राष्ट्रिय बीमा कम्पनीले कति प्रस्ताव गर्यो बोनस ?

Feb 23, 2018 merolagani

६ अार्थिक बर्षकाे बाेनस प्रस्ताव

राष्ट्रिय बीमा कम्पनी(RBCL) ) ले ६ आर्थिक बर्षको एकसाथ १२० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ६८/६९ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त परिमाणको बाेनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक बर्ष ०६२/६३ सम्मको साधारणसभा सम्पन्न गरि सकेको कम्पनीले आर्थिक बर्ष २०६३/६४, २०६४/६५, ०६५/६६, ०६६/६७, ०६७/६८ र ०६८/६९ गरी ६ आर्थिक बर्षको एकसाथ १२० प्रतिशत बोनस वितरण प्रस्ताव गरिएको कम्पनीका एक अधिकारीले मेरो लगानीलाई जानकारी दिए ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । 

साथै कम्पनीले आर्थिक बर्ष ०६९/७० देखि आर्थिक बर्ष ०७१/७२ सम्मको लेखा परिक्षणको काम सम्पन्न गरिसकेको र आर्थिक बर्ष ०७२/७३ सम्मको लेखापरिक्षण यसै आर्थिक बर्षभित्र पुरा गरी साधारण सभा आह्वान गर्ने तयारीमा रहेको समेत जनाएको छ ।

बिगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा बिभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको हो ।  बीमा संस्थानबाट अलग्गै कम्पनी बनेपछि भने  कम्पनीले  हरेक बर्षकाे लेखापरीक्षण गराउँदै आएको छ ।

कम्पनीले गत वैशाख २२ गते आर्थिक बर्ष २०६/६१, २०६१/६२ र ०६२/६३ को साधारणसभा एकसाथ गरेको थियो । २०६३ सालसम्मको साधारण सभा सम्पन्न गरी ११४ प्रतिशत बाेनस वितरण गरेको कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्तापूँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

बक्यौता सबै आर्थिक बर्षहरुको साधारणसभा सकेर बोनस वितरण र एफपिओ निष्काशन गरेर २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य कम्पनीको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था गरेको छ ।

अहिले कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत संस्थापक सेयर स्वामित्व छ । त्यसै गरी सर्वसाधारणसँग १९.५४ प्रतिशत रहेपनि जसमध्ये ७.२४ प्रतिशत सेयर संस्थापक समुहमा नै रहेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको ६ महिनामा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४२.३७ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले २६ करोड १६ लाख खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ९८ करोड रुपैयाँ छ । यसैगरी, बीमा कोषमा एक अर्ब २६ करोड राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १३९ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ ८४३ रुपैयाँ ११ पैसा छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।