लगानी सम्मेलन र पूँजी बजारबीच अन्तर सम्बन्ध छ : उप प्राध्यापक खत्रीसँग शेयर गफ

Apr 27, 2024 07:05 PM Merolagani

अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजी बजार कमजोर अवस्थामा छ।सरकारकाे नीतिकै कारण बजारमा दवाव परेको लगानीकर्ताहरुको आरोप छ ।

यस्तो अवस्थामा सरकारले मुलुकमा अन्तराष्ट्रिय लगानी भित्राउनको लागि अन्तराष्ट्रिय लगानी सम्मेलन गर्दैछ । यस्ता सम्मेलनले बजारमा पैसा भित्राउन सघाउ पुर्याउर्ने बताउँछन् त्रिचन्द्र क्याम्पसका उप प्राध्यापक मुक्तिबहादुर खत्री । उनै खत्रीसँग सुधा देवकोटाले गरेको शेयर गफ:

बजार निरन्तर घटेको छ।अहिले आम लगानीकर्ताको प्रश्न बजार किन घटेको छ भन्ने छ तपाईको बुझाईमा बजार घट्नुको मुल कारणहरु के के हुन ?

मेरो बुझाई अनुसार बजार घटबढ हुनु स्वभाविक हो । अहिले बजार घट्नु पनि बुल एण्ड वियर चक्र अनुसार नै चलेको देखिन्छ । बजारको समग्र अवस्थालाई केलाएर हेर्दा बजार बियरको अन्तिम अवस्थामा रहेको छ । यो घट्ने क्रम विस्तारै रोकिने आशा छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको छ । तरलता सहज बनेको छ । अर्थतन्त्र विस्तारै चलायमान बन्दैछ । प्राविधिक रुपमा हेर्दा पनि बजारमा सकारात्मकता देखिएको छ । तर बजार द्रूतरुपमा बढ्का लागि अतिरिक्त शक्ति खोजेको छ । त्यो आउन सकिरहेको छैन ।

सरकारको तर्फबाट लगानीकर्तालाई विश्वास बढाउने काम गर्नुपर्छ । शेयर बजारको अहिलेको समस्यामा नै केन्द्रित भएर एउटा अध्ययन गरेको छु । उक्त अध्ययन अनुसार सरकारको नीतिगत बाधाकै कारण बजार बढ्न नसकेको देखिएको छ । जस्तै, धेरैलाई शेयर धितो कर्जाको जोखिम भार, शेयर धितोकर्जामा लगाएको सिमा, माईक्रोफाइनान्सलाई क्षमता अनुसारको लाभांशमा सीमा निर्धारण जस्ता कुराहरुले बजारमा समस्या निम्त्याएको छ । शेयर बजार बढाउन माथि उल्लेखित कुराहरु सहजीकरण गर्ने, बैंक प्रणालीमा भएको तरलता बजारमा परिचालन गर्नुका साथै बाई ब्याज सिस्टम लागु गर्नुपर्ने छ । बाई ब्याकको मतलव कुनै कम्पनीको शेयर मूल्य नेवर्थ भन्दा तल झरेको अवस्थामा कम्पनीले स्वयमले आफ्नो शेयर खरिद गर्न सक्ने व्यवस्था हो । यसले बजारमा सन्तुलनता ल्याउनको लागि ठूलो योगदान पुर्याउने छ । 

 

तपाईले बजार बियरिस चरणको अन्तिम अवस्था छ भन्नु भयो । तपाईको नजरमा अन्तिम अवस्था कसरी देख्नु भयो ?

अर्थतन्त्र सधै एकै ढंगले चल्दैन । त्यो एउटा साईकलमा चलेको हुन्छ । अर्थतन्त्र चलायमान बनाउन नीतिमा सुधार गर्नुपर्ने हुन्छ । नीति निर्माण तहमा रहेकाहरुले त्यसलाई सहज वातावरण बनाउनको लागि भुमिका निर्वाह गर्नुपर्यो ।

अहिले बजार बढ्ने आधारहरु धेरै देखिएका छन् । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रेको छ । त्यसलाई परिचालन गर्ने, रेमिटेन्स बढेको छ,सरकारले पूँजिगत खर्च बढाउन सक्यो भने बजारले विस्तारै लय समाउने आधारहरु बन्ने छन् । नेप्से सूचकले धेरै लामो समयदेखि १८ सयदेखि २२ सयको विन्दु वरपर साईडवयजमा चलेको छ ।नेप्से सूचक धेरै समयसम्म एउटै विन्दुमा रहन सक्दैन । बजार बढ्ने नै हो । यो २२ सयको मनोवैज्ञानिक विन्दु पार गरउनको लागि बजारमा सरकारको तर्फबाट बुस्ट गर्नु पर्ने हुन्छ । बजारप्रति लगानीकर्ताको विश्वास बढाउन सरकारले काम गर्नुपर्ने हुन्छ ।

सरकार काम गर्ने तयारीमा जुटेको छ । सरकारले अन्तराष्ट्रिय लगानी सम्मेलन गर्दैछ । यस सम्मेलनको शेयर बजारसँग कुनै अन्तरसम्बन्ध हुन्छ कि हुदैन ?

सरकारले गर्दै गरेको अन्तराष्ट्रिय लगानी सम्मेलनले उत्पादनमा लगानी बढाउँछ । हामीसँग भएका स्रोत र साधन  परिचालनको लागि ठूलो पैसाको आवश्यकता पर्नेछ । त्यसको लागि सरकारले गर्न लागेको अन्तराष्ट्रिय सम्मेलनले लगानी भित्र्याउन ठूलो भुमिका निर्वाह गर्नेछ । जस्तै हाईड्रोपावरको विकास गर्दै पेट्रोलियम पदार्थको आयात कम गर्न सकियो भने पनि अर्बौ पैसा हामी जोगाउन सक्ने छौं । उक्त पैसा हाम्रा अन्य आवश्यकताहरुमा लगानी गर्न सकिन्छ । लगानी भित्रँदै गर्दा रोजगारी आम्दानी बढ्ने र उक्त पैसा पुन: बजारमा भित्रने छ । त्यसैले सरकारले गर्न लागेको अन्तराष्ट्रिय लगानी सम्मेलन र शेयर बजारमा अन्तर सम्बन्ध रहेको छ । जसरी भारतिय अर्थतन्त्र मजबुत भएकै कारण शेयर बजारले पनि उचाई कायम गर्दैछ ।

स्वदेशी लगानीकर्तालाई निरुत्साहित गरेर अन्तराष्ट्रिय लगानी सम्मेलन कसरी सफल हुन्छ भन्ने प्रश्न उब्जेको छ नि ?

सरकारले लगानी सम्मेलन गर्दै गर्दा हाम्रा छिमेकी राष्ट्रका बलिया लगानीकर्ताहरुले खासै चासो नराखेको र स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गर्न नसकेको कुरा धेरै उठेको छ । किन यस्तो भएको छ भने हाम्रो देशमा लगानीमैत्री वातावरण अत्यन्त कम छ । नेपालमा केही गर्न कम्पनी स्थापनादेखि नै झमेला भोग्नु पर्ने हुन्छ । भएका उत्पादनलाई बजारीकरण गर्ने वाताववरण निमार्ण गर्न सकेको छैन ।

वस्तुको निर्यात वढाउन निर्यात प्रवर्धन केन्द्र स्थापना भएको छ । उत्पादनको लागि औधोगिक क्षेत्रहरुको निमार्ण भएको छ । तर औधोगिक क्षेत्र मैत्री बनाउन सकिएको छैन । औधोगिक क्षेत्र भन्दा बाहिर धेरै उद्योगहरु सञ्चालनमा रहेका छन्। त्यसलाई व्यवस्थापन गर्न सकिएको छैन । जसले गर्दा हाम्रा आन्तरिक उद्योगहरुमा समस्या छ । यसलाई राज्यले व्यवस्थापन गर्नुपर्छ । आन्तरिक उद्योगको प्रवर्धन नगरेसम्म अन्तराष्ट्रिय सम्मेलन गर्नुको अर्थ छैन् ।

विगत लामो समयदेखि नेपाली शेयर बजारमा गैरआवाशीय नेपालीलाई भित्र्याउने कुरा उठ्दै आएको छ । तर अझै पूर्णता पाउन सकेको छैन । के यो सम्मेलन मार्फत गैरआवाशीय लगानीकर्तालाई बजार भित्र्याउन सकिएला ?

नसकिने केही छैन । गैरआवशिय नेपालीलाई भित्र्याउन सकिन्छ । अन्य राष्ट्रहरुले जस्तो नेपालमा लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्न सकिएको छैन । लगानी सम्बन्धी सरकारले लिएका नीतिहरु व्यवहारिक भएन । नेपाली अर्थतन्त्रलाई सुहाउँदो नीतिहरु बन्न सकेको छैन ।  त्यसलाई राम्रोसँग अध्ययन गर्न पनि सकिएको छैन । नेपालको उद्योग व्यवसायमा भएको समस्या के हो । त्यसको पहिचन गरेर समाधान गर्न तर्फ भन्दा पनि आयातमुखी अर्थतन्त्रमा निर्भर भएका छौं । सरकारले दायरा फराकिलो बनाएर लगानीकर्तालाई प्रत्साहित गर्नुपर्छ ।

अर्थतन्त्र चलायमान बनाउनको लागि कस्ता कुराहरुमा ध्यान पुर्याउनु पर्छ ? के भयो भने चाहेको जस्तो अर्थतन्त्र बन्छ ?

नेपालको अर्थतन्त्रलाई अस्थिर बनाउनको लागि आन्तरिक कारण मात्रै नभएर विश्वमा भएका घटनाक्रमहरुले पनि प्रभाव पारेको छ । कोरोनाको महामारी आयो त्यसपछि रसिया युक्रेन युद्धको प्रभाव पनि देखिएको छ । यो युद्धले पेट्रोलियम पदार्थको मूल्य बढायो । नेपालको सबै भन्दा धेरै हिस्सा पेट्रोलियम पदार्थको आयतामा बाहिरिने गरेको छ । त्यसले उत्पादनको लागत बढाएको छ । उत्पादनको लागत बढ्ना साथै वस्तु मंहगो भयो । उद्योगहरुलाई असर गर्यो । यसको प्रभाव विश्वमा नै परेको छ । तर केही राष्ट्रहरुले त्यसको लाभ लिन सकेको छन् ।संकट ब्यवस्थापन गर्न सकियो भने त्यसबाट झन धेरै आर्जन गर्न सकिन्छ । यसकोलागि सरकारले लगानी मार्फत इन्जेक्ट गर्नु पर्ने हुन्छ ।

अर्थशास्त्रमा अटोनोमस इन्भेष्टमेन्ट र उत्प्रेरित लगानी गरि दुई किसिमका लगानी हुन्छ । सरकारले लगानी गर्न वातावरण बनाईदिन सक्यो भने उत्साहित भएर हुने लगानीलाई उत्प्रेरित लगानी भनिन्छ । निजी क्षेत्रलाई लगानी गर्न उत्साहित गर्नको लागि सरकारले लगानी गर्नु पर्ने हुन्छ । सरकारसँग लगानी गर्नको लागि पर्याप्त पैसा नभएमा आन्तरिक वा वाह्य ऋण लिनुपर्ने हुन्छ । वाह्य सहयोग र वाह्य ऋणकोलागि सरकारले अहिले गर्न लगेको अन्तराष्ट्रिय लगानी सम्मेलन हो ।

बलिया राम्रा कम्पनी भन्दा पनि कमजोर कम्पनीहरु नै लगानीकर्ताको रोजाईमा परेका छन् । बलिया कम्पनीतर्फ लगानीकर्ता विश्वत छैनन् । बजार प्रति लगानीकर्ताको विश्वास फर्काउन के गर्नपर्छ ?

अहिले बजारको समस्या भनेको ननफन्डामेन्टल कम्पनीहरु बढी हाबी हुनु हो । प्रतिफल वितरण गर्न नसक्ने कम्पनीहरु मात्रै चल्दा बजार टिक्न सक्दैन । बजार राम्रो बनाउने हो भने नियामक निकायले दरिला कम्पनीहरुलाई प्रोसाहित गर्नुपर्छ । यसको लागि नेप्सेमा सूचिकृत भएका राम्रा कम्पनीहरुको सूचक ३० नेप्से इडेक्स नामक (डेरिभेटिभ) ल्याउने कुरा अगाडि बढेको थियो तर आएको छैन । यस्ता कुराहरुले संकेतिक रुपमा लगानीकर्तामा राम्रा नराम्रा कम्पनीहरु छनोट गर्ने सूचना सम्प्रेषण हुन्छ । अहिले कमसल कम्पनीहरु चलेको देख्दा बजारमा आउने सूचनामा एक रुपता नभएको आशंका गर्न सकिन्छ । वार्षिक ३० देखि ४० प्रतिशत वितरण गर्ने कम्पनीहरु पनि छन् । तर त्यस्ता कम्पनीहरु मूल्य नबढेर कमजोर स्थितिमा रहेका कम्पनीको मात्रै मूल्य बढ्नुले बजारमा समस्या निम्त्याएको छ ।

 

 

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।