त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : ६०० मेगावाट विद्युत् जोडिने

Nov 22, 2018 RSS

रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा बुधबार नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गरेका हुन् ।

यो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको छ । सवस्टशेनमा माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, १११ मेगावाट क्षमतामा रसुवागढी, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन र १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनलगायतका निर्माणाधीन र निर्माणमा जाने क्रममा रहेका करीब एक दर्जन आयोजनाको विद्युत् जोडिनेछ ।

निर्माणका क्रममा सुपर साञ्जेन, माथिल्लो मैलुङ र माथिल्लो त्रिशूली थ्री बीसँगै निजी क्षेत्रको अर्को आयोजनासमेत निर्माणमा जाने तयारीमा रहेको छ ।

त्रिशूली र त्यसका सहायक नदीमा निर्माण हुने अधिकांश आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडानका लागि महत्वपूर्ण मानिएको सवस्टेशनको शिलान्याससँगै निर्माणाधीन आयोजनाको काममा समेत गति पैदा हुने विश्वास बढेर गएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सो सवस्टेशन त्रिशूली करिडोरका लागि रणनीतिक महत्वको छ । रसुवा तथा नुवाकोटमा पछिल्लो समय सरकारी स्वामित्वका तथा निजी क्षेत्रका दर्जन बढी आयोजना निर्माणका विभिन्न चरणमा छन् । ती आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन र स्थानीयस्तरमा वितरणका लागिसमेत सवस्टेशन महत्वपूर्ण छ ।

नेपाल र चीनबीच निर्माण हुन लागेको ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन्समेत सोही क्षेत्र भएर जानेछ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सवस्टशेनमा ३२० केभिए क्षमतामा ६ वटा ट्रान्सफर्मर जडान गरिनेछ । यस्तै स्थानीयवासीलाई सहजरुपमा विद्युत् उपलब्ध गराउन थप एक ट्रान्सफर्मरसमेत जडान गरिनेछ । प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए आयोजना आगामी छ महीनाभित्रै निर्माण सम्पन्न हुने चरणमा छ ।

यस्तै ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बीलेसमेत निर्माण शुरु गरिसकेको छ । सोही सवस्टेशनबाट नुवाकोटका केही गाउँमा समेत स्थानीयवासीलाई विद्युत् सुविधा उपलब्ध गराइनेछ । प्राधिकरणका अनुसार चिलिमे–त्रिशूली र समुन्द्रटार–त्रिशूली प्रसारण लाइनबाट आउने विद्युत्समेत सोही सवस्टशेनमा जोडिनेछ ।

विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीसहित ती तीन योजनामा युरोपियन इन्भेष्टमेन्ट बैंकको सहुलियत ऋण सहयोग र युरोपियन युनियन र जर्मन सरकारको अनुदान सहयोग रहेको छ । यी परियोजना निर्माणमा ६५।२५ मिलियन युरो लगानी लाग्ने प्रारम्भिक अनुमान गरिएको निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण प्रणाली आयोजना प्रमुख थर्कबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार चिलिमे हब र थ्री बी हब निर्माणका लागि समान १३ मिलियन युरो र चिलिमे–त्रिशूली प्रसारण लाइनका लागि ११ मिलियन युरो लाग्ने देखिएको छ । यी योजना विसं २०७६ जेठ ३० मा सम्पन्न हुने लक्ष्य राखिएको छ । यी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीलाई दिइएको छ ।

प्राधिकरणले त्रिशूली–काठमाडौं २२० डलब सर्किट प्रसारण लाइन निर्माणको काम माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामार्फत अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले मुलुकको आर्थिक समृद्धिसँग जोडिएका ऊर्जा क्षेत्रमा युरोपेली लगानी बैंकलगायतका साझेदारको सहयोग अनुकरणीय रहेको बताए।

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको भन्दै उनले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको र त्यसमा स्वदेशी तथा विदेशी सहयोग जरुरी रहेको उल्लेख गरे।

मन्त्री पुनले चालू आर्थिक वर्षभित्रै सवस्टशेनको निर्माण सम्पन्न गरी उदाहरणीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह समेत गरे । फरक एक प्रसङ्गमा मन्त्री पुनले विकास र समृद्धि अब सबै राजनीतिक दल र नेपालीको एकमात्र ‘मिसन’ भएकाले विकास र समृद्धिको ढोका खुलेको बताए।

“सरकारले सुशासन, विकास र समृद्धिलाई आफ्नो मूल एजेन्डा बनाएको छ”, मन्त्री पुनले भने, “प्रधानमन्त्रीले हरेक महीना काम र नतिजाका आधारमा अनुगमनको पद्धति शुरु गर्नुभएको छ, यहाँ कागजमा होइन, अब स्थलमा कामको शुरुआत भएको छ ।”

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।