बीमालेख धितोमा कर्जा प्रवाह गरेर ५५ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यस अवधिमा सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख धितोमा ९ अर्ब ४६ करोड रुपैयाँ ऋण दिएर ब्याज वापत २५ करोड ३७ लाख रुपैयाँ कमाएको छ ।
बीमालेख धितोमा कर्जा प्रवाह गर्ने कम्पनीमा नेपाल लाइफ पछि एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास ७ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरी १९ करोड ३८ लाख रुपैयाँ कमाएको छ ।
नेशनल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले एक अर्ब ३२ करोड रुपैयाँ लगानी गरी क्रमश ४० लाख रुपैयाँ र २ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
अन्य कुनै बीमा कम्पनीले बीमालेख धितोमा लगानी गरेको रकम अर्ब नाघेको छैन् ।
गत वर्ष संचालनमा आएका नयाँ जीवन बीमा कम्पनी मध्ये युनियन लाइफले सबै भन्दा बढी ७ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवहा गरी १९ लाख रुपैयाँ कमाई गरेको छ ।
सिटिजन लाइफले ३५ लाख रुपैयाँ कर्जा परिचालन गरी ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै २२ लाख ७० हजार रुपैयाँ कर्जा परिचालन गरेको सन नेपाल लाइफले आम्दानीको विवरण भने उल्लेख गरेको छैन ।
कसरी लिने कर्जा ?
बीमा कम्पनीहरुले बीमा शुल्क तिरेको अर्को महिना देखि वा २ वर्ष सम्मको बीमा शुल्क तिरेपछि बीमालेख धितोमा कर्जा दिने गर्दछन । बीमितले बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखी ऋण प्राप्त गर्न सकिन्छ ।
बीमा कम्पनीबाट लिएको ऋण नतिरे सम्म बीमितलाई बीमा पोलिसी भने त्याग (सरेन्डर) गर्न पाउने छैन् । बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशत सम्म ऋण प्रदान गर्दछ । त्यसै अनुसार बीमा कम्पनीले बीमा शुल्कका आधारमा ऋण प्रदान गर्छ ।