तपाईलाई थाहा छ मकै पोल्नेहरुले एक दिनमा कति कमाउँछन् ? तथ्य हेर्नुस्

Oct 03, 2017 Merolagani

– सबिना बजगाई

सडकको धूलो र घाममा बसेर मकै पोल्नेहरुले दैनिक कति कमाउँलान् ? धेरैको सोचाई हुनसक्छ, मुस्किलले जीवन गुजारा चलेको होला तर हैन । सुकिला मुकिला र चिटिक्क भएर कार्यालयको कुर्सीमा बसी काम गर्ने भन्दा उनीहरुको कमाई धेरै छ ।

 

कार्यालयमा काम गरेर मासिक दश, पन्ध्र हजारको पारिश्रमिक थाप्नेहरु पनि सडकमा ओर्लिएर हप्कीदप्की गर्दै मकै पोल्नेहरुका अगाडि शान देखाउने गर्छन । तँ र तिमी भन्दै मकै पोल्नेहरुलाई तत्लो ब्यवहार गर्ने गरेको देखिन्छ तर उनीहरुले ती मकै पोल्नेको दैनिक र मासिक आम्दानी थाहा पाए भने कार्यालयको कामै छाडेर मकै पोल्न नजालान् भन्न सकिन्न ।

सडकमा मकै पोल्नेहरुले कालीमाटी वा कोटेश्वरबाट प्रति घोगा आठ रुपैयाँदेखि १० रुपैयाँसम्ममा काँचो मकै खरिद गर्छन । दाउरा र यातायातको हिसाब गर्दा बढीमा ११ रुपैयाँ लागत पर्छ । त्यही मकैलाई पोलेर उनीहरुले २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म बेच्ने गर्छन । मकै पोल्ने एकजनाले दैनिक ७० देखि १०० घोगासम्म मकै सजिलै बेच्ने गरेको देखिन्छ ।

७० घोगा मकै बेचेमा प्रति घोगा १५ रुपैयाँ नाफा राख्दा कम्तिमा एक हजार रुपैयाँ आम्दानी हुन्छ भने १०० घोगा मकै बिकेमा एक हजार पाँचसय सम्म शुद्ध आम्दानी हुन्छ । अझ सस्तोमा मकै ल्याउन सकेमा आम्दानी अझै बढी हुने निश्चित छ । यसरी हेर्दा मासिक रुपमा ३० देखि ५० हजार रुपैयाँ सडकमा मकै पोल्नेहरुले कमाउँछन् ।

कार्यालयमा टाईसुट लाएर काम गर्ने उस्तै हाकिमले पनि सही काम गरेर मासिक ५० हजार रुपैयाँ कमाउनु निकै मुस्किल पर्छ । निजी कार्यालयहरुमा त मरिमेटर काम गर्दा पनि सुकिला मुकिला कर्मचारीहरुले पाउने मासिक पारिश्रमिक भनेको १५ देखि २० हजार रुपैयाँ मात्रै हो । सरकारी कार्यालयहरुमा अधिकृतको मासिक पारिश्रमिक २७ हजार रुपैयाँ हाराहारी हो तर त्यसका लागि बर्षौको लगानी र परिश्रम गर्नुपर्छ ।

कपन मिलनचोक सडकछेउ मकै पोलेर बेच्ने उर्मिला बुढाथोकी डिग्री पास गरेर कार्यालयको काम गर्नेले भन्दा आफुहरुको कमाई धेरै भएको  खुलासा गर्छिन ।

उनी भन्छिन् – सडकमा बसेर काम गर्नै भनेर कसैले पनि हेप्नु पर्दैन, किनभने जो कोहीले पनि आफ्नो सीप र क्षमताले सकेको काम गर्ने हो, हामीले पनि उनीहरुले भन्दा धेरै कमाइ गरिहेका छौँ । फरक यतिमात्र हो उनीहरु कुर्सीमा बसेर काम गर्छन्, हामी सडक पेटीमा छौ ।

बुढाथोकीले दैनिक ७० देखि ९० घोगासम्म मकै पोलेर बेच्छिन् । त्यसबाट उनी २ हजार देखि २५ सयसम्मको व्यापर गर्छिन । सम्पूर्ण लगानी खर्च कटाई दैनिक १ हजार देखि १२ सय रुपैंयासम्म कमाउछिन् । उनले एक घोगा मकै बराबर ३० र कुनै सानो घोगा भएमा २५ रुपैंया सम्ममा पनि बेच्दै आएको बताईन ।

ओखलढुगां घर भई हाल कपन बस्दै आएकी उनी उमेरमा भर्खर ३२ मात्र लागेकी छिन् । उनले ४ जना परिवार यही मकै पोलेर नै पाल्दै आएकी छन् ।

यसरी कमाई गर्नेहरुले मेहनत चाँही औधी गरेका हुन्छन् । बिहानै ३ बजे नै नाम्लो र बोरा बोकेर कालिमाटी पुग्नुपर्छ । ढिला गए मकै नै नपाइने भएकाले बिहानै कालिमाटी पुगिसक्नुपर्ने हुन्छ । परिवारका सदस्य ब्यूझनुभन्दा अगाडि नै बुढाथोकी मकै लिएर  डेरा आइपुगिसकेकी हुन्छिन् ।

उनको बिहान घरको कामधन्दा र छोराछोरीलाई स्कुल पुर्याउनमै बित्ने गर्दछ । दिउसो १ बजेदेखि उनी मकै पोल्ने काम सुरु गर्छिन् ।

यसरी मकै पोलेर कमाउनेहरुले पार्टटाइम काम गरे जस्तै हो । बिहान बेलुका अरु कम मज्जाले गर्न भ्याईन्छ ।

बुढाथोकी भन्छिन्, – चोर्न र अरुलाई ठग्न पो हुदैन तर दुःख गरेर खान जे काम गर्दा पनि हुन्छ ।

यसरी कमाई गरे पनि सडकको धुँवा र धुलोका साथै मकै पोल्दाको धुँवाले स्वास प्रश्वास सम्बन्धी रोग र स्वास्थ्य सम्बन्धी समस्या भने चर्किदै गएको छ ।

यस्तै चावहिल चोकछेउ मकै पोलेर बेच्ने ५२ बर्षीय रामबहादुर तामाङको भोगाई भने अलि फरक रहेको छ । उनलाई बाटो हिड्नेदेखि गाडीमा सवार भएकाहरुले हेय दृष्टिले हेर्ने गर्दछन् । ३० रुपैयाँमा मकै बेच्दा पनि ठग्यो भनेर पाँच रुपैयाँका लागि किचकिच गर्छन् ।

तामाङ – सोध्छन म आफ्नो दुःख गरेर खाने सानो कि, कारमा हिड्ने तर पाँच रुपैयाँका लागि झगडा गर्न खोज्ने सानो ?

चिल्ला कारमा गुड्ने तर सडकमा मकै पोल्नेहरुसँग पाँच रुपैयाँका लागि बार्गेनिङ गर्नेलाई के थाहा ! मकै पोल्नेहरुलाई कमाई आफ्नो भन्दा धेरै छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।