नेपालमा विकासका लागि पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छः देउवा

Apr 28, 2024 02:46 PM MeroLagani

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विकासका लागि पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव रहेको बताए । आईतवारबाट शुरु भएको दुई दिने लगानी सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले नेपालमा विकासको प्रचुर सम्भावना रहेको उल्लेख गरे। उनले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जिकिर गर्नुभयो ।

उनले विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताए । कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव छोड्न सक्ने बताउँदै उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न सरकार इच्छुक रहेको जानकारी दिए । उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुने प्रतिवद्धता जनाए ।

उनले भने, ‘नेपाल अझै पनि कम विकसित देश हो । हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौं । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ । यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्व राख्दछ । मेरो पार्टीले नेपालमा आर्थिक सुधारको थालनी गरेको छ । सन् १९९० मा नेपाली काँग्रेसको सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकुल वातावरण सिर्जना गरेको थियो । त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनर्संरचना गर्यो । पुराना कानूनहरू परिमार्जन गर्यो र नयाँ कानून ल्यायो, सार्वजनिक खर्चलाई तर्कसंगत बनायो र उदार कर प्रणालीको थालनी गर्यो । विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार छ । विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला छन् । कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्र हुन् जहाँ स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव पार्नेछ । विदेशी लगानी स्वदेशी कानून र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय साधनहरूद्वारा सुरक्षित छ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको छु । लचिलो श्रम कानून, युवा र ऊर्जावान जनसंख्याको पर्याप्त हिस्सा भएको जनसांख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरूको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पुर्याउँछ । हामीले सार्वजनिक–निजी साझेदारी अन्तर्गतका ठूला परियोजनाहरू र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाहरूका लागि उद्योग विभाग अन्तर्गतको लगानी बोर्ड समावेश गर्ने वन स्टप सेवा स्थापना गरेका छौं । हामीले कम्पनीहरूको दर्ताको लागि समय र ऊर्जा वचत गर्न र तुलनात्मक रूपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियाहरूलाई सुव्यवस्थित गरेका छौं । साथै, सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिवद्ध छन् ।’

सभापति देउवाले लोकतान्त्रिक ढाँचा अन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे । सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डहरूको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकुल वातावरण सिर्जना गर्ने बताए । नेपालले विदेशी लगानीकर्ताहरूप्रति भेदभावपूर्ण नीति नअपनाएको जानकारी दिए ।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।