कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ । आव २०७७÷७८ र चालू आवको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरेको छ । सो बैंकले समेत गत आव र चालू आवको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरेको छ ।
बैंकले सोमबार जारी गरेको चालू आवको दोस्रो महिनाको विवरणअनुसार कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा रु एक अर्ब स्वीकृत भएको जनाएको छ । यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड बराबरको छ ।
सो अवधिसम्म एक लाख २० हजार ७१५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् । उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २७२ ऋणी लाभान्वित छन् । ती ऋणीले रु एक खर्ब २१ अर्ब ६ करोड कर्जा लिएका छन् । महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६९० महिला उद्यमी लाभान्वित भएका छन । सो शीर्षकमा रु ६२ अर्ब ३७ करोड कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ ५३ ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले जनाएको छ ।