रसुवागढी र साञ्जेन जलविद्युत मंगलबारदेखि शेयर कारोबार सुरु

Aug 06, 2019 10:21 AM Merolagani

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको साउन २१ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शेयर कारोबार खुला हुँदैछ। साधारण शेयर बाँडफाँड भएको तीन महिनापछि दुबै कम्पनीको शेयर कारोबार खुल्न लागेको हो।

दुवै कम्पनीले साउन २० गते सोमबार नेप्सेसँग शेयर कारोबारका लागि सूचीकरण सम्झौता गरेका हुन्। सोमबार शेयर सूचीकरण भएसँगै दुबै कम्पनीको आईपिओमा लगानी गरेका शेयरधनीले मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सक्नेछन्।

मंगलबार साढे १० देखि १५ मिनेटको प्रि ओपन सेसनमा दुबै कम्पनीको शेयर कारोबार पश्चात ११ बजेपछि नियमित समयमा लगानीकर्ताले खरिद बिक्री गर्न सक्नेछन्। रसुवागढी र साञ्जेन जलविद्युतको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ।

यसअघि नै शेयर सूचीकरण गर्नुपर्ने भएपनि छोटो समयका लागि गत आर्थिक वर्षको सूचीकरण र वार्षिक शुल्क तिर्नुपर्ने भएपछि शुल्क छल्नका लागि नयाँ आवपछि मात्र शेयर सूचीकरण गरेका हुन्।

नेप्सेले रसुवागढी हाइड्रोपावर कम्पनीलाई आरएचपिएल (RHPL) र साञ्जेन जलविद्युत कम्पनीको शेयर कारोबारका लागि एसजेसिएल (SJCL) कारोबार संकेत प्रदान गरेको छ । पहिलो सुरुवाती कारोबारका लागि रसुवागढीको न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको प्रिओपनिङ प्राइस रेञ्ज निर्धारण गरेको छ।

उता साञ्जेनका लागि न्यूनतम ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसासम्मको प्रिओपनिङ्ग प्राइस रेञ्ज दिएको छ। नेप्सेले कम्पनीको नेटवर्थलाई न्यूनतम र नेटवर्थको ३ गुणासम्मको अधिकतम ओपनिङ्ग रेञ्ज प्रदान गर्दै आइरहेको छ।

आईपीओ निष्काशन पश्चात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत समेटिएका रसुवागढी र साञ्जेन दुबै चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हुन्। दुबैले गत वैशाख ६ गतेदेखि १२ गतेसम्म आईपीओ बिक्री गरेर बैशाख १९ गते बाँडफाँड भएको थियो।

रसुवागढीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा १ करोड २ लाख ६३ हजार १५० कित्ता बराबरको १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो। रसुवागढीको आईपीओ शेयर २ लाख ९१ हजार २७२ जनाले पाएका थिए। रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले न्यूनतम ४० र अधिकतम ५० सम्म शेयर पाएका थिए। 

यस्तै साञ्जेनले एक सय रुपैयाँ अंकित दरमा ५४ लाख ७५ हजार कित्ता बराबरको ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो। २ लाख ८८ हजार ८९७ जना लगानीकर्ताले आईपीओ शेयर प्राप्त गरेका थिए।

साञ्जेन जलविद्युतको शेयरमा आवेदन गरेका अधिकांश आवेदकले २० कित्ता शेयर प्राप्त गरेका थिए भने २० कित्ता भन्दा धेरै कित्ताका लागि आवेदन गरेका ८ प्रतिशत आवेदकले भने १० कित्ता मात्र शेयर पाएका थिए।

रसुवागढीको आईपीओ सिद्धार्थ क्यापिटल मार्फत र साञ्जेनको नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा प्राथमिक शेयर निष्काशन भएको थियो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।