काठमाडाैं महानगरले एक लाख बिमितको कार्ड जारी गर्दै

May 03, 2024 05:54 PM Merolagani

काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बिमा गराएका महानगर भित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी गर्न लागेकाे छ । कार्ड जारी भएसँगै अब स्वास्थ्य उपचार सेवा सञ्चालन हुने भएकाे छ ।यसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट रहेकाे महानगरले जनाएकाे छ ।

महानगरका अनुसार बिमा गराउने कार्य नियमित चल्नेछ । कार्ड हरेक ३ महिनामा जारी हुनेछ ।

अहिले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. २६ लैनचौर, वडा नं. १४ कलंकी, वडा नं. १९ कंकेश्वरी र वडा नं. ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्धन केन्द्र बिमा बोर्डमा सूचीकृत रहेका छन् । बिमित व्यक्तिहरुले छानेका यी केन्द्रहरु सुरु सम्पर्क विन्दु हुन् । यिनै केन्द्रहरुबाट स्वास्थ्य उपचार सेवा प्रदान गने महानगरले जानकारी दिएकाे छ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइने पनि बताइएकाे छ ।

यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् । यसका लागि हरेक केन्द्रका ५ जना स्वास्थ्यकर्मीलाई ४ दिने सफ्टवेयर सञ्चालन तालिम सुरु गरिएको छ । बिहीबारबाट सुरु भएको तालिममा विवरण प्रविष्टि, उपचार सेवा, प्रयोगशाला तथा औषधिको विवरण अभिलेखन, प्रतिवेदनलगायत सिप सिकाइने बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका फोकल पर्सन कमलप्रसाद भट्टराईले भने, ‘कागजबिहिन उपचार सेवाका लागि केन्द्रका स्वास्थ्यकर्मीलाई प्रविधि र प्रणाली सिकाउन तालिम गराएका हौँ । यसमा बिमित व्यक्तिले कार्ड देखाएपछि त्यसका आधारमा सफ्टवेयरमा नाम रजिष्ट्रेसन गरिन्छ । यसपछिका सबै प्रक्रिया सफ्टवेयरमार्फत नै हुन्छन् ।’ उनका अनुसार आकस्मिक सेवा, ओपिडी, प्रयोगशाला, रेडियोलोजी, फार्मेसीका सबै सेवा अनलाइन हुनेछन् । यसबाट विरामीको वास्तविक अवस्था उही नै समयमा सम्बन्धितले थाहा पाउन सक्ने र बिमा बोर्डले आफूले रकम भुक्तानी गर्नु पर्ने बिरामीको स्वास्थ्य उपचार र अवस्थाका बारेमा त्यही प्रणालीबाट सूचना तथा विवरण थाहा पाउने महानगरले जानकारी दिएकाे छ ।

सूचीकृत भएका बाहेक अन्य सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुको पूर्वाधार निर्माण (प्रयोगशाला, औषधि लगायत), जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको प्राप्तिका काम गरिरहेको छ ।

यसको व्यवस्थापनपछि बिमा बोर्डमा सूचीकृत गराएर पहिलो सम्पर्क विन्दु बढाउँदै लैजाने योजना रहेको महानगरकी स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । सबै (१—३२) वडाका लागि बिमा दर्ता सहयोगीले बिमा गराइरहेकाे उनकाे भनाइ छ ।

सेवा सञ्चालनका लागि स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले मापदण्ड तोकिएको छ ।

यस कार्यक्रममा बिमा गरेको प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुने महानगरले जानकारी दिएकाे छ । सो बराबरको रकम बिमा बोर्डले महानगरपालिकाअन्तर्गत रहेका प्रवर्धन केन्द्रलाई शोध भर्ना गर्नेछ ।

महानगरपालिकामा प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति गठन भएको छ । 

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।