दशैंका लागि स्वस्थ खसी छान्ने तरिका जान्नुहोस्

Oct 16, 2018 Merolagani

दशैंमा मासु उपभोग गरिने चौपायाको कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । दशैंको बेला नै अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपायाहरु मासुका लागि विक्री गर्ने गरिन्छ । यसरी विक्रीमा ल्याईने सबै खसी स्वस्थ हुँदैनन् । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् ।

हतारमा खरिद गर्ने, किन्नुअघि राम्रोसँग नहेर्ने हो भने रोगी खसी उपभोग गर्दा स्वास्थ्य समस्या निम्तिने जोखिम बढी हुन्छ । त्यसैले दशैंमा चौपाया वा माछामासु किन्दा समेत विशेष ख्याल गर्नु आवश्यक छ । रोगि खसी परेको अवस्थामा हजारौं मूल्य हालेर किनेर ल्याएको खसीको मासु खाँदा खसिको मूल्य भन्दा बढी उपचारका लागि खर्च गर्नुपर्ने हुनसक्छ । हामी तपाईलाई यहाँ स्वस्थ खसी चिन्ने अाधारबारे बताउँदैछौं ।

यस्ता खसी किन्दै नकिन्नुहोस्

खसीको लक्षण हेरेर नै कस्तो कुन खसी स्वस्थ छ कुन रोगि छ भन्ने पत्ता लगाउन सकिन्छ । केही कुरामा ख्याल गर्ने हो भने मात्रै पनि खसीको शरिरमा देखिने शारिरीक लक्षण हेरेरै नै उपभोगयोग्य भए नभएको पत्ता लगाउन सकिन्छ । खसीमा यस्ता लक्षण देखेमा त्यस्ता खसी नकिन्नुहोस् । 
१. झुम्म परेको देखिने 
२. सिँगान बगेको 
३. चिप्रा लागेको 
४. छाम्दा तापक्रम बढी भएको
खसीमा भएको भित्री रोगको लक्षण अनुसार तीनको शारिरीक चालढाल हुने भएकाले ध्यान दिएर हेरे चौपाया उपभोग योग्य छ कि छैन भन्ने थाहा हुन्छ ।

सिङ हेरेर नै पत्ता लगाउन सकिन्छ स्वस्थ खसी

पशु स्वास्थ्य निर्देशनालयले उपत्यकामा छिर्ने प्रमुख नाकामा पशु चिकित्सक राखेर चौपायाको स्वास्थ्य परीक्षण गरी निर्देशनालयले रंग लगाउने गरेको छ । स्वस्थ र उपभोगयोग्य चौपायाको सिङमा हरियो रंग तथा विरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगाईएको हुन्छ ।

त्यसैले खसी किन्दा हरियो रङ लगाएको, सिँगान नबगेको, खसीको आँखामा चिप्रा नलागेको, र खसीको जीउको तापक्रम ठीक भएको खसी छानेर किन्दा स्वस्थ खसी पर्ने सम्भावना बढी हुन्छ ।

विचार पुर्याउनुहोस्

दशैंको समयमा ठूलो मात्रामा खसी आयात हुने, कतिपय अवस्थामा लुकाईछिपाई समेत भित्र्याइने, आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने लगायतका कारण बजार पुगेर कारोबार हुनु अगावै पनि कतिपय चौपाया मर्ने, रोगी हुने लगायतका समस्या देखिन सक्छन् । त्यसैले खसी किन्दा उपभोक्ता स्वयंले पनि ध्यान दिनु आवश्यक छ ।

निर्देशनालयले परिक्षण गरेपनि उपभोक्ताले किन्ने समयमा पनि चौपायामा समस्या आउन सक्छ । त्यसैले उपभोक्ताले पनि खरिद गर्ने बेला ख्याल गर्दा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

comments powered by Disqus