सामान्यतया यस्तो परिकल्पना गरिँदैन किनकी आफ्नो नभएको पैसा बैंकले दिँदैन । त्यसमाथि नेपाली रकम झिक्न जाँदा डलर त झन आउँदै आउँदैन।
तर होइन, तपाईहरुले प्रयास नै गर्नु भएन त्यसैले आएन। यस्तै प्रयास गरेका काठमाडौंका एक पुरुष यतिबेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानकाे क्रममा रहेका छन् ।
सञ्जय कुमार श्रेष्ठ नाम गरेका ती पुरुषले नेपाली रुपैयाँ ७८,३८०.५० पैसा आफ्नो खातामा जम्मा गरेर झण्डै ८८ लाख ३३ हजार ४८२ रुपैयाँ ३५ पैसा (यो समाचार तयार गर्दाका दिनको विनिमय दरमा) सजिलै झिकेका छन् । त्यो पनि सरकारी स्वामित्वकाे राष्ट्रिय वाणिज्य बैंकबाट।
बैंकको गम्भिर लापरबाहीले श्रेष्ठलाई सहज
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार ऋणमा डुबेपछि श्रेष्ठले सहज ढङ्गबाट पैसा आउने बैंकको उक्त कमजोरीको भरपुर फाइदा उठाएका थिए ।
व्यवसायको लागी जापान आउ जाउ गर्ने श्रेष्ठको राष्ट्रिय वाणिज्य बैंक न्यूरोड शाखामा डलर खाता खोलीएको थियो । निश्चित नेपाली रकम खातामा राखेर सो को विनिमयबाट हुन आउने डलर भिसा कार्ड मार्फत विदेशमा रहँदा झिक्न मिल्ने बैंकको सुविधा श्रेष्ठले लिएका थिए ।
नेपालीहरुको बढ्दो विदेश यात्रालाई ध्यानमा दिँदै केहि सुविधा र केही नाफाका हिसाबले ब्यापक प्रचारमा ल्याइएको बैंकहरुको अमेरिकी डलर भिसा खाता र कार्डको कमजोरीमा सञ्जयले खेलेका थिए ।
नेपाली जम्मा गर्यो डलर झिक्यो
सन् २०१५ मा उक्त बैंकमा डलर खाता खोलेका श्रेष्ठले पछिल्लो एक वर्षमा ४३ पटक नेपाली रकम खातामा पठाउने र डलर झिक्ने गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धान क्रममा हालसम्म खुलेको तथ्य के हो भने “राष्ट्रिय वाणिज्य बैंकको डलर खातामा ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र ई-सेवा वालेट जस्ता उपकरणबाट डिपोजिट गरिने नेपाली रकम डलरकै रुपमा डिपोजिट हुन्थ्यो ।
मानौं आफ्नो डलर खातामा ५ हजार नेपाली रुपैयाँ ई–बैकिङ्ग मार्फत जम्मा गर्दा उक्त खाताको एटीएम / भिसा कार्डबाट ५ हजार डलर झिक्न पाइन्छ ।
यति मजाको बैंकिङ्ग प्रणाली भएपछि फाइदा जो कसैले उठाउने नै भए। सञ्जय कुमार श्रेष्ठले एक वर्षमा ४३ पटक उक्त तरिकाबाट ७८,३८०.५० पैसा नेपाली रुपैयाँ बैंकको आफ्नो डलर खातामा जम्मा गरेका थिए भने ७८,३८० डलर ५० सेन्ट एटीएम तथा पीओएस मेशिन मार्फत निकालेका थिए ।
नेपाली रुपैयाँ ७८ हजार ३८० रुपैयाँ ५० पैसा जम्मा गरेर झण्डै ८८ लाख ३३ हजार ४८२ रुपैयाँ ३५ पैसा (यो समाचार तयार गर्दाका दिनको विनिमय दरमा) झिक्न मिल्यो । फेरि काइदा कस्तो भने बैंकलाई यो कुरा तत्काल थाहा नहुने।
आफ्नो बैंकको एउटा ग्राकहले आफ्नो खातामा इन्टरनेट बैंकिङ्ग मार्फत कति पैसा पठायो ? र भिसा कार्डमार्फत कति झिक्यो? भन्ने कुरा बैंकले दैनिक मनिटरिङ्ग गर्दैन भन्ने तथ्य यो घटनामा स्पष्ट भएको छ ।
राष्ट्र बैंकको निर्देशिका
नेपाल राष्ट्र बैंकले २०७३ सालमा जारी गरेको विद्युतिय भूक्तानी सेवा प्रदान गर्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्था सम्बन्धमा गरिएको निर्देशनको बर्खिलापमा घटना घटेको तथ्यहरुले बताउँछ ।
निर्देशिकाको (१) ग, घ, र ङ मा यसबारे स्पष्ट व्यवस्था गरिएको छ । तर राष्ट्रिय वाणिज्य बैंक यहिँनेर चुक्यो। तत्काल गर्नुपर्ने नियमित अनुगमन नगरिँदा र वार्षिक प्रतिवेदनका क्रममा मात्रै गल्ती देखिँदा दैनिक भएका कमजोरी लुक्न पुग्यो ।
निर्देशिका पढ्नुहोस्:-
अनुसन्धान जारी रहेको भन्दै बैंक प्रशासन धारणा सार्वजनिक गर्न चाहदैँन । तर राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग प्रणालीमा गम्भिर समस्या भएको तथ्यले बताउँछ ।
राष्ट्रिय वाणिज्य बैंकको कोर बैंकिङ्ग प्रणालीले विद्युतिय माध्यमबाट डिपोजीट हुन खोजेको नेपाली रकम या त स्वीकार नै गर्नु हुँदैन थियो । यदी स्वीकार नै गरे पनि भुक्तानी दिँदा डलरमा विनिमय हुनुपर्थ्याे । र यो कुरा बैंक प्रशासनलाई थाहा हुनु पर्थ्याे तर त्यसो भएन । खासमा यो अपराध शैली र बैंकको कमजोरी नै नयाँ हो ।