आर्थिक गतिविधि चलायमान भएको र अर्थतन्त्रका सूचकहरुमा सुधार भएको तथ्यांक सार्वजनिक भएका छन् । सोही आधारमा बजारले पनि गति लिनु पर्नेमा सबै पक्ष एक मत भएको पाईन्छ । बजारमा दीर्घकालिन भन्दा पनि अल्पकालिन लगानीकर्ता हाबी हुनु र लगानीकर्तामा वित्तीय साक्षरताको कमी भएकै कारण हल्लाको भरमा कारोबार हुने प्रवृत्ति बढ्दा बजार सूचकले अपेक्षित गति लिन नसकेको विश्लेषक डा.केशवप्रसाद श्रेष्ठले बताए । श्रेष्ठसँग सुधा देवकोटाले गरेको कुराकानीः
सबै परिस्थितिहरु अनुकुल बनेका छन । तर नेप्से बढ्न सकेको छैन । अझै नसुल्झिएका गुत्थीहरू के छन् बजारमा ?
बाहिरबाट हेर्दा सबै सूचकहरु सकारात्मक रहेका छन् । प्रणालीमा पैसा फालाफाल छ । ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकमा पनि गर्भनरको नियुक्ति भएपछि आशावादी हुन सकिने वातावरण बनेको छ । राष्ट्र बैंकले बजारलाई राम्रो हुने गरी नीतिगत परिमार्जन भएको छ । तर पनि बजार बढेको छैन ।
यसमा मैले देखेको कुरा भन्नु पर्छ । बजारको विषयमा अध्ययन गरिएको छ । किन बढेन भनेर बुझ्दा हाम्रो बजारमा भीड बढी भएको छ । थोरै जमातलाई सम्झाउन सजिलो हुन्छ । धेरै भिड हुँदा सानो कुराले पनि बजारमा ठूलो प्रभाव पारेको हुन्छ । बजारमा धेरै लगानीकर्ता आउनु धेरै सकारात्मक हो । तर त्यो भीडमा वित्तीय साक्षरता भएन भने त्यसले बजारमा चुनौति खडा गराएको हुन्छ । सामुहिक मनोविज्ञान बन्न नसकेको भनेर बुझ्न सकिन्छ ।
बजारमा वित्तीय साक्षर भएका लगानीकर्ताको संख्या बढी हुनुपर्छ । बुझेर अध्ययन गरेर लगानी गर्नेहरुको बाहुल्यता हुनुपर्छ । तर नेपालमा धेरै हल्लाको भरमा कारोबार गर्नेको संख्या बढी छ । हल्लामा चल्दा कुनै घटना भयो भने बजारमा राम्रो होला भन्दा भन्दै अर्को दिशातर्फ उन्मुख हुन्छ । केहि सिमित स्वार्थ भएकाहरुले बजारलाई म्यानुपुलेट गराइराखेका छन् । त्यसैकारण लगानीकर्ताहरु ढुक्क र निर्भिक भएर एउटा दिशामा जान सकेका छैनन । जसले गर्दा लगानीकर्ताको बजार प्रतिको विश्वासमा स्थायित्व आउन सकेको छैन् । त्यसैले बजारको सूचक डग्मगाएको छ ।
अर्को कारण भनेको अर्थतन्त्र पनि चलायमान हुन पर्यो । मुलुकको अर्थतन्त्र गतिशील भएन भने शेयर बजार मात्रै बढ्न सक्दैन । बढ्यो भने पनि त्यो दीगो हुँदैन ।
बजारमा लगानीकर्ताको आवद्धता बढ्यो भने बजारको दायरा बढ्ने र विकास हुने भने कै कारण सरकारले १० कित्ताको नीतिलगायतका नीतिगत व्यवस्था गरेर प्राेत्साहन गर्यो । बजारमा भित्रने ठूलो आवद्धताले नै अहिले समस्या ल्यायो हैन त ?
यस्तो हो, बजारमा ग्राहकहरु आउँछन । त्यसलाई नियन्त्रण गर्न जान्नु पर्छ । बजारमा आएका ग्राहकहरुको लागि दिनुपर्ने कुरा दिन सक्नु पर्छ । ग्राहकले चाहेको जस्तो सेवा सुविधा प्रदान गर्न सक्नु पर्छ । बजारमा धेरै सहभागिता मात्रै थपेर हुँदैन । त्याे सहभागितालाई सदुपयोग गरेर फाइदा लिन सकिन्छ भन्ने कुरा मुख्य हाे । सरकारको त्यहिनेर कमजोरी भएको हो ।
पछिल्लो समय बजारमा सहभागीहरु बढेका छन् । नेप्सेले अन्य प्रडक्टहरू ल्याउन सक्दैन ? नेप्से ‘ नेप्से ३०’,सर्ट सेलिङ्ग सम्बन्धित व्यवस्था के हुँदैछ भन्ने कुराको कुनै जानकार नै छैन । यावत कुराहरु अहिलेकै समयमा ल्याउदा सम्भव छ । सरोकारवाला निकायले लगानीकर्ताहरुलाई माग अनुसारको सेवा दिनै सकेको छैन । बजारमा कारोबार गर्नको लागि धेरै औजार हुने, अप्सन रहने हो भने बजारमा यो प्रवृत्ति रहदैन ।
तपाई जस्तो बजारमा भिजेको, बजारको विषयमा अध्ययन अनुसन्धान गरेको व्यक्तिले बजारमा स्टक कारोबारको विकल्प ल्याउन सकिने सम्भावना देख्नु भएको छ । तर बजार नियामक तथा सञ्चालकले अझै जोखिम देख्नुमा तपाई के भन्नु हुन्छ ?
बजारमा यस्तो कुरा स्थापित भएको छ भने । ‘योर इग्नोरेन्स इज माई प्रोफिट’ जबसम्म तपाई अज्ञानी हुनुहुन्छ, तपाईलाई प्रयोग गरेर अर्कोले पैसा कमाई राखेको हुन्छ । तर वास्तवमा हुनुपर्ने कुरा के हो भने, बजारको विषयमा साक्षर नभएकाहरुलाई साक्षर बनाउनु पर्ने थियो । ‘माई नलेज इज माई प्रोफिट’ हुनुपर्ने थियो । तपाई भन्दा म जान्ने छु भने तपाईले भन्दा धेरै मैले कमाउनु पर्ने हो । तर यहाँ अज्ञानतामा बजार चलेको छ । शेयर बजारमा सबै कमाउनकै लागि आउने हो । घाटा व्यर्होन कोही पनि आएका हुँदैनन् । वित्तीय साक्षरतामा सरकार संघ सस्था कसैको पनि ध्यान पुग्न सकेको छैन । सबैलाई बजारको विषयमा साक्षर बनाउन सकियो भने सूचकमा स्थायित्व ल्याउन सकिन्छ । सरोकारवाला निकायले साक्षर बनाउने र बजारमा नयाँ औजार ल्याउन विलम्व गर्न हुदैन ।
धितोपत्र बजार राष्ट्र बैंकको नीतिको पखाईमा हुन्छ । केन्द्रीय बैंकले केहि नीतिगत सुधारले बजारमा विश्वास किन जगाउन सकेको छैन ?
बजार सधै आधारभुत कारणहरुले मात्रै बढ्दैन । कहिलेकाही लगानीकर्ताको विश्वास,समाचार, हल्लाहरुले पनि काम गरेको हुन्छ । किनभने शेयर बजार जहिले पनि फ्यूचरीएस्टिक हुन्छ । अहिले बजारको लागि आशा राष्ट्र बैंकको गभर्नर हो । उहाँले नियुक्त हुँदै आफ्नो प्राथमिकतामा शेयर बजार पनि रहेको बताउनु भएको छ । सोही अनुसारको कदमलाई पनि निरन्तरता दिएको हुँदा अहिले आशावादी हुन सकिन्छ ।
आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक हुँदैछ । यसले पनि अझै थप विश्वास दिलाउने छ । अर्को कुरा गभर्नर आफै पनि धितोपत्र बजारको राम्रो लगानीकर्ता हुनुहुँदोरहेछ । उहाँले सार्वजनिक गरेको विवरणले प्रष्ट पारेको छ । उहाँ आफै शेयर बजारमा लाग्नु, बुझ्नु भएको र सम्पत्ति व्यवस्थापन राम्रोसँग गर्नु भएको छ । बजारको मर्म बुझ्नु भएको छ ।
बजारको विषयमा अपेक्षा नेपाल धितोपत्र बोर्डसँग गर्नु पर्ने हो । तर कस्तो हुन्छ भने मेरो घरको मान्छे सबै काम नलाग्ने भयो भने उद्धार गर्नको लागि छिमेकी बोलाउन पर्ने भएको जस्तो भएको छ । बोर्ड र नेप्सेले काम गर्दैनन् । राष्ट्र बैंक भनेको स्वायत्त र राम्रो नियमनकारी निकाय हो । राष्ट्र बैंक घुमाउरो पाराले बजारसँग पनि जोडिएको छ । मौद्रिक नीति, व्याजदर लगायतका कुराबाट जोडिएको छ । त्यो निकायको व्यवस्थामा परिवर्तन भयो भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पर्नेछ । सोही कारण लगानीकर्ताको अपेक्षा राष्ट्र बैंकसँग बढेको हो ।
तरलता धेरै भएकै कारण राष्ट्र बैंकले अर्बौको दरमा पैसा बजारबाट खिचेको छ । उक्त तरलतालाई परिचालन गर्न नसक्दा पूँजी पलायनको खतरा हुन्छ वा हुदैन ?
पहिलो कुरा हामी के कुरामा प्रष्ट हुनुपर्छ भने, राष्ट्र बैंकको तथ्याङ्क हेर्यो तरलता धेरै देखिन्छ । त्यो सबै पैसा सरकार वा बैंक कसैको पनि होइन । त्यो पैसा बैंकहरुमा जम्मा भएको निक्षेपलाई एकीकृत गरिएको हो । त्यो सबै पैसा शेयर बजारमा आउँदैन । आउन पनि हुँदैन । तर बजारमा भएको पैसा परिचालित नभएको, कर्जा नउठेको जस्ता समस्याहरु रहेका छन् । हाम्रो नेपाल लगानीकर्ता संघले राष्ट्र बैंकलाई सुझाव दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई बजारमा लगानी गर्न सहजीकरण गर्न सक्छ । उक्त व्यवस्था भयो भने ठूलो पैसा बजारमा आउने वातावरण बन्ने छ । त्यसले बजारलाई राम्रो सर्पोट दिन सक्ने छ ।
अर्को कुरा धेरै पैसा थुप्रे पछि पूँजी पलायन हुने खतरा रहन्छ । पूँजी र पानी बग्छ । यसलाई नीतिगत रुपमा कठिनाई गराए पनि जसरी पनि पलायन हुन सक्ने सम्भावना रहन्छ । यो समस्यालाई पनि राष्ट्र बैंकले बुझेको छ भन्ने विश्वास गर्न सकिन्छ ।
शेयर बजारमा कसरी कमाउन सकिन्छ ?
बाँकी भिडियोमाः