दुई महिनामा २१.५०% घटेको बजार पाँच दिनमा ९.५५% फर्कियो, ट्रेडर हाबी हुन थालेपछि कारोबार रकममा समेत सुधार

Oct 26, 2021 06:13 PM merolagani

सुवास निरौला

ठ्याक्कै दुई महिना लगातार घटेको शेयर बजारले गएको पाँच दिनमै आधाजसाे रिकभर गरेको छ। गएको पाँच दिनमै बजारले ९.५० प्रतिशतको वृद्धि कायम गरेको छ।  

गत भदौ २ गते उच्चतम बिन्दु कायम गरेको बजार गत कार्तिक २ गतेसम्म लगातार घट्दो क्रममा देखिएको थियो। उच्चतम बिन्दु ३१९९.०३ अंक छोएर घटेको बजार २५११.१० अंकसम्म ओर्लिएको थियो। गएको दुई महिनामा बजारले उच्चतम बिन्दुबाट ६८७.९७ अंक गुमाइसकेको थियो। जुन २१.५० प्रतिशत थियो। तर गएको पाँच कारोबार दिनमै बजारले २३९.९७ अंकको वृद्धि कायम गरेको छ। जुन ९.५५ प्रतिशतको वृद्धि हो।

लामो समय लगातार घटेको बजारले छोटो समयमै बाउन्स व्याक गरेपछि लगानीकर्ता उत्साहित देखिएका छन्। बजार जसरी घटेको थियो त्यही शैलीमा फर्किन्छ भन्ने लगानीकर्ताले अनुमान लगाउन थालेका छन्। जसको परिणाम स्वरूप बजारमा कारोबार रकम समेत बढ्दो लयमा देखिन थालेको छ। गएको दुई महिनामा कारोबार रकम  बेस्सरी घटेको थियो। गत साउन अन्तिम साता बजारमा २१ अर्ब ५३ करोड रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको थियो। त्यसयता घट्दै गएको कारोबार रकम गत असोज ३१ मा एक अर्ब ४० करोड रुपैयाँ सम्म खुम्चिएको थियो। जुन सर्वाधिक कारोबार रकमको रेकर्डको तुलनामा ९३ प्रतिशत कम हो।

तर कार्तिक लागे यता भने कारोबार रकम समेत बढ्दै गएको छ। गएको दुई कारोबार दिनमा बजारमा कारोबार रकम समेत ह्वात्तै बढेको छ। दुई देखि साढे दुई अर्बको हाराहारीमा कारोबार हुँदै आएको बजारमा सोमबार कारोबार रकम बढेर चार अर्ब नाघेको थियो। सोमबारको तुलनामा थप रकम वृद्धि हुँदै मंगलबार कारोबार रकम ६ अर्ब २४ करोड माथि उक्लिएको छ। कारोबार रकम खुम्चिएर एक अर्ब ४० करोडमा झरेको तुलनामा मंगलबार कारोबार रकम ३४३ प्रतिशतले बढेको छ।

कारोबार रकम बढ्दै जानुमा सुस्ताउँदै गएका सर्ट टर्म ट्रेडरको सल्बलाहटलाइ मुख्य कारणको रुपमा लिन थालिएको छ भने अर्को बजारमा पुन: पैसा घुम्न थालेपछि कारोबार रकम बढ्दो लयमा गएको बताइएको छ।

दुई महिना देखि शेयर बजार घट्दो लयमा थियो। बजार सर्ट टर्म बियरिस नै भई सकेको थियो। गएको एक महिना यता कुनै दिन शेयर किन्ने पनि नाफामा गएका थिएनन्। जसले गर्दा सर्ट टर्म कारोबारी हात बाँधेर बसेका थिए। किनकि कसैले पनि बजारमा नाफा कमाउने स्थिति थिएन। उनीहरूले कारोबार बन्द गरिदिएपछि कारोबार रकम समेत सुस्ताउँदै गएको थियो। तर गएको तीन दिन देखि बजारमा थोरै आश गर्ने ठाउँ देखिन थालेको छ। केही लगानीकर्ता थोरै नाफामा समेत जान थालेका छन्। डाउन ट्रेन्ड अन्त्य भएको थाहा पाउने बित्तिकै पुन: सर्ट टर्म ट्रेडर सलबलाउन थालेका छन्। जसले गर्दा सोमवार र मंगलबार कारोबार रकम बढेको हो। गत हप्ता शेयर किनेका लगानीकर्ता यस साता नाफामा देखिन थालेका छन्। किनकि बजारले करिब १० प्रतिशतको वृद्धि कायम गरिसकेको छ। बजार बढ्दै गर्दा नाफा गर्नेले पुन: अर्को शेयर किन्न थालेका छन्। भन्नुको अर्थ शेयर बजारको पैसा पुन: बजारमै घुम्न सुरु गरेको छ। जसले गर्दा कारोबार रकम बढेको हो” शेयर बजारका लगानीकर्ता नयन बाँस्तोलाले मेरो लगानी सँग भने।

जति जति बजार बढ्दै जाने छ। त्यति त्यति बजारमा घुम्ने पैसा थप बढ्दै जाने छ। जसले कारोबार रकम समेत बढाउन टेवा पुर्‍याउने छ। बुधवार शेयर बजार पुनः बढेमा कारोबार रकम समेत थप बढ्ने बाँस्तोलाको भनाई छ।

comments powered by Disqus