माथिल्लो तामाकोशीको शेयर बाँडफाँड यस कारण अझै पर धकेलियो

Nov 12, 2018 Merolagani

माथिल्लो तामाकोशीको साधारण शेयर बाँडफाँडमा अझै केही समय लाग्ने भएको छ। तिहार लगत्तै शेयर बाँडफाँडको कार्यतालिका तय गरिए पनि प्राविधिक कारणले गर्दा तामाकोशीको शेयर बाँडफाँड गर्ने मितिको टुङ्गो नलागेको हो। प्राविधिक कारण निम्त्याउनेहरुका कारण नै शेयर बाँडफाँडमा ढिलाई भएको हो ।

तामोकोशीको शेयर निष्काशनकर्ताका अनुसार पहिलो चरण तथा दोस्रो चरणमा शेयर आवेदन गरेकाहरुले तेस्रो चरणमा पनि आवेदन गरेको पाइएपछि त्यसलाई शुद्धीकरण गर्न थालिएको छ।

जसका कारण अझै केही दिनसम्म पहिलो चरण तथा दोस्रो चरणका आवेदकहरुको आवेदन रद्ध गराउने नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले जानकारी दिएका छन् ।

झण्डै ३ वर्ष पहिले माथिल्लो तामाकोशीले पहिलो चरणमा ऋणदाता संस्था अर्थात कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चय कोषका बचतकर्ता, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो। उक्त समयमा  ३ करोड ६० लाख ६ हजार कित्ता शेयर निष्काशन गरिएको थियो ।

दोस्रो चरणमा गत असारमा दोलखाका आयोजना प्रभावितका लागि शेयर निष्काशन गरिएको थियो । केहि दिन पहिले मात्र उक्त शेयर बाँडफाँड गरिएको थियो ।

यसरी २ चरणमा शेयर पाउनेहरुलाई तेस्रो चरणमा शेयर बाँडफाँड नगर्ने भएकाले सर्वसाधारणको शेयर बाँडफाँडको मिति केहि दिन पर धकेलिएको हो ।

शेयर निष्काशनका दौरान पहिले नै तामाकोशीको शेयर धारण गरेका विभिन्न संस्थाका कर्मचारी, बचतकर्ता, आयोजना प्रभावितलाई सर्वसाधारणका लागि निष्काशित शेयर आवेदन नगर्न भनिएको थियो । तर आवेदकको संख्या धेरै हुने भन्दै झुक्याउन खोज्नेहरुका कारण नै अहिले बाँडफाँडमा समय लागेकाे छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

शेयर बिक्री प्रबन्धकका अनुसार शेयर बाँडफाँड  गर्नु पहिले हरेक आवेदकको तीनपुस्ते विवरण अघिल्लाे पटक अावेदन गरेका शेयरधनीको तथ्याङ्कसँग जुधाउने काम सुरु भएको छ ।

कोषका अनुसार यसरी विवरण जुधाउँदा दोहोरिने सबै आवेदकहरुको आवेदन रद्ध गरिनेछ । जानेर वा नजानेर ठूलो संख्यामा दोहोरा आवेदन परेको बताइएको छ ।

पछिल्लो पटक तामाकोशीले कात्तिक १५ गतेदेखि १९ गतेसम्म एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा एक करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर (आईपिओ) सर्वसाधारणहरुमा जारी गरेको थियो ।

जसमध्ये ७ लाख ९४ हजार २५० कित्ता सामुहिक लगानी कोषलाई छुयाएर बाँकी रहेको एक करोड ५० लाख ९० हजार ७५० सर्वसाधरण आवेदकलाई बाँडफाँड हुनेछ ।

comments powered by Disqus