तर, सरकारको कार्यशैलीको कारण वर्षात् लागेसंगै काठमाडाैं उपत्यकाले भने नाकावन्दीको सामना गर्नु पर्ने अवस्था सृजना भएको छ ।
किन ?
किनकी अहिले देशका विभिन्न भाग, खासगरि काठमाडाैं उपत्यकालाई जोड्ने सडकहरु विजोक अवस्थामा छन् । ती मध्ये अधिकांश वर्षात् अगाडि निर्माण सम्पन्न हुने सम्भावना निकै कम छ । त्यसले गर्दा गत वर्षको जस्तो बाढी पहिरो आयो भने काठमाडाैं उपत्यका २०७२ सालमा भारतले लगाएको नाकावन्दी भन्दा पनि कडा ‘प्राकृतिक नाकावन्दी’को सामना गर्न वाध्य हुनेछ ।
त्यसको एउटा झल्को वैशाख पहिलो साता भएको प्रि-मनसुनले देखाइसकेको छ । त्यतिबेला केही समय हल्कारुपमा परेको पानीको कारण नारायणगढ-बुटवल सडक खण्डको दाउन्ने ठप्प भयो ।पहिरो र लेदोका कारण १४ किलोमिटर लामो उक्त खण्ड पार गर्न झण्डै २४ घण्टा नै लाग्यो । यात्रुहरु निकै ठूलो मर्कामा परे ।
त्यो सडकमा विस्तार र मर्मतको काम भइरहेको छ । र, त्यो वर्षात् अगाडि सकिने अवस्था छैन । प्रि-मनसुनमै त्यस्तो हुने त्यो सडक वर्षातकाे बेला के होला ? र, काठमाडाैं आवात जावत मानिसहरु र समानको ढुवानीको अवस्था के होला ? सरकारी निकायहरु समेत ‘जे होला-होला’ भन्ने अवस्थामा छन् ।
उक्त सडक मात्र होइन, राजधानी जोडिने सबैजसो सडकको अवस्था लगभग उस्तै छ ।
गत वर्षको वर्षात्पछि धुलिखेल-बर्दिबास सडक अर्थात् बीपी राजमार्गको झण्डै १२ किलोमिटर खण्ड पूरै अस्तव्यस्त छ । बजेट अभाव भन्दै उक्त सडक पुननिर्माणको काम नै राम्रोसंग गरिएको छैन ।प्रभावकारीरुपमा निमाण गर्नुपर्ने अवस्था रहेकाले केही ठूलो पानी पर्दाको अवस्थामा त्यहाँ सवारी नै नचल्ने अवस्था छ ।
मुङ्लिन-नागढुङ्गा खण्डको अवस्था पनि लगभग त्यस्तै छ भने काठमाडाैं-तातोपानी नाका जोड्ने अरनीको राजमार्ग पनि कतिबेला बन्द हुन्छ, टुंगो छैन ।
गत असोजको बाढीले तीनवटा पुल बगाएको थियो । त्यसमध्ये लिपिङ खोला र लार्चा खोलामा बेलिब्रिज राखिएको छ, तर चीनसंग सिमा जोडिएको तातोपानी सुख्खा बन्दरगाह नजिकै अझै पनि सडक बन्द छ । त्यहाँ पनि बेलिब्रिज राख्ने प्रयास गरिए पनि सडक विभागले अझै राख्न सकेको छैन ।
काठमाडाैंलाई हेटौँडासँग जोड्ने कान्ति लोक पथको बागमती नदीमा पुल निर्माणको काम भइरहेको छ । तर, वर्षात् अगाडि सकिने अवस्था छैन । यद्धपी सडक विभागले भने वर्षात् अगाडि नै पुल संचालनमा आउने र नआएमा वैंकल्पिक रुट प्रयोग गरेर पनि आवागमन रोक्ने अवस्था सृजना हुन नदिने दावी गरेको छ ।