मोदी–पुटिनको मित्रता, सन् २०३० सम्ममा व्यापार १०० अर्ब डलर पुर्याउने लक्ष्य

Jul 10, 2024 02:05 PM Merolagani



भारत र रुसले आपसको व्यापारलाई सन् २०३० सम्म १०० अर्ब अमेरिकी डलरभन्दा बढी पुर्याउने सहमति गरेका छन्। बुधबार भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो सहमति गरेका हुन्।

लगानी प्रबर्द्धन, पारस्पारिक व्यापारका लागि राष्ट्रिय मुद्राको प्रयोग र उर्जादेखि कृषि र पूर्वाधारका क्षेत्रमा सहयोग अभिवृद्धि गरी सो लक्ष्य हासिल गरिने बताइएको छ। मस्कोमा भएको २२ औँ वार्षिक द्विपक्षीय शिखर सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा दुबै पक्षले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।

९ प्रमुख क्षेत्रमा सहमति

दुवै पक्षले रुस–भारत व्यापार र आर्थिक सहयोग प्रबर्द्धन गरी द्विपक्षीय वार्तालाई थप गति दिने कुरा पनि गरेका छन्। दुवै देश सहयोगका नौ प्रमुख क्षेत्रमा सहमत भएका छन्। यसमा व्यापार, भुक्तानीमा राष्ट्रिय मुद्राहरु प्रयोग गर्ने, उत्तर–दक्षिण यातायात करिडोर जस्ता नयाँ मार्गहरू मार्फत सामान ढुवानी कारोबार बढाउने समावेश छन्। त्यसैगरी, सहयोगका अन्य क्षेत्रहरूमा कृषि उत्पादन, खाद्यान्न र मल व्यापार वृद्धि, आणविक ऊर्जा लगायत ऊर्जा क्षेत्रमा सहयोग सुदृढ गर्ने, पूर्वाधार विकाससम्बन्धि छलफल सुदृढ गर्ने, डिजिटल अर्थतन्त्रमा लगानी तथा संयुक्त परियोजनाहरूलाई प्रवर्द्धन गर्ने र औषधिको आपूर्ति तथा मानविय सहयोगलाई प्रोत्साहन समावेश छन्।

गैर–शुल्क व्यापार अवरोधहरू हटाइनेछ

संयुक्त विज्ञप्ति अनुसार, दुई नेताहरूले ‘भारत र रूस बीचको द्विपक्षीय व्यापारसँग सम्बन्धित गैर–शुल्क व्यापार अवरोधहरू हटाउन’ र ‘ईएईयू–भारत स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावना सहित द्विपक्षीय व्यापारको उदारीकरण जारी राख्ने’ बारे छलफल गरेका छन्। दुई देशको यो पहलको उद्देश्य सन् २०३० सम्ममा १०० अर्ब अमेरिकी डलरभन्दा बढीको पारस्परिक व्यापारको लक्ष्य हासिल गर्ने रहेको छ। यसमा सन्तुलित द्विपक्षीय व्यापारका लागि भारतबाट वस्तुको आपूर्ति बढाउने पनि समावेश छ। यससँगै लगानीका गतिविधिलाई पुनः सक्रिय गर्ने सहमति पनि भएको छ।

गरिनेछ राष्ट्रिय मुद्राहरूको प्रयोग

संयुक्त विज्ञप्तिमा भारत र रुसले ‘राष्ट्रिय मुद्राहरू प्रयोग गरेर द्विपक्षीय राफसाफ प्रणाली विकास गर्न’ सहमति जनाएका छन्। यसको मतलब भारतले रुसबाट कच्चा तेल खरिद गर्दा सम्भावित रूपमा भारतीय रुपियाँमा भुक्तानी गर्नेछ। बदलामा, रूसले भारतबाट आयातको लागि भुक्तानी गर्न भारतीय मुद्रा प्रयोग गर्न सक्छ। त्यस्तै, अर्को सम्भावना रूसी मुद्रा रूबल प्रयोग पनि रहेको छ। दुई नेताहरूले उत्तर–दक्षिण अन्तर्राष्ट्रिय यातायात कोरिडोर, उत्तरी समुद्री मार्ग र चेन्नई–भ्लादिभोस्टोक समुद्री रेखा जस्ता नयाँ मार्गहरू सुरु गर्न पनि सहमती गरेको बताइएको छ।

यी क्षेत्रमा गरिनेछ काम

विज्ञप्ति अनुसार अवरोधरहित सामान ढुवानीका लागि डिजिटल प्रणालीको प्रयोग गरी भन्सार प्रक्रियामा सुधार गर्न पनि सहमति भएको छ। दुवै देशले कृषि उत्पादन, खाद्यान्न र मलमा द्विपक्षीय व्यापारको मात्रा बढाउनका साथै भेटेरिनरी औषधि, सरसफाइ र कृषि उत्पादनहरूमा कीटनाशकको उपस्थिति सम्बन्धी प्रतिबन्ध हटाउन वार्ता गर्न पनि सहमति जनाएका छन्। ‘सम्झौताले परमाणु उर्जा, तेल प्रशोधन र पेट्रोकेमिकर लगायतका प्रमुख उर्जा विकास क्षेत्रहरुमा सहयोग प्रबद्र्धन गर्न र उर्जा पूर्वाधार, प्रविधि र उपकरणको क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न खोजेको छ।’ विज्ञप्तिमा भनिएको छ। दुबै पक्ष पूर्वाधार विकास, यातायात इन्जिनियरिङ, सवारी साधन उत्पादन र जहाज निर्माण, अन्तरिक्ष र अन्य औद्योगिक क्षेत्रमा वार्ता अगाडि बढाउन सहमत भएका छन्। यसका अतिरिक्त सहायक र औद्योगिक समूह बनाएर एकअर्काको बजारमा भारतीय र रुसी कम्पनीको प्रवेशलाई सहज बनाउने पनि सहमति भएको छ।

(इण्डियाटिभी डटइनबाट अनुवादित)




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।