जलविद्युत्मा लगानी बढाउन राष्ट्रपतिको आग्रह

Jan 05, 2018 RSS

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत् क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्पो २०१८’ को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति साे बताउनु भएकाे हाे ।

भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत् उत्पादन गर्ने मुलुक भएर पनि नेपाल पछाडि पर्नाका कारण खोजी गर्दै लगानी बढाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

ऊर्जा क्षेत्रको विकासबाट मात्रै मुलुकको समग्र आर्थिक क्षेत्रको विकास हुने भएकाले नयाँ प्रविधिको अन्वेषण गर्न, लगानी बढाउन र नीतिगत रुपमा कमीकमजोरी रहेको भए त्यसलाई सुधार गरेर जानसमेत राष्ट्रपति भण्डारीले अनुरोध गर्नुभयो ।

अपार जलस्रोतको सदुपयोग गर्नु हामी सबैको दायित्व रहेकामा जोड दिँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई प्रविधि, विधि र कार्यक्रममा समेटेर अगाडि बढाउनु पर्दछ । सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्दछ ।”

परम्परागत ऊर्जाको स्रोतमा कमी हुँदै आएको र महँगो समेत पर्ने भएकाले हरित ऊर्जाको उत्पादनमा जोड दिनुपर्ने राष्ट्रपतिको कथन थियो । विद्युत् आयात गर्ने प्रवृत्तिको अन्त्य गरेर आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले भरपर्दो ऊर्जाको आपूर्ति, प्रयोग तथा व्यवस्थापन गरेर मुलुकलाई सबल तथा सक्षम बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

फरक एक प्रसंगमा राष्ट्रपति भण्डारीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयन भएर राजनीतिक स्थिरताको चरणमा मुलुक अगाडि बढेकाले आर्थिक समृद्धिको मार्ग प्रशस्त भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सन् २०३० सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऊर्जा क्षेत्रको विकास नै महत्वपूर्ण शर्त भएको बताउनुभयो ।

व्यापार घाटा कम गर्ने उपयुक्त माध्यम र विधि भनेकै ऊर्जा क्षेत्र भएकाले यसमा लगानी बढाउन, प्रविधिको खोजी गर्न निजी क्षेत्र लागिपर्ने उहाँको जोड थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अब बन्ने सरकारले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्दै ऊर्जा क्षेत्रको विकासमा लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा क्षेत्रको विकासका लागि नीति निर्माता, प्रविधिको हस्तान्तरण, लगानीका स्रोतको पहिचान तथा लगानीमैत्री वातावरणका लागि अवसर जुटाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा चीन, भारत, ब्राजिल, स्विडेन, इटली, दक्षिण कोरिया, नर्वेलगायतका मुलुकमा उत्पादन भएका जलविद्युत् क्षेत्रका नवीनतम प्रविधि तथा उपकरण राखिएका छन् । प्रदर्शनीमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।