेयर किन्ने र बेच्ने कार्य नगर्नुहोस् । कतिपय घटनाहरुमा खराब कम्पनीको सेयर बेच्नुपर्दा मार्केट डेब्थको किन्नेतर्फ कम मूल्यमा सेयर किन्न बसेको सेयर संख्या धेरै देखाईन्छ र बढी मूल्यमा किन्न बसेको सेयर संख्या कम राखेर सेयरको भाऊ बढाईन्छ । यस्तो बेला बेच्न राखिएका सेयर संख्या अति न्युन वा कम हुन्छ । थोरै कित्ता राखेर बढी मूल्य देखाईएको पाईन्छ । सेयरको कृत्रिम अभाव सिर्जना गराएर माग र आपुर्तिको नियमलाई प्रभावित पारी कमसल सेयर महंगोमा बेच्नेहरु पनि हुन्छन् ।

अर्कोतर्फ राम्रो कम्पनीको सेयर किन्नेहरुले बिक्रीमा धेरै कित्ता देखाएर किन्न बसेको तर्फ सेयर नै नदेखाई सस्तोमा सेयर उठाउने खेल गरेका हुन्छन् । मार्केट डेब्थ सर्बसाधारण लगानीकर्ताको पहुँचमा पुगेपछि त्यसमा भ्रम सिर्जना गर्ने कामहरु पनि भएका छन् । यस्ता अपाकृतिक कारोबारबाट नयाँ र साना लगानीकर्ताहरु बच्नुपर्छ ।

२६. सेयर बजारमा बुझेर लगानी गर्नु चाँही राम्रो कुरा हो तर आफुले गर्दै आएको ब्यापार ब्यवसाय, नोकरी सबै छाडेर लाग्ने मुर्खता चाँही नगर्नुहोस् । यसरी सबै ध्यान सेयर बजारमै लगाउनुभयो भने तपाइँको ब्यापार ब्यवसायको कारोबार चौपट्ट हुन्छ र नोकरी पनि समस्यामा पर्नसक्छ । भोलि सेयर बजारमा समस्या आउने बित्तिकै जीवन गुजाराको विकल्प खोज्नु पर्दा अनेक तनाब झेल्नुपर्छ । दीर्घकालीन हिसाबले गरिएको सुरक्षित सेयर लगानीमा दिनदिनै घटबढ् हुने बजार हेरेर चिन्ता गर्नुपर्ने र हौसिनु पर्ने आबश्यकता छैन । तर कम्पनीले जारी गर्ने सूचना र प्रगति बिबरण चाँही थाहा पाईराख्नुपर्छ ।  

निष्कर्ष

सुरक्षित लगानी गरिएको अबस्थामा नेपालको सेयर बजारमा आगामी दिनहरुमा गुमाउने भन्दा कमाउन सकिने संभावना नै बढी छ । कागजी प्रमाणपत्रको युग समाप्त भएर पूर्ण अभौतिक सेयर किनबेच, सेयर प्रमाण पत्र नामसारीमा हुँदै आएको जाझेलको समाप्ति, चार कार्य दिनमा किन्नेको डिम्याट खातामा सेयर जम्मा हुने र सेयर बेचेको चार कार्य दिनमा लगानीकर्ताको हातमा पैसा हुने, संस्थागत लगानीकर्ता र सामुहिक लगानी कोषहरुको बढ्दो उपस्थिति, नयाँ निश्काशन भएको साधारण सेयर पनि अब सिधै डिम्याट खातामा आउने जस्ता ऐतिहासिक सुधार कदमहरुले लगानीकर्तामा आत्मबिस्वास बढाएको छ र सेयर बजारलाई उचाईमा पुर्याएको छ ।

बैंकहरुमा पर्याप्त तरलता, अन्यत्र लगानी जान नसक्ने अबस्था, लगानीकर्ताहरुमा फैलदो चेतनाले पनि बजार बिस्तारलाई आड दिएको छ । सेयर दलाल कमिशन घटेपछि लगानीकर्तामा अरु हौसला बढेको हो, यसबाट कारोबार रकम पनि अभुतपूर्व रुपमा बढेको छ । 

बाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स, अनलाईन ट्रेडिड., अरु धेरै लगानीकर्ताहरु सेयर बजारमा जोडिने, सेयर दलाल मार्फत सेयर धितो कर्जा उपलब्ध हुने, बजार बिस्तारका अरु धेरै कुरा हुने संभावना रहेकाले सुरक्षित लगानी गर्नेहरुको दिन सुनौलो छ । तर असुरक्षित लगानी गरिए बर्षौसम्म पछुताएर बस्नुपर्ने कुरामा पनि उत्तिकै ध्यान दिनु आबश्यक देखिन्छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।