नेपालका बैंकहरूमा 'आइतबार' सार्वजनिक विदा !

Dec 13, 2018 merolagani

नवीन ढुङ्गाना । सार्वजनिक विदा धेरै भएको भन्दै सरकारले गत वर्ष विदा कटौतीको निर्णय गर्यो । गत वर्ष चैत १४ को मन्त्रिपरिषद बैठकले साविकमा दिदैं आएको विभिन्न दिवस र चाड-पर्वका २२ दिन सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो ।

विदा कटौतीले काम गर्ने समय बढ्ने र सरकारको समृद्धिको सपनालाई बल पुग्ने अपेक्षा सरकारले गरेको थियो । विदा कटौती गर्ने  निर्णयको सडकदेखि सदनसम्म विरोध पनि भएको थियो तर सेलायो ।

सरकारले विदा कटौती गरेर काम गर्ने समय निकाल्ने निर्णय गरेको ९ महिना पछि निजी क्षेत्रको सबै भन्दा ठूलो व्यापारिक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले नियमित सार्वजनिक विदाका समय हेरफेर गर्न नियमक निकायलाई आग्रह गरेको छ ।

नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको भन्दै महासंघले सहज ढंगबाट काम गर्नका लागि बैंक तथा वित्तीय संस्थाका कार्य समय फेर्न राष्ट्र बैंकलाई आग्रह गरेको हो ।

मंसिर २५ गते नेपाल राष्ट्र बैंकका गर्भनर भेट्न पुगेको महासंघ अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले नेपालका बैंक तथा वीत्तीय संस्थाको बिदा अन्तराष्ट्रिय बैंकहरुसंग मिल्ने बनाउन आग्रह गरेको थियो ।

बैंक तथा वित्तीय संस्था शुक्रबार र शनिबार पुरै दिन खुलोसः महासंघ

महासंघले नेपालमा बैंक तथा वित्तीय संस्थामा शुक्रबार आधा दिनमा छुट्टि हुने प्रचलनले तीन दिनको कार्य प्रभावित हुने गरेको गुनासो गरेको छ । महासंघले गभर्नरलाई भेटेर अन्तराष्ट्रिय प्रचलन अनुसार सार्वजनिक विदा मिलाई दिन भनेको छ ।

महासंघले भनेको अन्तराष्ट्रिय प्रचलन अनुसार विदाको दिन र समय परिवर्तनको निर्णय भयो भने अब बैंक तथा वित्तीय संस्था सोमबारदेखि शुक्रबारसम्म पूर्ण कार्य सञ्चालन र शनिवार आधा दिन सञ्चालनमा आउनु पर्ने छ भने आइतबार सार्वजनिक विदा दिइने छ ।

राष्ट्र बैंक के भन्छ ?

मंगलबार उद्योग वाणिज्य महासंघका प्रतिनिधि मण्डलले गर्भनरलाई भेटेर १८ बुंदे सुझाब पत्र पेश गरेको थियो । माग पत्रको १६ औं बुंदामा महासंघले किटानै गरेर विदा समय परिवर्तनका लागि उल्लेख गरेको छ ।

तर गर्भनर डा.चिरञ्जीवी नेपालसंगको भेटमा प्रतिनिधि मण्डलले ब्याजदर बृद्धिका बारेमा धेरै समय बोलेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए । मेरो लगानीसंग पौडेलले भने 'उहाँहरुले सार्वजनिक विदाको समस्याबारे केही बोल्नु नै भएन।' 

शुक्रबार आधा दिन छुट्टी र शनिबार र्सावजनिक विदाको बर्षौ देखिको प्रचलनले नेपाली व्यवसायीलाई असर परेकोबारे कुनै गुनासो यस अघि आफूहरु समक्ष नआएको प्रवक्ता पौडेलले बताए ।

बैंक तथा वित्तीय संस्था सञ्चालन सम्बन्धमा राष्ट्र बैंकले समयानुसार परिपत्र गर्न सक्ने भए पनि विदा नै परिवर्तन गर्ने निर्णय सरकारले मात्रै गर्न सक्ने प्रवक्ता पौडेलको तर्क छ । 'पहिलो पटक यो विषय उठेको छ समस्याहरु के कस्ता हुन छलफल गर्न सकिन्छ तर निर्णय गर्ने अधिकार हामीलाई छैन् सरकारलार्इ मात्र छ ।' पौडेलले भने ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।