सतहीरुपमा त्यस्तो देखिए पनि वास्तविकता भने फरक देखिन्छ । किनकी भण्डारीको एमालेमा पुनः सक्रिय रहेको घोषणाले ओलीलाई होइन, महासचिव शंकर पोख्रेलको राजनीतिक जीवनमै ‘कालो बादल’ मडारिदिएको छ । त्यो ‘कालो बादल’ केवल ओलीको उत्तराधिकारी हुन पाउने—नपाउने कुरासंग मात्रै सम्वन्धित छैन, जनताको बहुदलिय जनवाद (जवज)को प्राधिकार को हुने भन्नेसंग सम्वन्धित छ ।
पोख्रेल एमाले भित्र जबजका सबैभन्दा प्रखर प्रवक्ता र व्याख्याता मानिन्छन् । उनलाई सैद्धान्तिकरुपमा काउण्टर दिन सक्ने अरु नेता पार्टीमा छैनन् । जबकी विद्या भण्डारीले उनलाई सजिलै काउण्टर दिन सक्छिन्, दिइरहेकी छन् । त्यसको मुख्य कारण भण्डारी जवजका ‘जन्मदाता’ मदन भण्डारीकी पत्नी हुन् । उनी भण्डारीकी पत्नी मात्र होइनन्, शंकर पोख्रेल लगायतका अहिले एमाले पदाधिकारी रहेका कैंयौ नेताहरु भन्दा बरिष्ठ हुन् । पार्टीको पूर्व उपाध्यक्ष हुन् र त्यसमाथि २ पटक राष्ट्रपति भैसकेकी छन् । त्यसैले एमाले पंक्तिमा भण्डारीको जर्वजस्त ‘फ्यान फलोइङ’ छ । भण्डारी पोख्रेल जस्तो ‘कुशल वक्ता’ र जबजकी प्रखर विश्लेषक होइनन्, तर उनको जुन बलियो पृष्ठभूमी र इतिहास छ, त्यसले पोख्रेलमाथि सजिलै हावि हुन सक्ने अनुमान गरिदैंछ ।
भण्डारीले पार्टीमा सक्रिय रहन खोजेदेखि नै ओलीले सांकेतिकरुपमा विरोध गरेजस्तो गरे पनि ठाडै विरोध गरेका छैनन्, तर महासचिव पोख्रेल र उनी निकट नेता कार्यकर्ताहरु भने आफ्नो भाग खोसिएकै जस्तो गरि तीब्र विरोध गरिरहेका छन् । उनीहरुले अहिले नै अबको अध्यक्ष शंकर पोख्रेल हो भनिरहेका छैनन्, केवल भण्डारीको विरोध गरिरहेका छन् । त्यसो गर्नु पछाडिको मुख्य कारण आफूमाथि आइलाग्न सक्ने सम्भावित ‘राजनीतिक दुर्घटना’ नै हो ।
पोख्रेलको विशेषता के हो भने उनी कम बोल्छन् तर जे बोल्छन् तुलनात्मकरुपमा कडा बोल्छन् । केही वर्षदेखि उपाध्यक्ष विष्णु पौडेलसंग उनको सम्वन्ध सुमधुर छैन । मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको राजधानी बुटबल नबनाएर गृह जिल्ला दाङ बनाएका पोख्रेलले अघिल्लो महाधिवेशनमा ओलीलाई दबाब दिएर आफूलाई महासचिव बन्न रोकेपछि पौडेल क्रुद्ध बनेका छन् । त्यसमाथि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पौडेल निकट लिला गिरीलाई हटाएर पोख्रेलले आफू निकट चेतनारायण आचार्यलाई बनाउनुको साथै पार्टीका विभिन्न तहका कमिटीहरु र भातृ संगठनहरुमा समेत जर्वजस्ती हस्तक्षेप गरेपछि त दुई नेताको सम्वन्ध कटुतामा परिणत भएको छ ।
शुरुदेखि नै ओली निकट रहेका उनीहरु बीचको गुटवन्दी र आन्तरिक खिचातानीले सिंगै एमाले पंक्ति दुई गुटमा विभाजित भएका छन् । यी दुई नेताबीचको खिचातानी र गुटवन्दी नरोकिए त्यसको असर पार्टीको आउंदो महाधिवेशनमा मात्र होइन, ८४को आम निर्वाचनमा पनि पर्ने निश्चित छ । त्यो अवस्था आउन नदिनको लागि ओलीकै ‘ग्राइण्ड डिजाइन’ मा विद्यालाई अगाडि सारिएको दावी ओली निकट नेताहरु गर्छन् । त्यो अनुसार परिस्थिति आफू अनुकूल भएमा फेरि पनि आफै अध्यक्ष हुने र परिस्थिति अनुकूल नभएमा विद्यालाई अध्यक्ष बनाएर आफू सर्वमान्य नेता बन्ने तथा पोख्रेल र पोडेललाई नियन्त्रणमा राख्ने योजना अनुसार ओलीले सुझबुझपूर्णरुपमा कदम चालेको दावी उनीहरुको छ ।
विद्यालाई पार्टी अध्यक्ष स्वीकार गर्न तयार रहेका पौडेल लगायतका नेताहरु पोख्रेललाई भने कुनै पनि हालतमा स्विकार गर्न नसक्ने जानकारी ओलीलाई दिइसकेका छन् । त्यसमाथि भूराजनीतिक अवस्थाले पनि भण्डारीको पक्षमा माहोल बनेको छ । केही समय अघि चीन भ्रमणमा गएकी उनलाई चिनिया नेताहरुले पार्टी नेतृत्व लिन सुझाव दिएको बताइन्छ । साथै हाल समाजवादीमा रहेका धेरै नेता कार्यकर्ताहरु उनी अध्यक्ष बनेमा एमालेमा फर्किने संकेत गरेका छन् । माओवादी र अन्य कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु पनि भण्डारीलाई नेता मान्न तयार देखिएका छन् । त्यसले कम्युनिष्ट पार्टीहरु बीचको एकता अभियानलाई बल पुर्याउने अनुमान गरिएको छ ।
त्यसको अर्थ के हो भने अहिले विद्या भण्डारीको एमालेमा सक्रिय रहने घोषणाले जुन तरंग सृजना भएको छ, त्यसबाट सबैभन्दा धेरै खतराको घण्टी महासचिव शंकर पोख्रेल र उनको समुहलाई परेको छ । भण्डारीको पुनरागमनपछि पार्टी अध्यक्ष बन्ने पोख्रेलको महत्वाकांक्षामा पुर्णबिराम नै लगाइदिएको छ भन्दा अन्यथा हुंदैन । त्यहीकारण उनी भण्डारीमाथि सिधै आक्रामक बनेका छन् ।