खराब वित्तीय विवरण प्रकाशित गर्ने फाइनान्सकै मूल्यमा सर्किट, न फण्डामेण्टल एनलाइसिस्ले काम गर्याे न टेक्निकल

Apr 25, 2024 11:34 AM merolagani

सुवास निरौला

भनिन्छ शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले शेयरमा लगानी गर्नु पूर्व दुई कुराको ज्ञान आर्जन गर्नु अति आवश्यक हुन्छ। सबैभन्दा पहिले फन्डामेन्टल एनालाइसिस र दोस्रो टेक्निकल एनालाइसिस।

फन्डामेन्टल भनेको कम्पनीको अवस्था,कम्पनीको नाफा/घाटा,कम्पनीका त्रैमासिक वित्तीय विवरण, त्रैमासिक वित्तीय विवरण भित्र हुने सबै कुरा जस्तै कम्पनीको नेटवर्थ,इपिएस, पिइ,आरओइ,खुद नाफा,वितरण योग्य मुनाफा अनि घाटा लागतका थुप्रै कुरा हेर्नु पर्छ।

हुन त फन्डामेन्टलमा थुप्रै कुरा पर्छन्। तर सबैभन्दा धेरैचाहिँ नाफा/घाटा नै हेर्नु पर्छ। जति धेरै नाफा गरेको छ। त्यही कम्पनी फन्डामेन्टल्ली स्ट्रङ मानिन्छ। फन्डामेन्टल पढाउने प्रशिक्षकले समेत सोही कुरा नयाँ लगानीकर्तालाई सिकाउँछन्।

तर नेपालको बजारमा भने न त फन्डामेन्टल एनाइसिसले नै यति बेला काम गरिरहेको छ नत टेक्निकल ले नै।

भर्खरै मात्रै दोस्रो बजारमा सूचिकृत कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरे। जसमा वित्त कम्पनीहरूको पनि त्रैमासिक वित्तीय विवरणहरू सार्वजनिक भइसकेको छ।

तेस्रो त्रैमासको विवरणमा सबैभन्दा धेरै घाटा पोखरा फाइनान्सको छ। गएको ९ महिनामा पोखरा फाइनान्स १७ करोड २३ लाख रुपैयाँ घाटामा छ। गत वर्षको सोही अवधिमा कम्पनी ३ करोड ५७ लाख रुपैयाँ नाफामा थियो। भर्खरै मात्रै यस्तो खराव वित्तीय विवरण सार्वजनिक भएको कम्पनीको शेयर मूल्यमा धक्का लाग्नु पर्ने हो। तर खराब वित्तीय विवरणमा सकारात्मक प्रभाव पर्नु भनेको ठ्याक्कै उल्टो हो। जुन स्वस्थ बजारको प्रतीक मान्नै नसकिने बजारका जानकारहरू बताउँछन्।

लामो समय देखि वित्तीय विवरण अध्ययन अध्यापन गर्दै आइरहेका दिग्गजहरू समेत बुधवार पोखरा फाइनान्समा लागेको सकारात्मक सर्किटलाई आश्चर्यको रुपमा हेर्न बाध्य भएका छन्। अब आउने कक्षामा फन्डामेन्टलको बारेमा लगानीकर्तालाई के भनेर पढाउने उनीहरू दुविधामा छन्। “खराब वित्तीय विवरण आएपछि बजारले नकारात्मक प्रतिक्रिया दिनु पर्ने हुन्छ। सैद्धान्तिक रुपमा यही पढाउने हो। तर व्यवहारिक रुपमा भने बजारले उल्टो प्रतिक्रिया दिएको अवस्थालाई आश्चर्य बाहेक अरू केही भन्न सकिँदैन ” एक शेयर बजारका जनाकार प्रशिक्षकले मेरो लगानी सँग भने।(नेपालमा प्रशिक्षक हुन लाइसेन्स दिने प्रचलन नरहेकोले उनले आफ्नो नाम खुलाउन चाहेनन्। तर उनी नियमित रुपमा प्रशिक्षकको काम गर्छन्)

पोखरा फाइनान्सले मात्रै फन्डामेन्टललाई चुनौती दिएको होइन। जानकी फाइनान्स,गुड विल फाइनान्स,समृद्धि फाइनान्स,सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स र रिलायन्स फाइनान्सले समेत चुनौती बढाएका छन्। किनकी यिनीहरू सबै तेस्रो त्रैमासमा घाटाको वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरू हुन्। तर यिनीहरूको मूल्य भने बढ्दो लयमा बुधवार देखिए।

शेयर बजारमा अर्को मान्यता पनि स्थापित छ। कस्तो विवरण आउँदै छ भनेर शेयर बजारले त्यसको सुइँको पहिल्यै पाउँछ । त्यसको प्रतिक्रिया पनि विवरण सार्वजनिक हुनु भन्दा पहिले नै बजारले दिन सुरु गर्छ। तर यो मान्यताले पनि पछिल्लो समय काम गरेको छैन। खराब वित्तीय विवरण प्रकाशित हुनु पूर्व देखि नै यी कम्पनीको शेयर मूल्य बढ्न सुरु गरेका थिए। अझै पूर्ण रुपमा विवरण सार्वजनिक भएपछि त झनै शेयर मूल्य सकारात्मक सर्किट लागेरै बढे। जसले शेयर बजारको मान्यतालाई नै तोडेको छ।

नेपालको शेयर बजारलाई निश्चित व्यक्ति र समूहले आफू अनुकूल डोर्याउछन् भन्ने आरोप लाग्दै आइरहेको छ। जुन आरोपलाई बजारले नै प्रमाणित गर्दै लगेको छ। जति थोरै चुक्ता पूँजी त्यति नै बढी चलखेलको वातावरण प्रवल रूपमा हुन थालेको छ।

चुक्ता पूँजी बढी भएका कम्पनीहरूमा त्यस्तो अवस्था छैन। नेपाल राष्ट्र बैंकले कम चुक्ता पूँजी भएकालाई हकप्रद मार्फत चुक्ता पूँजी वृद्धिमा अंकुश लगाएको छ। केन्द्रीय बैंकको यही अंकुश निश्चित व्यक्ति र समूहको लागि फलदायी हुँदै गएको छ। जबसम्म लो क्याप र हाइ क्यापको लागि छुट्टै उपाय सोचिँदैन तबसम्म बजारमा फन्डामेन्टल नत टेक्निकल कुनैले पनि काम गर्ने अवस्था नहुने जानकारहरू बताउँछन्।      

comments powered by Disqus