सेञ्चुरी बैंक प्रकरणको असर, बैंक तथा वित्तीय संस्थाका बाेर्ड र व्यवस्थापन बीचको विवाद चर्कँदाे

May 03, 2024 11:10 AM Merolagani

बाबुराम ढकाल

एउटा बै‌ंकसँग नियमितरुपमा काम गरिरहेको र बैंकको ‘गुड बुक’मा रहेका एक उद्योगीले ५ करोड रुपैयाँ कर्जा मागे । उनको व्यवसायिक प्रपाेजल सन्तोषजनक थियो भने धितो सुरक्षण पनि प्रशस्त थियो ।

त्यही आधारमा बैंक व्यवस्थापन पक्षले संचालक समिति समक्ष कर्जा दिन प्रस्ताव गर्यो । संचालक समिति पनि सकारात्मक भयो । अहिले कतैबाट कर्जा माग नभइरहेको बेला चिनजानेको पुरानो पार्टीले माग गरेको कर्जा दिंदा फरक पर्दैन भन्ने निष्कर्ष संचालक समितिको बैठकमा निकालियो । तर, निर्णय गर्नु अगाडि सम्बन्धित पार्टीले गर्न खोजेको काम र धितो राख्न खोजिएको जग्गा निरिक्षण गर्न जाने कुरा भयो । सम्बन्धित पार्टीले बैंकको संचालक समिति र व्यवस्थापनका उच्च अधिकारीहरुलाई रातै बस्ने गरि बोलाए, खानपान राम्रैसँग गराए, राम्रै खातिरदारी गरे ।

फर्कने बेला बैंकका अध्यक्षले उद्यमीलाई बधाई दिए, आफूहरुले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
तर, आज हुन्छ, भोलि हुन्छ भन्दा भन्दै झण्डै ३ महिना झुलाएपछि अध्यक्षले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)लाई फोन गरेर अध्यक्षले भने—५ करोड दिन सकिदैंन, अहिले २ करोड कर्जा लिएर काम गर्दै गर्नुस् भनेर जवाफ दिनुस् ।

सिईओ अक्क न बक्क भए । एकदमै राम्रो पार्टी, ५ करोड नै आवश्यक पर्ने काम, त्यसमाथि ३, ४ महिनादेखि नै ‘गज्जबले काम गर्नुभएको छ, तपाईलाई हाम्रो तर्फबाट पुरै सहयोग हुन्छ’ भन्ने आश्वासन दिइरहेको अवस्थामा फेरि के भनेर २ करोड लैजानुस् भन्ने ? त्यही पनि उनले भूमिका बाँधेर भने—अहिले २ करोडले काम गर्दै गर्नुस्, अरु पैसा बिस्तारै मिलाउँदै जाउँला नि । सिईओको कुरा सुनेर रिसाएका उद्यमीले अर्कै बैंकबाट कर्जा लिए ।

त्यो थाहा पाएपछि बैंकका अध्यक्षले सिईओलाई उल्टै थर्काए—एउटा पार्टीसँग राम्रोसँग डिल गरेर काम गर्न नसक्ने तपाईहरुले बैंक कसरी चलाउनु हुन्छ ? कर्जा लिने मान्छे नै कोही नभएको बेला त्यति राम्रो पार्टीलाई भड्काएर अन्तै पठाउने ?

अध्यक्षको कुरा सुनेर मुर्मुरिएका सिइओले बैंकको ‘गुडबुक’ मा रहेका उद्यमीलाई कर्जा दिने विषयमा किन त्यस्तो खेल खेले ? उनले एक दिन बैंकमै आएका अध्यक्षसँग खुलस्त पार्न अनुरोध गरे ।

अध्यक्षले पनि कुनै एउटा पार्टीको नाम लिंदै खुलस्तै भनिदिए— केही महिना अघि मैले त्यो पार्टीलाई १ करोड दिनुस् भन्दा तपाईले दिनुभएको थिएन । अनि मैले तपाईले भनेको पार्टीलाई मागे जतिको ऋण दिन किन सहमति दिने ? त्यही भएर मैले ५ करोड दिन मानिन ।

यो एउटा नमुना घटना हो हालै घटेको । कतिपयलाई कथा जस्तो लाग्न सक्छ, तर यो सम्पूर्णरुपमा सत्य घटना हो। बैंकका सिईओले ‘नाम उल्लेख गर्दा अप्ठ्याराे पर्छ कि’ भनेकोले नाम सार्वजनिक गरिएको छैन ।

यो घटना मात्र होइन, बैंक तथा वित्तीय संस्थाहरुले कसरी कर्जा दिन्छन् र बैंकको संचालक समिति तथा सिईओलगायत व्यवस्थापन पक्षको बीचमा कस्तो सम्बन्ध छ भन्ने दृष्टान्त पनि हो ।

अहिले बै‌ंक तथा वित्तीय संस्थाहरुमा पैसा थुप्रिएको छ । तर, कर्जा लिने मानिसहरुको संख्या निकै कम छ । त्यस्ले गर्दा बैंक तथा वित्तीय संस्थाहरु निकै ठूलो दबाबमा परिरहेका छन् ।

तर, यही बीचमा बैंक तथा वित्तीय संस्थाका मालिकहरु अर्थात् संचालक समिति र बैंक व्यवस्थापन पक्षबीचको विवाद फेरि जंगलको आगो झैं हुर्किरहेको छ । तत्कालीन सेन्चुरी बैंक प्रकरणमा बैंकरहरु पक्राउपछि सिईओलगायत बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीहरु मालिकहरु अर्थात् संचालक समितिसँग थप झस्किन पुगेका छन् । संचालक समितिका पदाधिकारीले दबाब दिएर गलत तरिकाले ऋण दिलाउने र पछि सिईओसहितका उच्च अधिकारीहरु फस्ने तर संचालक समितिका पदाधिकारीलाई सामान्य सोधपुछ पनि नहुने अवस्था सृजना भएपछि बैंकका उच्च अधिकारीहरु झस्किन पुगेका छन् । त्यसको असर धेरै बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह लगायतका कामहरुमा परिरहेको छ ।

अहिले निजी क्षेत्रका अधिकांश बैंक तथा वित्तीय संस्थामा संचालक समिति र बैंक व्यवस्थापनबीच ‘३६’को अवस्था देखिन थालेको छ । उनीहरु एक अर्कामा शंका गर्ने र एक अर्कालाई सहयोग गर्ने भन्दा पनि ‘त्यस्ले यो प्रस्ताव किन ल्यायो’ भनेर शंका गर्ने अवस्था सृजना भएकोले त्यसको असर समग्र बैकिङ प्रणालीमा पर्न शुरु गरेको छ । व्यवस्थापन पक्षका अधिकारीहरु संचालक समितिले दिएका अरु कामहरु गर्ने तर ठूला ठूला कर्जा प्रवाह गर्नबाट भरसक पन्छिने र गर्नै परे संचालक समितिलाई नै जवाफदेही हुने गरि ‘डकुमेण्ट’ तयार गर्ने गरिएको छ । त्यस्तै संचालक समिति पनि सिआईबी वा अख्तियारको फन्दामा पर्नुभन्दा जसरी हुन्छ, सिईओ र व्यवस्थापन पक्षहरुमार्फत गर्ने तर आफूहरु भने बच्ने प्रयासमा लागेको सरोकारवालाहरु बताउंछन् । आफू बच्ने र अर्काे पक्षमार्फत काम गराउने अर्थात एक अर्काेलाई उपयोग गराउने प्रयासले गर्दा बैंकिङ क्षेत्रमा काम गर्ने भन्दा काम छल्ने प्रवृत्ति हावी हुँदै गएको उनीहरुको भनाइ छ ।

एकजना बैंकरको भनाइ अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुका संचालक समिति र सिईओ लगायत उच्च व्यवस्थापनको बीचमा चलिरहेको विवाद जंगलमा सल्केको आगो जस्तै गरि फैलिरहेको बताउँछन् । उनीहरुको भनाईमा जंगलको आगो पनि एक कुना वा निश्चित क्षेत्रमा रहेमा त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर त्यो वृहतरुपमा फैलियो भने नियन्त्रण गर्न मुस्किल पर्छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाका संचालक समिति र व्यवस्थापन पक्षको विवाद नियन्त्रण गर्न सकिने तहमै छ, तर त्यो कतिबेला अनियन्त्रित हुने हो भन्न सकिने अवस्था छैन ।

यो विवादलाई बेलैमा सहजताका साथ नियन्त्रण गर्ने हो भने बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) विघटन गरिनु पर्ने बै‌ंकरहरु बताउँछन् । उनीहरुका अनुसार बैंकका मालिकहरुले केही वर्ष अगाडि बै‌ंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गठन गरेपछि बैंकको कर्जा प्रवाहमा अनधिकृतरुपले दबाब दिने क्रम बढेको दाबी गर्छन् । ‘विश्वमा कंही पनि बैंकका साहुजीहरुको संस्था हुँदैन, हाम्रोमा भने बैकिङ क्षेत्रमा मनपरि गर्नकै लागि उनीहरुले संस्था बनाए र सिईओलगायत व्यवस्थापनका अधिकारीहरुलाई आफ्नो निहित स्वार्थपूर्तिकाे लागि दबाब दिने प्रयास गरिरहेका छन्। हामी फस्ने र उनीहरु भने जति गलत गरे पनि पानी माथिको ओभानो बन्ने अवस्था सृजना हुनु सैह्य कुरै होइन’ एउटा बै‌ंकका सिईओले मेरो लगानीसँग भने ।


उनका अनुसार सिविफिन आबद्ध वैंकका लगानीकर्ताहरुले दिने गरेको अनधिकृत दवावको बारेमा नेपाल राष्ट्र वैंकलाई पनि अनौपचारिक रुपमा पटक पटक जानकारी गराइएको छ । र, राष्ट्र वैंकका अधिकारीहरुले त्यसलाई गंभिरतापूर्वक लिएको बताइरहेका छन् । तर, अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन । वैंक व्यवस्थापनका अधिकारीहरु सिविफिन आवद्ध वैंक संचालक समितिहरु आफ्नो हैसियतमा नबसी वैंक व्यवस्थापन पक्षलाई दवाव बढाउंदै लगे त्यो कुनै दिन निकै डरलाग्दोसंग विस्फोट हुने बताउंछन् । उनीहरुका अनुसार जंगलको आगो जंगलमै निभाउन सकिएन र त्यो वस्तीमा फैलियो भने परिणाम कति भयानक हुन्छ, त्यो देखिएकै छ । हामी बीच फैलिएको आगो पनि त्यस्तै हो, बेलैमा नियन्त्रण नगरिए के हुन्छ भन्न सकिदैंन ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।