आगामी बजेटले घर जग्गा र सेयर बजारलाई सम्बाेधन गर्नैपर्छ

Mar 06, 2024 11:46 AM MEROLAGANI

कृष्णमणि पराजुली

२०७२ साल देखि खस्कदै गएको नेपालको अर्थतन्त्र अहिलेसम्म पनि खस्कदै गएको अवस्था छ । यसरी लामो समय खस्क‌दै जानु भनेको अर्थतन्त्रमा जोखिम बढ्‌दै जानु हो ।

अर्थतन्त्र कमजोर हुँदै जानुमा विविध कारण भए पनि मूलतः वाह्य र आन्तरिक नै देखिन्छन् । वाह्य कारण कोभिडले समग्र विश्वलाई नै संक्रमित बनायो । जसको कारण मानिसहरु बन्दाबन्दीमा बस्नु पर्यो । उद्योगधन्दा कल कारखाना सबै बन्द भए । मानिसको आवत जावत नभएको हुँदा धेरै मानिस बेरोजगार हुन पुगे । यस अवस्थामा आर्थिक क्रियाकलाप संचालन गर्न सम्भव नै भएन र अर्थतन्त्रमा चौतर्फी  दबाव पर्न गयो । मानिस बाँच्न पनि धौ धौ भयो । त्यसले गर्दा अर्थतन्त्र चलायमान हुन सक्ने अवस्था नै थिएन ।

कोभिड पूर्व नेपालको अर्थतन्त्र ज्यादै बिग्रिएको थिएन ।  औद्योगिक वातावरण अनुकूल भएकोले घर जग्गा व्यवसाय र शेयर बजार सुधार हुँदै गएको अवस्था थियो । बैंक तथा वित्तीय संस्थाले यी क्षेत्रमा निर्वाध रुपमा लगानी प्रवाह गरेका थिए । अर्थतन्त्रले गति लिएको कारणले नेप्से ३२०० को हाराहारीमा पुगेको थियो । लगानीकर्ताका आकर्षण रहेकोले देशको कुनाकाप्चा सम्म सेयर सम्बन्धि चेतना पुगेको अवस्था थियो । धेरै व्यक्ति पुँजी बजारमा संलग्न हुँदै गइसकेको परिणामस्वरूप लगानीकर्ताको संख्या नै बढेर ५-६ लाख पुगेको अहिलेको अवस्था हो ।

विचार गरौँ यति ठूलो जनसंख्याले आफ्नो खर्च कटौती गरी लगानी गरेको शेयर बजारको रकम डुब्यो भने उनीहरुको अवस्था कस्तो होला ? देशको आर्थिक अवस्था कस्तो होला ? राज्यले विचार गर्नु पर्दैन ? त्यसैले जनताको अभिभावक भनिएको यस्ता विषयमा सुधार गर्नै पर्छ, त्यो वाहेक अरु कुनै विकल्प, उपाय नै छैन ।  सुधार नगर्ने हो भने जनताको आर्थिक अवस्था यसै त दयनिय छ, त्यसमाथि सरकारी नीति र कार्यशैलीमाथि नै थप गम्भिर प्रश्न उठ्नेछ ।

अहिलेको अवस्थामा यदि सेयर बजारमा सुधार नगर्ने हो भने लगानीकर्ताले ठूलो धाराशायी हुने प्रायः निश्चित नै छ । अहिले खस्कदै गएको अर्को क्षेत्र घर जग्गा हो । जुन वेला अर्थतन्त्र सुदृढ थियो, त्यसवेला मानिसहरुले घर जग्गामा फाइदा  हुन्छ भन्ने उद्देश्यले लगानी गरे, यो स्वभाविक पनि थियो । लगानी गर्ने भनेको अति राम्रो भएको अवस्था नै हो । तर, पछिल्लो समयमा राजनीतिमा अस्थिरता आउनु, छोटो समयमा नै पटक पटक सरकार परिवर्तन हुनु, अघिल्लो सरकारले ल्याएका नीति र कार्यक्रमलाई पछिल्लो सरकारले निरन्तरता नदिनु, मौद्रिक तथा वित्तीय नीतिहरु तदनुकूल नहुनु जस्ता कारणले घरजग्गा तथा शेयर बजार फस्टाउन सकेनन्  ।

शेयर बजार र घरजग्गामा आएका समस्याहरु प्रष्ट छन् र समस्या समाधान गर्ने उपाय पनि प्रष्टै छन् । यद्यपि, समस्या समाधान गर्ने तर्फ भने सरकारको क्रियाशिलता देखिएको छैन । सम्बन्धित सरोकारवालाहरुले समाधानको लागि आवश्यक सुझाव पनि अवगत गराएकै छन् । तैपनि समस्या यथावत छन् । अब पनि केही शसक्त कदम नचाल्ने हो भने अर्थतन्त्र जोखिमयुक्त नहोला भन्न सकिदैन ।

अहिले अर्थतन्त्रका सूचहरु सकारात्मक हुँदै गएका छन् भन्ने जुन भाष्य निर्माण गरिएको छ, त्यस‌मा सत्यता देखिदैन । विप्रेषणकाे अवस्था राम्रो हुँदैमा समग्र अर्थतन्त्रमा सुधार आएको छ भन्न सकिदैन । विप्रेषणको अवस्था राम्रो हुनु, विदेशी मुद्रा संचितीबाट प्राप्त भएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर अतिरिक्त आम्दानी गर्न सकेमात्र अर्थतन्त्र चलायमान हुन सक्दछ । 

अर्थतन्त्र चलायमान बनाउन त उत्पादनशिल क्षेत्रमा लगानी बढाउनै पर्छ, त्यसको लागि आवश्यक वातावरण बनाउनु पर्छ ।

(लेखक पूर्वउपसचिव हुन् )

comments powered by Disqus