त्यसको लागि दुवै देशबीच सम्झौता गर्ने तयारी भैरहेको छ । त्यस्तै साईटीसका प्रक्रिया अबलम्बन गर्ने काम पनि भैरहेको छ ।दुई हात्ती पठाउनको लागि करिब १५ करोड रुपैंया लाग्ने भएको छ भने हात्तीको स्याहार सुसारको लागि माउतेसहित ६ जना कामदार पनि कतार लगिने भएको छ ।
चितवनमै जन्मे, हुर्केका दुवै हात्तीलाई विशेष प्रकारको खोर बनाएर काठमाण्डौसम्म ट्रकमा र त्यहाँबाट कार्गाे जहाजमा लैजाने तयारी गरिएको छ ।कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल १,१९० किलो र रुद्रकलीको वजन १,२०० किलो छ ।
हात्तीको पठाउंदा लाग्ने खर्च कतारले वेहोर्ने कि नेपालले भन्ने निश्चित भै नसकेको तर नेपाल सरकारले कतारले नै खर्च बेहोरिदिओस् भन्ने अपेक्षा राखेको बन मन्त्रालयका एक अधिकारीले मेरो लगानीलाई जानकारी दिए । उनका अनुसार कहिले पठाउने भन्ने यकिन मिति टुंगो लागि नसकेको भए पनि प्रधानमन्त्री कार्यालयबाट ‘छिटो तयारी गर्नु’ भन्ने आदेश आएको छ र त्यहीअनुसार बन मन्त्रालयले आवश्यक प्रकृया गरिरहेको छ ।
त्यहीक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको एक टोली हालै कतारमा हात्ती राखिने ठाउँको अध्ययन गरेर फर्किएको छ भने कतारको एक टोलीले केही दिनसम्म चितवनमै बसेर ती दुई हात्तीको दैनिक गतिविधि अध्ययन गरेर फर्किएको छ ।
विभागका वरिष्ठ इकोलजिस्ट मनोज शाह, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठ र हात्ती विज्ञ अशोक राम लगायतको टोलीले कतारमा एक सातासम्म बसेर नेपालबाट लगिने दुई हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानीको बारेमा त्यहाँका उच्च अधिकारीहरुलाई जानकारी गराएको छ ।
स्मरणरहोस् नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन् । त्यस्तै जङ्गली हात्ती ६० देखि ६५ वटा रहेको अनुमान छ ।