कार्ड प्रयोगको प्रचलन बढ्दा क्रेडिट कार्डमा बैंकहरुको लगानी निरन्तर बढ्दै, दिए साढे ५ अर्ब कर्जा

Apr 28, 2024 06:19 PM Merolagani

विकसित मुलुकहरुमा हरेक भुक्तानीमा कार्डको प्रयोग उच्च हुन्छ। रेष्टुरेन्टको बिल तिर्न होस या सामान खरिदमा होस धेरैजसो भुक्तानी कार्डबाटै हुने गरेको छ।

नेपालमा पनि क्रेडिट र डेविट कार्डको प्रचलन बढ्दै गएको छ। अहिले सामान्य रेष्टुरेन्ट तथा अन्य पसलहरुले समेत कार्डमार्फत भुक्तानीको लागि मेशिन नै राखेका छन् त्यसले गर्दा पछिल्लाे समय काडैको प्रयोग बढेदै गएको छ।

पछिल्लाे समय भुक्तानीमा क्रेडिट कार्यको प्रयोग बढ्दै गएको बैंकहरुले दिने सापटीले पनि प्रष्ट पार्छ। फागुन मशान्तसम्ममा बैंकहरुले क्रेडिट कार्डमा ५ अर्ब ३१ करोड रुपैयाँ कर्जा दिएका छन्। चालु आर्थिक वर्षमा नै यस्तो कर्जा १४ प्रतिशतभन्दा धेरैले बढेको हो। गत असार मशान्तसम्म्ममा यस्तो कर्जा ४ अर्ब ६३ करोड थियो। चालु आर्थिक वर्षमानै यस्तो कर्जा करिब ७० करोड रुपैयाँले बढेको छ।

विद्युतीय भुक्तानी बढेसँगै बैंकहरुको क्रेडिट कार्डमा लगानी पनि बढ्दै गएको छ। आफुसँग पैसा नहुँदा समेत खर्च गर्न नरोकिने भएको कारण पनि यसको प्रचलन बढ्दै गएकाे हो।

नेपाल राष्ट्र बैंकको फागुनको भुक्तानीसम्बन्धि तथ्याँक हेर्दा गत आर्थिक वर्षको तुलनामा कार्डको प्रयोग बढ्दै गएको देखिन्छ। गत आर्थिक वर्षको फागुनमा क्रेडिट कार्डमार्फत २ लाख ३० हजार ४९५ वटा कारोबार भएकोमा चालु आर्थिक वर्षको फागुनमा २ लाख ५६ हजार १९७ वटा कारोबार भएको छ। यस्तै डेबिट कार्डमार्फत गत वर्षको फागुनमा १ करोड ९ लाख ४० हजार ५३२ वटा कारोबार भएको गत फागुनमा १ करोड १४ लाख १७ हजार ८९ वटा कारोबार भएको छ।

कारोबार रकमका आधारमा पनि कारोबार बढेको देख्न सकिन्छ। गत वर्षको फागुन महिनामा क्रेडिट कार्डमार्फत १ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा गत फागुनमा १ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। डेबिट कार्डमार्फत पनि झण्डै १ अर्ब बढीको कारोबार भएको छ।

  • एक वर्षमा एक हजार क्रेडिटकार्ड प्रयोगकर्ता र ८ लाख डेबिट कार्ड प्रयोगकर्ता थपिए

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत एक वर्षमा क्रेडिट कार्डको प्रयोगकर्ता एक हजारले बढेका छन् भने डेबिट कार्डका प्रयोगकर्ता करिब ८ लाखले बढेका छन्।

गत आर्थिक वर्षको फागुनसम्ममा २ लाख ८२ हजार २६ जना क्रेडिट कार्ड प्रयोगकर्ता रहेकोमा गत फागुनमा यो बढेर २ लाख ८३ हजार २४ जना पुगेका छन्।

यस्तै गत आर्थिक वर्षको फागुनसम्ममा १ करोड १८ लाख ७४ हजार ६४९ डेबिट कार्ड प्रयोगकर्ता रहेकोमा गत फागुनमा यो बढेर १ करोड २६ लाख ५१ हजार १८५ जना पुगेका छन्।

  • कुन बैंकको कति लगानी?

वाणिज्य बैंकहरुमा फागुन मशान्तसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ८७ करोड रुपैयाँ कर्जा क्रेडिट कार्डमार्फत दिएको छ।

यस्तै सिद्धार्थ बैंकले पनि ६६ करोड रुपैयाँ कर्जा दिएको छ भने कुमारी बैंकले ५८ करोड रुपैयाँ कर्जा दिएको छ।

ग्लोबल आइएमई बैंकले ५१ करोड, स्ट्यान्डर्ड चाटर्ड बैंकले ३९ करोड, लक्ष्मी बैंकले ३६ करोड, माछापुच्छ्रे बैंकले ३० करोड रुपैयाँ कर्जा दिएको छ।

वाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले क्रेडिट कार्डमा कर्जा दिएका छैनन्। यी बैंकहरुले हाल कार्ड नै सञ्चालनमा ल्याएका छैनन्।

यसबाहेक प्रभु बैंकले सबैभन्दा कम १४ लाख रुपैयाँ मात्रै कर्जा दिएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ९८ लाख रुपैयाँ कर्जा दिएको छ।

  • क्रेडिट कार्ड भनेको के हो ?

क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभए तापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड हो । यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनुपर्दछ ।

सामान्यतया क्रेडिट कार्डबाट रकम झिक्न सकिँदैन । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम स्वीकृत सीमाको १० प्रतिशत रकम क्रेडिट कार्डबाट निकाल्न सकिन्छ । क्रेडिट कार्डबाट नगद झिक्न मिल्ने सीमा राष्ट्र बैंकबाट समय समयमा जारी हुने निर्देशन अनुसार परिवर्तन हुन सक्छ ।

नेपालमा २०५० सालमा नबिल बैंकले पहिलोपटक क्रेडिट कार्डकाे शुरु गरेको थियो। त्यो भन्दा अघि कुनै पनि बैंकले यस्तो कार्ड प्रचलनमा ल्याएका थिएनन्।

बैंकहरुले क्रेडिटकार्डमार्फत कमाईको १५० प्रतिशतसम्म ऋण दिन्छन् । जुन निश्चित प्रतिशत ब्याजसहित तोकिएको समयमा फिर्ता गर्नुपर्ने हुन्छ।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।